३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

जनकपुरलाई धार्मिक पर्यटकीय नगरी बनाउँदै उपमहानगर

जनकपुरलाई धार्मिक पर्यटकीय नगरी बनाउँदै उपमहानगर
जनकपुरधाम
अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशको राजधानी रहेको धनुषाको जनकपुरधाम पौराणिक र ऐतिहासिक पर्यटकीयस्थलको रुपमा परिचित छ । जानकी, राममन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गङ्गा आरती, शिव, सङ्कटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव, हनुमानगढीलगायत मन्दिर यहाँ अवस्थित छन् ।

महर्षि जनकको पूण्यभूमि र माता जानकीको पवित्र जन्मस्थलको रुपमा देश विदेशमा परिचित यस क्षेत्रको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

मुख्यगरी यहाँ माता जानकीको मन्दिर दर्शन गर्न आउने छन् । आवश्यक व्यवस्थापकीय काम भएमा जानकी मन्दिरको अवलोकन गर्न आउनेले केही दूरीमा रहेका अन्य मन्दिरसमेत अवलोकन गरी आनन्द लिन सक्छन् । यिनै मठमन्दिर अवलोकनका लागि उचित योजना निर्माण र व्यवस्थापन हुन नसक्दा धार्मिक पर्यटकले सोचेअनुसार आनन्द लिन सकेका छैनन् ।

पहिलो पटक जनकपुर आउनुभएकी काठमाडौँकी हीरादेवी बिसीले मठमन्दिरको हिसाबले सुन्दर ठाउँ भए पनि पार्किङ, प्रतीक्षालय र छाडा पशुचौपायाको व्यवस्थापन हुन सके अझ सहज हुने बताउनुभयो । “मन्दिर दर्शन गर्न आएकाले सडक छेउमै गाडी राख्नुपर्ने अवस्था छ, मन्दिर घुमिसकेपछि थकाइ मार्ने उपयुक्त बस्ने ठाउँको पनि व्यवस्थापन रहनेछ”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले उपयुक्त पार्किङस्थल, सफा शौचालय र बसेर आराम गर्न मिल्ने ठाउँको व्यवस्था गरेको भए राम्रो हुने थियो ।”

जनकपुरधाम उपमहानगरपालिकाले भने धार्मिक पर्यटकका यस्तै गुनासालाई सम्बोधन गर्न धार्मिक क्षेत्र सुधारका काम गरिरहेको जनाएको छ । उपमहानगर प्रमुख मनोजकुमार साहले आफ्नो प्रमुख प्राथमिकतामध्ये धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी विकासका गतिविधि गर्नु रहेको बताउनुभयो । उहाँले धार्मिक पर्यटकलाई लक्षित गरी योजनाबद्ध रुपमा धार्मिक क्षेत्र सुधारका काम अगाडि बढाइएको बताउनुभयो ।

“जनकपुरलाई धार्मिक पर्यटन नगरीका रुपमा विकास गर्न सोहीअनुसार मैले योजना बनाएको छु”, नगरप्रमुख साहले भन्नुभयो, “त्यही योजनाअनुसार फोहरमैला व्यवस्थापन, पार्किङ निर्माण र फुटपाथ निर्माणको काम हुँदैछ ।” जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथ मन्दिर छेउमा बनाउन लागिएको सुविधा सम्पन्न पार्किङ सोही योजनाको सुरुआती भएको उहाँले बताउनुभयो ।

बाह्र कट्ठाभन्दा बढी जग्गामा बन्न लागेको सुविधासम्पन्न पार्किङले जनकपुरधाममा रहेका मन्दिरको दर्शन गर्न आउने पर्यटक लाभान्वित हुने अपेक्षा गरिएको छ । “अन्य समस्या त छँदैछन्, मुख्यरुपमा मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकले गाडी सडक छेउमै पार्किङ गर्नुपर्ने अवस्था छ । जसले ट्राफिक व्यवस्थापनमा पनि कठिनाई भइरहेको छ”, नगरप्रमुख साहको भनाइ छ, “यस समस्यालाई मध्यनजर गरी वडा नं ८ स्थित दशरथ मन्दिर छेउमा पर्किङ बन्दैछ । यसको निर्माणपछि सहजरुपमा गाडी पार्किङ गरेर पैदल हिँडेर मुख्य धार्मिकस्थलको अवलोकन गर्न सघाउ पुग्नेछ ।”

उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवले करिब रु पाँच करोड लागतमा बन्न लागेको पार्किङस्थलमा प्रतिक्षालय, सार्वजनिक शौचालय, कार्यालय, सानो व्यापारिक क्षेत्रसहितको संरचना रहने बताउनुभयो । “धार्मिक पर्यटकलाई लक्षित गरी बन्ने यो पार्किङका लागि चालु आर्थिक वर्षमा रु ६० लाख बजेटमा माटो भरण, कम्पाउण्ड वालसहित प्रारम्भिक कार्य हुनेछ”, इन्जिनियर यादवले भन्नुभयो, “आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी हामीले योजना बनाएका छौँ, त्यसपछि अहिले धार्मिक पर्यटकले भोग्ने समस्या केही हदसम्म समाधान हुनेछ ।”

अव्यवस्थितरुपमा सवारीसाधन पार्किङका कारण नगरक्षेत्रमा ट्राफिक व्यवस्थापनमा समेत सघाउ पुग्ने उपमहानगरपालिकाको विश्वास छ ।

उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पनि धर्म, संस्कृति र मठमन्दिरले जोडेको जनकपुरलाई सजाउने, सिगार्ने र सुन्दर बनाउने काममा उपमहानगरपालिकाले आवश्यक काम गर्ने बताउनुभयो । उहाँले जनकपुरलाई धार्मिक पर्यटकीय नगरीका रुपमा विकास गर्न मन्दिरको सौन्दर्यीकरण, सडकपेटी निर्माण र छाडा पशुचौपाया व्यवस्थापनको काम गरिने बताउनुभयो । तर, यहाँको अधिकांश जग्गा गुठी संस्थानको नाममा रहेकाले सुधारका कार्य गर्न केही कठिनाइ भइरहेकाले गुठीसँग समन्वय गरेर आवश्यक जग्गा भाडामा लिएर फोहोर व्यवस्थापनलगायतका काम गरिने र त्यसले अहिलेको अवस्थामा थप सुधार हुने उहाँले बताउनुभयो । “जनकपुरधामको मुख्य विशेषता नै धार्मिक मठमन्दिर हुनु हो, यसको उचित व्यवस्थापन हुनसके त्यसबाट अझ धेरै लाभ लिन सकिन्छ”, उपप्रमुख साहले भन्नुभयो, “पौराणिक धार्मिक नगरीलाई आधुनिक धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्न हामीले मापदण्डअनुसार योजनाबद्धरुपमा सुधारका काम गर्छौं, पहिलो आर्थिक वर्षमा त्यसको सुरुआत भई आगामी पाँच वर्षभित्र साँच्चै धार्मिक पर्यटन नगरीका रुपमा यहाँको विकास हुनेछ । त्यस कार्यमा हामी सबै लागिरहेका छौँ ।”

नगरप्रमुख साहले पनि उपमहानगरपालिकाको योजनामा यहाँस्थित गुठीले आवश्यक सहयोग गरेमा पाँच वर्षमा जनकपुर र यहाँका धार्मिकस्थललाई हेर्न लायक बनाउन सकिने दाबी गर्नुभयो । “धार्मिक पर्यटकीय नगरी बनाउने गरी हामीले सुधारको काम थालिसकेका छाँै, सडक बाटो, फोहर व्यवस्थापन, छाडा पशुचौपाया व्यवस्थापन र अन्य आवश्यक पूर्वाधार निर्माण गरी हाम्रो कार्यकालभित्रै यो योजना पूरा गर्ने छौँ तर यसमा गुठी संस्थानलगायत सबैको साथ र सहयोग अपरिहार्य छ”, नगरप्रमुख साहले भन्नुभयो । रासस