• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

राज्य संरचनामा नयाँ प्रविधिलाई बुझ्ने मान्छे हुनुपर्छः डा. राउत



file

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ–नयाँ कुराहरुलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताउनुभएको हो । उहाँले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको बिस्तार गर्न सहज हुने बताउनु भयो ।

उहाँले राज्यले कुनैपनि प्रकारका प्रविधिहरुको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने ? सुरक्षा नीति के हुने ? लगायतको विषयमा विशेष रुपमा ध्यान पुर्याउनुपर्ने बताउनु भयो । उहाँले प्रविधिहरुको प्रयोग गर्दैगर्दा त्यसको सुरक्षाको प्रत्याभुति दिलाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राज्यका संरचनामा सबभन्दा पहिला बुझ्नसक्ने मान्छे हुनुप¥यो । नयाँ प्रविधिलाई । हामीकहाँ उदाहरणहरु छन् छिमेकी मुलुकहरुमा कम्प्युटर प्रयोग गर्न हुन्न भन्नेखालको अभिव्यक्ति दिने व्यक्ति प्रदेशको शिर्षस्थ स्थानमा हुनुहुन्थ्यो । यो किन हुन्छ भन्दाखेरी सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिदाखेरी हाँस्यास्पद स्थितिहरु पनि हामीले देख्ने गरेका छौँ । त्यो भएर सकेसम्म राजनीतिक ठाउँमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भयो भने प्रविधिको बिस्तार गर्न सहज हुन्छ ।

अहिलेसम्मको सरकारमा केही हदसम्म होला । केही हदसम्म नहोला । अर्को कुरा राज्य संयन्त्रले कुनैपनि प्रविधि एडप्ट गर्दाखेरी पक्कैपनि धेरैकुरा सोच्नुपर्ने हुन्छ । जस्तोकि डाटा सर्भर कहाँ छ ? त्यसमा सुरक्षा नीति के खालको हुनेछ ? सुरक्षा प्रत्याभुति दिनसक्छौँ कि सक्दैनौँ ? र सबैकुरा फेलरको ब्याकअप कस्तो छ ? पूर्ण रुपमा फेलर भयो भने अनि के गर्ने ? धेरै कुरा सोचेर मात्रै कदम चाल्नुपर्ने हुन्छ । किनभने पूरै देशकै कुरा हो । कुनै कम्पनी वा संस्थाको मात्रै कुरा नभएर देशकै कुरा भएकाले एकैपटक त्यसमा ठूलै परिवर्तन ल्याउन प्रायः कर्मचारीतन्त्र हच्किने गर्छन् ।

त्यो कारणले गर्दा अफ्ठ्यारो महशुस गरेको हुनसक्छ । त्यसको उपाय एउटै हो हामीले सुरक्षाको प्रत्याभुति दिलाउन सक्नुपर्यो । विश्वसनीयताको प्रत्याभुति पनि दिलाउन सक्नुपर्याे । त्यो कुराहरुमा आस्वस्त पार्नसक्यो भने नयाँ नयाँ प्रविधिहरुलाई सरकारलाई अंगिकार गर्न सहज हुनेछ ।’

उहाँले सूचना र प्रविधिको आजको युगमा कितावमा समेत भन्सार शुल्क लाग्ने गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गर्नुभयो । विज्ञान, प्रविधिको प्रयोग तथा बिस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने उहाँले बताउनु भयो ।