१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

खुल्न थाले राजधानीका सङ्ग्रहालय, सम्पदास्थलमा चहलपहल

खुल्न थाले राजधानीका सङ्ग्रहालय, सम्पदास्थलमा चहलपहल
अ अ+ अ-

काठमाडौं । कोरोना सङ्क्रमणको तेस्रो लहर बढेपछि माघ पहिलो सातादेखि बन्द गरिएका राजधानीका सङ्ग्रहालय खुल्न थालेसँगै सम्पदास्थलमा चहलपहल देखिन थालेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार सङ्ग्रहालय फागुन १ गतेदेखि खुलेको छ । 

सङ्ग्रहालयमा २५ जनाभन्दा धेरैको समूह आए विभाजन गरेर प्रवेश गराउने र २५ जनाभन्दा कमलाई एकै समूहमा प्रवेश गराउन थालिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । फागुन १ गते १८६ जना नेपाली र १० जना विदेशी नागरिकले सङ्ग्रहालय अवलोकन गरेको कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।
 
यसैगरी फागुन २ गते १८५ जना नेपाली र आठ जना विदेशी नागरिकले सङ्ग्रहालयको अवलोकन गरेका छन् । सङ्ग्रहालय खुलेसँगै भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या पनि दैनिक बढ्न थालेको छ । फागुन ३ गते १९५ जना नेपाली र १३ जना विदेशी नागरिकले हनुमानढोका दरबार क्षेत्रका साथै सङ्ग्रहालय भ्रमण गरेका छन् ।

राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालयलगायत पनि खुलेका छन् । सबै सङ्ग्रहालयमा स्वास्थ्य मापदण्ड पूरा गरेर भौतिक दूरी कायम गर्दै प्रवेश गराइएको छ । मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । २५ जनाभन्दा धेरैलाई एकैपटक प्रवेश दिइएको छैन ।
 
नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ । बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ । नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारकमा मङ्गलबार भने आधा दिनमात्र खुला गरिन्छ ।  हनुमानढोका दरबार हप्तामा सातै दिन खुला गरिन्छ । सार्वजनिक बिदाका दिन पनि हनुमानढोका दरबार क्षेत्र खुला हुने गरेको छ । दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ । दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा पनि अवलोकनका लागि खुला गरिएको छ ।

 महानगरले तिरेन हनुमानढोका दरबार हेरचाह अड्डालाई शुल्क
  
हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढवर्षदेखि काठमाडौँ महानगरपालिकाले सङ्ग्रहालयलाई दिएको छैन । महानगरसँग सम्झौता भएअनुसार रु तीन करोड ५० लाखभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशकसमेत रहनुभएका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख खनालले जानकारी दिनुभयो ।   

 महानगरले पैसा नदिएपछि  सङ्ग्रहालयले पनि गत भदौदेखि टिकट काट्न सुरु गरेको छ । सङ्ग्रहालय प्रवेश गर्दा अब विदेशीले रु ३०० र नेपालीले रु ३० को टिकट काट्नुपर्छ । विद्यार्थीलाई भने सहुलियतस्वरुप रु १५ मा प्रवेश गराइन्छ । महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको रु एक हजार शुल्क विदेशीसँग लिने गरेको छ ।

गद्दी बैठकमा प्रदर्शनीसहित सर्वसाधारणका लागि खुला गरिने
 
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले यसै महिनादेखि गद्दीबैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बिर प्रदर्शनी गर्ने भएको  छ । यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगित गरिएको थियो ।
  
नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनःस्थापनाका विभिन्न घटना क्रमका तस्बिरको प्रतिलिपि प्रदर्शनीमा राख्ने तयारी भएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि माघ पहिलो साता सरकारले राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै माघ दोस्रो साता खुला गर्न लागिएको गद्दी बैठक पनि रोकिएको थियो । यो प्रदर्शनीसँगै गद्दीबैठक पनि सर्वसाधारणका लागि खुला गर्ने कार्यालयको तयारी छ । 

सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दीबैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको जनाइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दीबैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो । भूकम्पसँगै बन्द रहेको गद्दीबैठक यसपटक खोल्न  कार्यालय तयारी पूरा गरेको छ । पृथ्वीवीर विक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्न गद्दीबैठक उपयोग गरिन्थ्यो । राजदरबार नारायणहिटी सरेपछि गद्दीबैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्नेस्थलका रुपमा उपयोग हुने थालेको थियो । 

गद्दी बैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्व विभागसँग समन्वय गरेर गद्दी बैठक खुला गर्न लागिएको हो । गद्दी बैठकसँगै फोटोग्राफर दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिच्नुभएका १०० वर्षभन्दा पुराना तस्बिर पनि प्रदर्शनीमा राखिने भएको छ । गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि प्रजातन्त्र स्थापना एवं पुनःस्थापना कालका कागजपत्र, दस्तावेज पनि प्रदर्शनी गरिने जनाइएको छ ।