• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि

मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा शुरु (फोटोफिचर)



जनकपुरधाम । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा शुरु भएको छ ।

गत बिहीवारबाट शुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत शुरुवात हुने परम्परा छ ।

नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौं श्रद्धालु सहभागी हुन्छन् । परिक्रमामा सहभागी श्रद्धालुहरु सोमवार जनकपुरधाममा विश्राम गरेर (मंगलवार) आज बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् । परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध लगाएर विधिवत शुरुवात गर्नुभएको थियो ।

मुख्यमन्त्री यादवले मिथिला मध्यमा परिक्रमाको डोलाको दर्शन गर्न पाउँदा आफूलाई आत्मीय आनन्दको अनुभुति भएको बताउनु भयो । उहाँले आउने दिनमा मधेस सरकार मिथिला बिहारी क्षेत्रलाई मिथिला विहारी विकास परिषद् बनाएर विकास गर्नुका साथै परिक्रमा मार्गलाई सहज र सुविधायुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

परिक्रमाको इतिहास उल्लेख नभएपनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयासलाई सह्रानीय मान्न सकिन्छ । सोही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ । परिक्रमालाई व्यवस्थित पार्नका लागि कचुरी मठका तत्कालिन महन्थ लाल शरणले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।

नेपाल र भारत बीचको धार्मिक सांस्कृतिक महत्वलाई मिथिला मध्यमा परिक्रमाले वर्षौंदेखि प्रगाढ बनाउँदै आइरहेको छ । यसलाई व्यवस्थित गर्न सकिए दुवै देशको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास स्थानीयको छ । यसलाई व्यवस्थित पार्नेतर्फ सरकारको ध्यान जान नसकेको उनीहरुको गुनासो छ । हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १ सय ७ र भारतको २६ किलोमिटरको दुरी पैदल यात्रा गर्छन् । पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरुले झाँकी, भजन, किर्तन पनि गर्छन् ।

नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।