८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नहारेको युद्ध



अ+ अ-

गडगड गडगड ताली बज्यो… ।

निमेषमै मेरो नजर हातमा पर्यो ।

वाह ! क्या पिक्चर! यथार्थमा उसैको अधर मेरो हातमा टाँसिएको थियो ।

रातो लिपिस्टिक सहितको दुरुस्त अधरको आकृति हत्केलामा !

“हँ ! तिम्रो ओठमा पनि लिपिस्टिक ? ”

“हो मैले भनेकी थिएँ नि । सम्झना छ ? मैले लगाएको लिपिस्टिक मैले नमेटी मेटिदैन ।”

“अनि मेरो हत्केलामा ?..” चान्स पाए त मेट्न मैले जानेको थिएँ । मेरो मनले हृदयलाई नसोधीकनै प्रतिक्रिया दियो ।

“..अधरामृतको रसपान सा-है नसालु पो हुन्छ त । म रसपान गर्दै जानेछु । तिमीमा नसा चढ्दै जाने छ । थरथराएका प्यासी अधर, यौवनको सम्पुर्ण रंग झल्किएको नयन, बढ्दै गएको मुटुको चाल….. । पसिनाले निथ्रुक्क । उफ् ! तापक्रम किन यसरी बढेको ? फागुनमै यस्तो गर्मी ? ” कल्पना र सम्झनाको तरंगमा उसको उत्तरले अर्को रंग थप्यो ।

“मेरो ओठको लिपिस्टिक । नर्मल ! ओठ हेर त अघि र अहिले केही भिन्नता छ ?”

“अँ हँ छैन ।”

“तब ?”

“अब यसलाई चुमेर प्रेम युद्धको घोषणा गरुँ ?”

“……. ।” तिम्रो मौनता नै मेरो प्रेमको स्वीकृति हो । मनमनै सोचेर दंग परें म ।

म संगको सोझो हेराईले दिशा मोडिसकेको थियो । तर उसका नजरले जुन दिशामा फर्के पनि मलाई नै खोजिरहेको थियो । लक्षमण रेखामा बसेको रातो लिपिस्टिक सहितको तल्लो ओठको छेउ र चोरी औला एक साथ टोक्दै उसले फेरि नजर जुधाई । सम्पुर्ण रुपमा अनुहारमा थिग्रिएको उसको अपिल महसुस गरेँ मैले । ओ माई गड ! अपहरण नै गर्ने उसको हेराईको शैली । सलक्क परेका हात, लामा लामा नङमा रातो पलिस । अनि चोरी औलामा हिरा जस्तै टलक्क टल्किएको एक पत्थरे औंठी । बायाँदेखि दायाँतिरको राता गाला हुँदै विस्तारै रन्किएका कानको जोर्नी तल लगेर पञ्जालाई चिउँडोमा अड्याई ।

मौनतामा सशक्त बन्दै गएको प्रेमाकर्षण । सायद उसले मलाई जिस्काइरहेकी छे अनि भन्दै छे “तिमी मेरो प्रेमलाई महसुस गर्न सक्छौ ? थाहा छ तिमीलाई प्रेमका बारेमा ? मेरो अनुनय विनय महसुस गर्ने संयन्त्र छ तिमीभित्र ? यदि त्यसो हुन्थ्यो भने आज भन्दा धेरै अघि तिमी मेरो भईसकेका हुन्थ्यौ । जतिबेला मैले तिम्रो स्पर्श चाहेकी थिएँ । तिमी बेपरवाह थियौ । मेरा कयौं आग्रह अनुनयलाई खोलामा बगायौ । भदौरे घाममा सुकायौ ।”

ऊ आफ्नो कुर्चीबाट उठेर मेरो कुर्ची नजिक आई । विस्तारै म बसेको कुर्चीको ह्याण्डलमा पिंठ्युको आधा भाग अड्याउँदै दाहिने हातलाई गर्धन पछाडिको स्टाण्डमा घुमाई । मेरो सातो गयो । उसले मलाई गर्धन बाटै न्याक्दै छे ।

“कयौं पटक हातको नाडी समाउँदा तिमीभित्रको पुरुष कहाँ थियो ? वक्षस्थलमा ठोक्किदा तिम्रो चेतना कहाँ थियो ? याद छ तिमीलाई मैले तिम्रो पछाडिको भाग समातेको ? याद छ तिम्रो दुवै कुममा समाउँदै उफ्रिएको ? विभिन्न बहानामा प्यान्टको गोजीबाट पर्स निकालेको सम्झना छ तिमीलाई ? पैसा खोज्ने बहानामा प्यान्टको हर तर्फका पकेटमा मेरा हात पुगेका थिए । मेरो त्यो चन्चलतामा प्रेमको मञ्चन थिएन ? मध्यरातमा बज्ने मोबाईलको घण्टीले तिम्रो पुरुष चेतनालाई जगाएन ।”

कक्षा कोठामा कयौंपल्ट मैले दिएका मिसकल के थिए ? सरले देख्ने डरले जुत्ताभित्र लुकाएर मोबाईल कलेजमा ल्याउनुको एउटै उद्देश्य थियो । त्यो हौ तिमी । मिस कल, व्ल्याङ्क एस एम एस । अनि फोन गरेर नबोल्ने । सम्झँदा पनि अहिले एक्लै हासो उठ्छ । तर तिमी मेरा हर क्रियाकलापबाट बेपरवाह र बेखबर थियौं । म जलेर खरानी बन्दै गइरहेकी थिएँ ।

दैनिकजसो आँखा छोप्ने बहानामा अंकमाल गरिरहेकी हुन्थे । कलम माग्ने बहानामा हात छोइरहेकी हुन्थे । अनि खाजा चाख्ने बहानामा तिमीले खाएकै चम्चाले खीर तरकारी !

ओ माई गड !

तिमी त गैडा नै थियौ । जति काउकुती लगाउँदा पनि नहास्ने ।

यत्तिका समय पछि आज प्रेम युद्ध घोषणाको कुरा गर्छौ ? प्रेम युद्धको घोषणा मैले धेरै अघि गरिसकेकी थिएँ । युद्धमा जीत हार हुन्छ । मेरो प्रेम युद्धमा तिमी सहभागी नै भएनौ । प्रतिष्पर्धीसंगको टक्करबिना नै म पराजित भएँ । न तिमी सामेल हुन आयौ न मलाई जीत हारका लागि प्रयत्न गर्ने अवसर दियौ । आज यत्तिका बर्ष पछि पश्चिमे संस्कृतिको खोल ओढेर रातो गुलाब र एक चुम्बनमा प्रेमको दुहाई दिन्छौ ? बिना कुनै उपहार, बिना कुनै प्रतिवद्धता र बिना कुनै विधान म तिमीलाई मन पराई रहेँ । टाढा हुँदा पनि नजिक ठानेँ । विदेश जाने बेला खबरसम्म पनि गर्न आवश्यक ठानेनौ ।

हिजोसम्म कलेज आएको मान्छे एक्कासी विदेशीएको खबरले मेरो मन कति बिचलित बन्यो ? तिमी कल्पनासम्म गर्न सक्दैनौ । अध्ययनका लागि तिमीले पाएको छात्रवृत्तिबाट मेरो मन खुसी अवश्य थियो । तर सन्तुष्ट थिएन । यद्यपि मेरो प्रेमानुभूति नगरेर के भो त, त्यस अघिसम्म म तिमीसँगै थिएँ । चाहेको बेला भेट्न सक्थेँ । चाहेको बेला मोबाइलमा कुरा गर्न सक्थेँ । विभिन्न बहानामा कुराकानी लम्ब्याएको पत्तै पाउँदैनथ्यौ तिमीले ।

बेपर्वाह तिमी विदेश गयौ । म भित्रको तिमी प्रतिको प्रेमिल दियो आक्रोशित बनि मलाई नै जलाई दियो । कहिले सम्झेर रोएँ । कहिले बिर्सने प्रयासमा रोएँ । कति समय तिमीसँग बिताएका क्षण सम्झेर रोएँ । र पनि मैले बिर्सेर पनि तिमीलाई सम्झीरहेँ । ”यस्ता दृष्टान्त धेरै दिई उसले । सायद आज ऊ योजनावद्ध मुकाविला गर्ने मनस्थितिमा छे । उसले फेरि थपी “तर आज परिस्थिति विल्कुल भिन्न छ । म तिमीलाई अवश्य मन पराउँछु । तर माया गर्न सक्तिन त्यसैले प्रेमयुद्ध घोषणाको अर्थ छैन ।”
—————————————————————
“ओ माई गड ! दीस इज त फस्ट लभ मार्क ।” हुटिङ खपिनसक्नुभयो ।

निमेष मात्रै जुधेका नयनले गरेको आत्मसंवाद भंग भयो ।

प्रतियोगिता सञ्चालकको अनुगमन र निरीक्षण बिना नै मेरै प्रतिष्पर्धीले मलाई बोके । उनीहरुले नै मलाई जोडी नम्बर एक घोषणा गरे ।

भ्यालेन्टायन डे ।

गोलाप्रथाबाट रोजिएको जोडीले एक अर्काको हातमा प्रेमको निसाना बनाउनुपर्ने थियो । चुम्बनमा ओठको लिपिस्टिकको घेरा सहितको निलो टाटो ।

लक्की ड्र बाट मेरो जोडी ऊ अर्थात् उर्वशी बनेकी थिई ।

मेरो चाहाना पनि त त्यही थियो । अध्ययनका लागि विदेशी भूमिमा रहँदा मात्रै मैले उसको स्नेह र प्रेमको अनुभव गरेको थिएँ । फर्केर आउँदा ढिलो भइसकेको थियो ।

लक्की ड्र । साच्चै मेरा लागि भाग्य बन्यो ? होइन, सुखद संयोगले मेरो चाहना अवश्य पुरा गर्यो तर भाग्य निर्धारण गर्न सकेन ।
………………. …………………. ………………………… ………………………………………………………………………………..

“बिहान कलेज आउँदा लगाएको लिपिस्टिक घर फर्कने बेलासम्म जस्ताको तस्तै । तिमी पटकै पिच्छे रेष्टरुम जाँदा लिपिस्टिक लगाएर आउँछ्यौ हो ?”

“ रेष्टरुम दिसा पिसाबको लागि बनाइएको हो । त्यहाँ गएर यो पवित्र ओठमा ?…….. ना बाबा ना ….। के कुरा गरेको के तिमीले ? ”

“अनि कसरी संभव हुन्छ त ? खाजा खान्छौ, चिया खान्छौ । संगै खाइदैन ? कस्तो आज्ञाकारी । कहिलेकाँही लक्ष्मण रेखा काटेको हुँदैन । स्ट्याचु, जहाँको त्यही ।” म सधैं उसको लिपिस्टिकको प्रशंसा गर्थे । हुन पनि हो । उसको लिपिस्टिक लगाई पृथक थियो । लिपिस्टिकको रंग अझै आकर्षक । वाह ! साच्चै उसको ओठ अनि लिपिस्टिकको म पुजारी नै थिएँ । तर मैले त्यसभित्र लुकेको मेरो प्रेम विदेशमा रहँदा मात्रै चाल पाएँ । जब फर्किएँ । मेरो मायाको प्रतीक सिन्दुर र पोते अरु कसैले लगाइसकेको थियो ।

……………………………………………………………………………………………………………………………………………………..

यो वास्तविक र यथार्थ हो । सही र सत्य कुराको जाँच गर्नु पर्दैन । म उसको प्रेमी हुँ । अहिले पनि मलाई मन पराउँछे ऊ । सांच्ची उसको प्रेम गुलाबको फूल होइन मखमली फूल हो । जसलाई म जीवन्त अनुभूत गरिरहेको हुनेछु ।