• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

मन्त्री मोदीलाई विधेयक हस्तान्तरण



काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई मन्त्रालय र नेपाल कानुन समाजको विज्ञ टोलीबाट तयार गरिएका निर्माणमुखी केही सामग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र फोहरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई व्यवस्था गर्न बनेको विधेयक हस्तान्तरण गरिएको छ ।

समाजका अध्यक्ष एवं पूर्वमुख्यसचिव तीर्थमान शाक्य र नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले उनलाई विधेयक हस्तान्तरण गरेका हुन् । सङ्घीय सरकारले र संसद्ले बनाउनुपर्ने ती विधेयक मन्त्रालयको नेतृत्वमा विज्ञबाट मस्यौदा तयार गरी सङ्घ, प्रदेश र स्थानीयका सरोकारवालाका सुझावको आधारमा तयार गरिएको समाजले जनाएको छ ।

उक्त विधेयकमा स्थानीय सरकारले कार्यान्वयन गर्ने, प्रदेश सरकारले समन्वय गर्ने र सङ्घले सहजीकरण गर्ने गरी व्यवस्था गरिएको छ । सो अवसरमा मन्त्री मोदीले तीन तहका सरकारबीच समन्वयका लागि विधेयक जरुरी भएको र प्राप्त विधेयकलाई आगामी सदनमा पेश गरिने बताए ।

समाजका अध्यक्ष शाक्य र पूर्वमन्त्री पौडेलले मुलुकका लागि ती विधेयक अत्यन्त आवश्यक रहेकाले विधेयक अन्तिम नभएसम्म समाजको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ र समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले विधेयकको विशेषताबारेमा जानकारी गराए । रासस