• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   ‘एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ ★   प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस् ★   द्रविडले कोहलीलाई साथ दिँदै भने – उनको ब्याटबाट ठूलो इनिङ्स आउन बाँकी छ ★   विश्वकप फाइनलमा भारतको जितको कामना गर्दै गंगा आरति ★   ‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’ ★   मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन ★   मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्: सांसद झा ★   विराट कोहलीका लागि यो विश्वकप अहिलेसम्मकै ‘झुर’ ★   ‘कल्की २८९८ एडी’ले पहिलो दिनमै कमायो १९० करोड ★   मनसुनजन्य विपद् प्रतिकार्य: यस्तो छ सरकारको तयारी

युवामाथि सिङ्गो राष्ट्रको भरोसा छ: प्रधानमन्त्री दाहाल



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ । टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उहाँले वर्तमान अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभयो ।

“तपाईंहरुमाथि अभिभावकको मात्र आशा र सपना निहीत नभई प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ । त्यसैले उत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरूले आफ्नो मनोबल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

युवाको व्यक्तित्व विकास गर्ने उद्देश्यले विसं २०२२ बाट ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने मान्यतासहित राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । राष्ट्रिय आवश्यकताको अनुपातमा राष्ट्रिय दलको तालिमको मात्रात्मक उपस्थिति पर्याप्त नभएको उल्लेख गर्दै उहाँले आगामी दिनमा तालिममा सहभागीको सङ्ख्या विस्तार गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले आगामी दिनमा सङ्ख्या वृद्धि गरी तालिमको गुणस्तरमासमेत थप प्रभावकारिता ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवालाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभयो ।

नैतिकवान्, क्षमतावान् र देशभक्त युवा तयार गरी राष्ट्रको आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित राष्ट्रिय सेवा दल स्थापना भएको उल्लेख गर्दै उहाँले राष्ट्रलाई आवश्यक परेको बेलामा नि:स्वार्थ सेवाभावबाट समर्पित भई नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सैनिक पोशाकमा विभिन्न सैनिक कला तथा समसामयिक विषयमा ज्ञान मात्र नदिइ विभिन्न प्राकृतिक भू–बनोट, संस्कृति, परम्परा र संस्कारबाट आई राष्ट्रिय सेवा दलको एउटै छानामुनि बसी एकअर्काको भावना एवं संस्कृति, परम्परा, संस्कार र इतिहास बुझ्ने मौका पनि मिल्दछ भन्दै उहाँले यसबाट राष्ट्रि«य एकताको भावनामा थप प्रतिबद्धताको विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाको शारीरिक, मानसिक, बौद्धिक विकासका निम्ति सरकार निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सेवा दलले प्रदर्शन गरेको कवाज, कला र प्रस्तुतिको अवलोकनले आफूलाई विगतमा राष्ट्रिय सेवा दल तालिम गर्दाको सुखद क्षण स्मरण भइरहेको जनाउँदै प्रधानमन्त्री दाहालले हाल प्रधानमन्त्रीका रूपमा कार्यरत रहँदा राष्ट्रिय दलको लक्ष्यअनुरूप यस तालिमबाट प्राप्त हुने ज्ञानले देशप्रति थप जिम्मेवारी र कर्तव्य बोधको ऊर्जा प्राप्त भएको बताउनुभयो ।