• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

कञ्चनपुर औद्योगिक ‘हब’का रुपमा विकास हुन्छ: उद्योगमन्त्री भण्डारी



दोधारा चाँदनी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुर जिल्ला औद्योगिक ‘हब’का रुपमा विकास हुने बताउनुभएको छ ।

कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको आज स्थलगत अवलोकन गर्दै उहाँले औद्योगिक क्षेत्र निमार्णको काम दु्रत गतिमा अगाडि बढेकाले केही समयपछि कञ्चनपुर औद्योगिक हबका रुपमा विकास हुन लागेको बताउनुभयो ।

“छेला औद्योगिक क्षेत्रको कामलाई प्राथमिकतामा राखेर अगाडि बढाएका छौँ”, मन्त्री भण्डारीले भन्नुभयो, “दुई÷तीन दिनभित्रै यहाँ कार्यालय स्थापना गर्ने तयारीमा छौँ ।” उहाँले दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माण पनि अन्तिम चरणमा पुगेको बताउनुभयो ।

“हाम्रो सुक्खा बन्दरगाहदेखि भारतको औद्योगिक सहर ८५ किलोमिटरको दूरीमा मात्रै छ”, उहाँले भन्नुभयो, “व्यापार पारवहनका हिसाबले यो सुक्खा बन्दरगाह महत्वपूर्ण छ ।” गत सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुक्खा बन्दरगाहको निरीक्षण गर्नुभएको थियो ।

दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास भएको दुई वर्ष पुग्दासमेत भौतिक पूर्वाधार निमार्ण हुन सकेको छैन । अहिले डिभिजन वन कार्यालय कञ्चनपुरले औद्योगिक क्षेत्रमा रुख छपानको काम गरिरहेको छ । औद्योगिक क्षेत्र निर्माणका लागि रु नौ अर्ब खर्च हुने अनुमान छ ।

उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजार व्यक्तिले रोजगारी पाउनेछन् । एक सय औद्योगिक प्लट रहने दैजी–छेला औद्योगिक क्षेत्रमा साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्याइएको छ । यो औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भएर उद्योग सञ्चालनमा आए सुदूरपश्चिमकै आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ । रासस