१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

विकास बहसको अवसर ‘स्थानीय निर्वाचन’

विकास बहसको अवसर ‘स्थानीय निर्वाचन’
file
अ अ+ अ-

महोत्तरी । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै महोत्तरीमा राजनीतिक दलहरू अब चुनाव तयारीका गतिविधिमा केन्द्रित भएका छन् । मतदानका लागि निर्धारित मिति तीन महिना मात्र बाँकी छ । महोत्तरीसहितका मधेश प्रदेशका जिल्लामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाहेक अन्य सबैजसो दलले चुनाव केन्द्रित गतिविधि सुरु गरेको देखिन्छ । 

सरकारले चुनावको मिति तोकेलगत्तै मधेशमा नेकपा (एमाले) ले निर्वाचनसम्बन्धी विशेष प्रशिक्षणकै तयारी गरेको छ । एमाले नेतृत्वले सबै प्रदेशमा निर्वाचन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णयानुसार मधेश प्रदेशमा मङ्गलबार सुरु गरिएको सो कार्यक्रम आज बुधबार पनि जनकपुरधाममा जारी छ । सरकारले निर्वाचनको मिति तोकेपछि अब आफ्नो दलको सम्पूर्ण ध्यान चुनावमा गएको एमालेका मधेश प्रदेश उपाध्यक्ष रेवती पन्त बताउनुहुन्छ । 

सङ्घीय संसद्मा पहिलो दल भए पनि एमाले मधेश प्रदेशसभामा भने छैटौँ ठूलो दल छ । यद्यपि उपाध्यक्ष पन्त यो प्राविधिक कुरा बताउनुहुन्छ । “मधेशवादी दलले एमाले निषेधको नारा उछाल्दा पनि २०७४ को निर्वाचनमा प्रदेशसभाको तेस्रो ठूलो दल हौंँ”, पन्तले भन्नुभयो, “अब हामी माथि पुग्छौंँ ।” पन्तले गन्नुभएको प्रदेशसभाका २१ सदस्यबाट १३ नेकपा (एकीकृत समाजवादी) तिर उभिएपछि अहिले प्रदेशसभामा एमाले आठ स्थानमा खुम्चिएको छ । 

“जनताले एमालेलाई मत दिएका हुन्, सूर्य चिह्नमा मतदान गरेका हुन् नि १” पन्तले भन्नुभयो, “पार्टी फोड्ने , जनमत खण्डित गर्ने र बखेडा खडा गर्नेको परीक्षा त अब चुनावमै हुनेछ ।” मधेशमा पार्टीप्रतिको जनाकर्षण निकै बढेको पन्त जिकिर गर्नुहुन्छ । 

मुलुकको दोस्रो ठूलो दल (सङ्घीय संसद्मा) नेपाली कांग्रेस अबको स्थानीय तहको निर्वाचन तयारीमा होमिएको छ । यसअघि २०७४ सालको निर्वाचनमा आपसी तालमेल गरेका तत्कालीन मधेशवादी दल र एमाले चिराचिरा परेका र पछिल्लो चरणमा नेकपामा भएको विभाजनले अबको निर्वाचनमा कांग्रेस उकासिने दलका केन्द्रीय सदस्य महेन्द्रकुमार राय बताउनुहुन्छ । “हाम्रो दलको स्थानीय तहका पार्टी अधिवेशन सम्पन्न भएर नेतृत्व स्थापित भइसकेका छन्, सबैको ध्येय चुनाव केन्द्रित छ” रायले भन्नुभयो, “ दलका वडासहितका  स्थानीय पार्टी समिति चुनावका लागि आवश्यक तयारीमा जुटिसकेका छन्,कांग्रेसबाहेकका दल विखण्डित भई चिराचिरामा विभाजन भएको जनताले देखेका छन्”,  रायले भन्नुभयो, “यो पक्षले पनि कांग्रेसप्रति जनताको पुरानो आस्था अहिले दृढ बन्दो छ ।”

नेकपा (माओवादी केन्द्र)ले पनि महोत्तरीसहितका मधेश प्रदेशमा अब हुने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो दल सफल हुने जिकिर गरेको छ । आपूmहरुले अधिकारसम्पन्न मधेश प्रदेशका लागि निर्वाह गरेको भूमिका र सङ्घर्षले नै जनतामा माओवादी केन्द्र स्थापित भएको सो दलका केन्द्रीय सदस्य राजु खड्काको जिकिर छ । “हाम्रो अगुवाइमा मधेशको पहिचान स्थापित भएको छ, प्रदेशका नाउँमा स्थापित पहिचानले सङ्घर्ष अब थप अधिकारका लागि अघि बढ्ने बाटामा छ”, दलको महोत्तरी इञ्चार्ज खड्काले भन्नुभयो, “जनताले त यी सबै पक्ष मूल्याङ्कन गरिरहेका छन् नि, यसको नतिजा आसन्न स्थानीय निर्वाचनले दिनेछ ।” प्रतिगमनविरुद्धको खबरदारी र सङ्घर्ष एवं त्यसले प्राप्त गरेको परिणाम जनताको मूल्याङ्कनमा रहेको खड्काको भनाइ छ ।  

चुनावको मिति तोकिएपछि सङ्घीय सरकारमा सत्ता साझेदार र मधेश सरकारको नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी आउने वैशाख ३० गते हुने निर्वाचन तयारीमा लागेको छ । मधेश प्रदेश सरकारको नेतृत्वकर्ता रहेको आफ्नो दलको पहलकदमीले प्रदेशको नाउँ र राजधानीको टुङ्गो लगाउने मात्र नभई वर्षौ वर्षदेखि शोषण, उत्पीडनमा रहेका जाति समुदायका लागि विशेष अवसर सिर्जना गरेको सो दलका  महोत्तरी अध्यक्ष नागेन्द्रप्रसाद यादव बताउनुहुन्छ । “मधेश प्रदेशमा ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ कार्यक्रमले छोरी शिक्षामा क्रान्ति नै ल्याएको छ”,  ्यादव भन्नुहुन्छ, “जेजति उपलब्धि हासिल भएका छन्, मधेशी जनताले यसलाई नियालिरहेका छन्, यो जनताको मूल्याङ्कन निर्वाचनमा मुखरित हुनेछ ।” 
        
पछिल्लो चरणमा सङ्घर्षका विभिन्न कार्यक्रमसाथ आन्दोलनमा रहेको जनमत पार्टीले पनि चुनाव केन्द्रित साङ्गठनिक गतिविधि बढाइरहेको देखिन्छ । निकैपछि खुला राजनीतिक गतिविधिमा सक्रिय सो दल मधेश प्रदेशमा आफ्नो ठाउँ बनाउन लागिपरेको यहाँका राजनीतिक विश्लेषक बताउँछन् । “जनमत पार्टीका पछिल्ला आन्दोलन र कार्यकर्ताका गतिविधि आलोच्य त भएका छन् तर दलले उठाएका आवाज जनसरोकारका छन्”, राजनीतिक विश्लेषक रणधीर चौधरी भन्नुहुन्छ, “यो दलले उठाउँदै आएको भ्रष्टाचारविरुद्धको मुद्दा र किसानका मागलाई सम्यक तरिकाले जनताबीच पु¥याउन सक्नुपर्छ, यसले जनस्तरमा नयाँ चासो बढाउन सक्छ ।” केही पहिले जनमत पार्टीको आन्दोलनमा कर्मचारीलाई कालोमोसो दल्ने, बाटो हिंँड्नेलाई ढुङ्गामुढा गर्ने प्रवृत्ति भन्ने सच्चिनै पर्ने चौधरीको भनाइ छ । जनमत पार्टीले आन्दोलनमा उठाउँदै आएको मुद्दालाई अझ सूक्ष्म विवेचना गरेर कार्यान्वयन पाटामा देखिएका कमजोरी उजागर गर्नुपर्ने जलेश्वर नगरपालिका–४ निवासी चौधरीको मत छ । 

सो दलका नेता कोमल यादव आफ्नो दलको आन्दोलनका विषयले मधेशी जनतामा व्यापक चासो बढाएको बताउनुहुन्छ । “हाम्रो आन्दोलन अधिकार, समृद्धि र शान्तिका लागि हो, यो निरन्तर जारी रहन्छ”, सनउखडा निवासी यादव भन्नुहुन्छ, “समयक्रममा जनताले यसको पुष्ट्याइँ गर्नेछन । जनताले दिने पुष्ट्याइँ विभिन्न कोणबाट मुखरित हुनेछन् , निर्वाचन पनि एउटा माध्यम हो ।” किसान हकहितका मुद्दा र भ्रष्टाचारविरुद्धको आफ्नो दलको आन्दोलनले जनतालाई सचेत बनाउनसँगै आन्दोलित बनाएको यादवको ठहर छ ।

प्रदेशमा राम्रै उपस्थिति रहेर पनि घोषित स्थानीय तह निर्वाचनबारे लोसपामा भने अझै अलमल र अन्योल देखिन्छ । यद्यपि आफ्नो दलमा निर्वाचनमा जानेबारे अन्योल र अलमल नभई संवैधानिक व्यवस्थाको पक्ष हेरिएको सो दलका नेताको भनाइ छ । मधेशमा २०७४  असोजमा स्थानीय तहको निर्वाचन भएको र सो निर्वाचनबाट जितेका प्रतिनिधिको कार्यकाल चार महिना बाँकी छँदै हुने निर्वाचन संविधानानुकूल नहुने सो दलका नेताले बताउँदै आएका छन् । जनप्रतिनिधिको कार्यकाल एक दिन पनि खण्डित हुन नहुने दलका केन्द्रीय सदस्य अभिराम शर्मा बताउनुहुन्छ । “संविधानमा स्थानीय तहका प्रतिनिधिको कार्यकाल पाँच वर्ष पूरा हुने र कार्यकाल पूरा भएको छ महिनाभित्र अर्को निर्वाचनको विषयलाई स्पष्ट उल्लेख गरिएको छ”, मधेश प्रदेशसभाका सदस्य शर्मा भन्नुहुन्छ, “हाम्रो मान्यता जननिर्वाचित प्रतिनिधिको संविधानले किटेको कार्यकाल खण्डित नहोस् भन्ने हो, चुनावसँग भाग्ने, डराउने भन्ने होइन ।” 

मधेशमा २०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनबाट आएका जनप्रतिनिधिको कार्यकाल पूरा भएपछि हुने निर्वाचन मात्र संवैधानिक हुने शर्माले स्पष्ट पार्नुभयो । “हामी निर्वाचनबाट भाग्ने भन्ने नै हुँदैन, संविधानअनुसार होस् भनेका हौंँ”, मधेश प्रदेश सरकारका पूर्वराज्यमन्त्री शर्माले स्पष्ट पार्नुभयो । संविधानानुसार हुने स्थानीय तह निर्वाचनमा आफ्नो दलको सक्रिय सहभागिता रहने र जनताबाट अपार समर्थन पाइने शर्माको जिकिर छ । 

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले यसै विषयमा सर्वोच्च अदालतमा दिनुभएको रिट निवेदन दरपीठ भएको र सोविरुद्ध फेरि इजलासमा दर्ता मुद्दा सुनुवाइका क्रममा रहेको लोसपा नेपालका नेता कार्यकर्ता बताउँछन् । 
    
एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) दल पनि निर्वाचन तयारीमा जुटेको छ । आफ्नो दलसम्मिलित सरकारले  चुनावको मिति नै तोकेर त्यसयता निर्वाचन आयोगले चुनावी तयारी अघि बढाएपछि अब यसबारे संशय नरहेको दलका महोत्तरी सचिव सोम कार्की बताउनुहुन्छ । “मुलुक अब निर्वाचनमय बन्दैछ, दलहरूका लागि यो परीक्षा, अवसर र आत्मसमीक्षाको समय हो”, कार्की भन्नुहुन्छ, “हामी आफ्ना सबै गतिविधि चुनाव केन्द्रित बनाउन जुटेका छौँ।” यसबाहेकका अन्य दलले पनि आफ्ना गतिविधि चुनाव केन्द्रित बनाउँदैछन् । 

निर्वाचनबारे केही मान्यता र दलका अडान फरकफरक देखिए पनि प्रदेशका सबै दलभित्र अहिले स्थानीय निर्वाचनबारेको बहसले प्राथमिकता पाएको देखिन्छ । “कसैको (कुनै दलको)  केही पछि होस् भन्नेसम्म होला, तर सबै दलको अहिलेको विषय स्थानीय तह निर्वाचन नै बनेको देखिन्छ”, विश्लेषक चौधरी भन्नुहुन्छ, “यस पक्षले चुनावी माहोल बनाउँदै लगेको देखिन्छ ।” 

सर्वसाधारण जनताको पङ्त्ति पनि अब निर्वाचन नजिकिएको बुझ्न थालेको छ  । राजनीतिक दलको सघन चहलपहल र भेटघाट र वास्ता बढेपछि सर्वसाधारणले चुनाव नजिकिएको लख काटेका हुन् । “हामी सबै कुरा त बुझ्दैनौ तर अचेल दलका नेताहरू यसो गाउँबस्ती पस्ने क्रम बाक्लिएको छ, त्यसैले चुनाव आएछ कि जस्तो लाग्दैछ”, भङ्गाहा–४ रामनगरकी सर्वसाधारण गृहिणी ऐसा खातुन व्यङ्गभावमा भन्नुहुन्छ, “अब हामीले दिनदिनै नमस्कार पाउने दिन आएजस्तो छ ।” 

दलका नेता र जनप्रतिनिधि चुनाव आएपछि बस्ती पस्ने र सकिएपछि आफ्नो दुनो सोझो गर्नतिर लागेर आफूहरुको बेवास्ता गर्ने गरेको टिप्पणी जनताबाट सुन्ने गरिन्छ । आउने चुनावमा आफूलाई बेवास्ता गर्ने दलका नेता र जनप्रतिनिधिलाई कडा जवाफ दिन पाइने अवसरका रुपमा पनि केही सर्वसाधारणले लिने गरेको पाइन्छ । “ए, सम्झनुभयो हामीलाई ?” बस्ती पसेका नेतालाई सर्वसाधारण पहिलो प्रहार यसैगरी गर्छन् । चुनाव दल र दलका नेतालाई सत्मार्गमा ल्याउन,आत्मसमीक्षा गर्न र जनताप्रति वफादार हुन प्रेरित गर्ने अवसर भएको राजनीतिशास्त्रका ज्ञाताको भनाइ छ । 

दल र जनप्रतिनिधिबारे जतिसुकै कडा टिप्पणी र प्रतिक्रिया जनाए पनि जनताको पङ्क्ति निर्वाचनको कुराले उत्साहित रहेको विश्लेषक बताउँछन् । “जनताको पङ्क्ति चुनावबारे उत्साहित देखिँदो छ” बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी भन्नुहुन्छ, “चुनावकै मुखमा जनताका मुख्य मुद्दा सबैले देख्न, पर्गेल्न र मुखरित गर्न सक्ने राम्रो अवसर हुने रहेछ , त्यसैले चुनावमा आफ्ना कुरा उठ्ने आशमा पनि जनता चनाखो देखिन्छन् ।” चुनावको समय लोकतान्त्रिक पद्धतिमा दल र उम्मेदवार परीक्षित हुने अवसर मात्र नभएर विकासका सम्भावनाका नयाँ विषय बहसमा आउने खास बेला पनि हुने प्राज्ञ ठकुरीको भनाइ छ । (रासस, गोपालप्रसाद बराल)