१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीममा युनिटी राम्रो छ, मनोबल उच्च छ: कप्तान पौडेल



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले टीममा एकतामात्रै नभएर सबै कुरा राम्रो भएको बताएका छन् ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय श्रृंखलाअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोहितले टीममा युनिटी राम्रो रहेको आफैँलाई महसुस भएको बताएका हुन् ।

‘अहिले टीम युनिटीदेखि लिएर सबै कुरा राम्रो भएको छ म आफैँलाई महसुस हुन्छ । खेलाडीहरू सबैको मनोबल राम्रो छ । राम्रो गर्ने भन्ने माइन्ड सेट छ,’ रोहितले भने ।

लिग–२ का ३६ खेलमा नेपालले १२ खेल खेल्न बाँकी छ । नेपाललाई एकदिवसीय मान्यता जोगाउन यो श्रृंखला निकै महत्वपूर्ण रहेको कप्तान रोहितले बताए । उनले भने, ‘यो श्रृंखला हाम्रो लागि धेरै महत्वपूर्ण छ । लिग २ सिरिजको बाँकी खेल कस्तो हुन्छ भन्नका लागि पनि यो सिरिजले निर्णायक भूमिका खेल्छ । १२ खेलमा ९ खेल जित्नै पर्ने दबाव छ, त्यसैले पनि कति महत्वपूर्ण छ यो चार खेल भन्ने बुझ्न सकिन्छ’।

नेपाली टिमको नयाँ प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएपनि यू–१९ देखिनै चिनिरहेकाले उनीसँगको सहकार्य राम्रो भएको रोहित बताउछन् । ‘श्रृंखलाको लागि राम्रो तयारी भएको छ । पछिल्लो १० दिनमा मोन्टी सरले आएर जुन माहोल बनाउनुभएको छ टीममा जुन विश्वास आएको छ, त्यो एकदमै राम्रो भएको छ । हामीले मोन्टी सरलाई यू–१९ देखिनै चिनिरहेका छौं । नयाँ प्रशिक्षक भनेर हामीलाई केही पनि दबाब महसुस भएको छैन । मोन्टी सरले जुन माहोल टीममा बनाउनुभएको त्यसले धेरै सजिलो भएको छ,’ उनले भने ।

मनोज प्रभाकरले मुख्य प्रशिक्षकको भूमिका त्यागेपछि नेपालको नयाँ प्रशिक्षकको रूपमा मोन्टी देसाई नियुक्त भएका थिए । नेपालले यू–१९ एसिया कपमा भारतमाथि ऐतिहासिक जित निकाल्दा नेपालको ब्याटिङ सल्लाहकारमा मोन्टी थिए ।

त्रिकोणात्मक सिरिजमा नेपाल, स्कटल्यान्ड र नामिबियासँगको सहभागिता रहेको छ । नेपालले फागुन २ गते श्रृंखलाको पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । ५ गते हुने दोस्रो खेलमा स्कटल्यान्डसँग र तेस्रो ६ गते नमिबियासँग खेल्नेछ । यस्तै, नेपालले अन्तिम खेल ९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

घरेलु मैदानमा हुने भएकाले नेपाली टीमलाई धेरै कुराको फाइदा हुने कप्तान रोहित बताउँछन् । ‘घरेलु मैदान हो हामीलाई फाइदा पक्कै हुन्छ यहाँको पिचसँग हामी अभ्यस्त छौं । यहाँको वातावरण, घरेलु दर्शक सबै कुराले हामीलाई साथ दिन्छ,’ उनले भने ।