२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२: आज नामिबियासँग खेल्दै नेपाल



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली नेपालले आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

घरेलु मैदान, वातावरण र समर्थकको भरपूर फाइदा उठाउने सोचमा रहेको नेपाल ओडिआईमा नामिबियालाई पहिलो पटक हराउने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । नेपालले नामिबियासँग चार ओडिआई खेल खेल्दा तीन हार ब्यहोरेको छ । यस्तैएक खेलमा वर्षाको कारण रद्ध भएको थियो ।

यता, नामिबिया २०१६ पछि पटक नेपालमा खेल्दैछ । २०१६ मा नामिबियाले नेपालविरुद्ध दुबै खेल आफ्नो पक्षमा पारेको थियो । नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अब १२ खेल खेल्न बाँकी छ । जस अन्तर्गत चार खेल युएईमा र ८ खेल घरेलु मैदानमा हुनेछन् । नेपालले शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नुपर्ने हुन्छ ।

नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारका साथ ३७ अंक जोड्दै तेस्रो स्थानमा छ । नेपाली टोलीका कप्तान रोहित पौडेलले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताएका छन् ।

एक साता अघि मात्र औपचारिक रुपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईसँग आफूले उमेर समूहका धेरै खेल खेलिसकेको र नयाँ प्रशिक्षक भएपनि घुलमिल सहजै भएको बताउँछन् । प्रशिक्षक देशाईको प्रशिक्षणमा टोली राम्रो भएको बताए । घरेलु मैदानमा हुने श्रृंखला निकै महत्वपूर्ण रहेको भन्दै रोहितले घरेलु मैदानको भरपुर सदुपयोग गर्ने बताए ।

यस्तै, नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले छोटो समयको क्याप निकै फलदायी भएको र १० दिनको अवधिमा आफूले खेलाडीमा भएको क्षमतालाई निखार्न प्रयास गरेको बताए । प्रशिक्षणको क्रममा प्रशिक्षक देशाई नेपाली खेलाडीमा आफूले धेरै क्षमता देखेको र खेलाडीले सो क्षमतालाई खेलमा कार्यन्वयन गर्नेमा आफू विश्वस्त रहेको बताउँछन् । श्रृंखला नेपाली टोलीका लागि निकै महत्वपूर्ण र कठिन भएको भन्दै सुखद् नतिजाका लागि खेल्ने प्रशिक्षक देशाईको भनाई छ ।

यसैबीच, नामिबियाका प्रशिक्षक मोर्ने मोर्कलले आफ्नो टोलीको लिगमा ६ खेल बाँकी रहेको र बाँकी सबै खेल निकै महत्वपूर्ण रहेको बताए । उनी आफ्नो टोली शीर्ष चारमा अटाइसेको र आफ्नो लक्ष्य दोस्रो स्थानमा अटाउने लक्ष्यमा रहेको भन्दै नेपालको भ्रमण राम्रो बनाउने लक्ष्य रहेको बताउँछन् । यता, बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पाँच महिनापछि मैदान फर्किदैछन् । उनको प्रदर्शन निकै महत्वपूर्ण रुपमा हेरिएको छ । उनीमाथि राम्रो प्रदर्शनको लागि दबाब पनि हुनेछ ।

नेपालका प्रमुख ब्याटरमा रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी छन् । यी तीन मध्ये एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । ओपनरमा आसिफ शेख र कुशल भुर्तेल रहनेछन् । ओपनरबाट नेपाललाई राम्रो सुरुवात आवश्यक छ । यस्तै, सर्वाधिक अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लबाट नेपाल घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन चाहन्छ ।

यस पटक आरिफ शेखको स्थानमा कुशल मल्ल खेल्न सक्छन् । कुशल बायाँ हाते ब्याटरसँगै स्पिनको राम्रो विकल्प रहेकाले उनलाई स्थान दिइने अनुमान छ । नेपालले हालसम्म ७ देशसँग ओडिआई खेल खेलेको छ । जसमा हराउन नसकेको नामिबिया मात्रै एक टोली हो । नेपालले नेदरल्यान्ड्स, स्कटल्यान्ड, नामिबिया, ओमान, पपुवा न्युगिनी, युएई र अमेरिकासँग हालसम्म ओडिआई खेल खेलेको छ ।

नामिबियाको टोलीः
जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, माइकल भान लिगेन, जान फ्रिलिंक, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, जोशुआन जुलिउस, निकोल लोफ्टी इआटोन, रुबेन ट्रम्पलम्यान र शन फुसे ।

नेपालको टोलीः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ । नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । यसैगरी, फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ ।