२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका प्रख्यात सन्त मोरारी बापू लुम्बिनीमा



अ+ अ-

देउखुरी । भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार साँझ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ ।

उहाँलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराईलगायतले मायादेवी मन्दिर परिषरमा स्वागत गर्नुभएको हो ।

पहिलो पटक लुम्बिनी आउनुभएका बापूले मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गर्नुभयो । उहाँले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी तालको पानी सेचन गर्नुभएको थियो ।

त्यस अवसरमा उपाध्यक्ष भिक्षु मैत्तयले बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जानकारी दिनुभएको थियो । उपाध्यक्ष मैत्तयले राजा अशोक स्तम्भमा लेखिएको पाली भाषा नै लुम्बिनीमा बुद्धजन्मको अकाट्य प्रमाण भएको बताउनुभयो ।

लुम्बिनी विकास कोषको अतिथि पुस्तकमा उहाँले बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेख्नुभएको छ । पवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुसी र शान्ति प्राप्त भएको उहाँले उल्लेख गर्नुभएको छ ।

सन्त बापूले मन्दिर परिसरमा दीप प्रज्जवलन गरी पूजा गर्नुभएको थियो । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिको आयोजनामा आजबाट सुरु हुने रामकथा प्रवचनका लागि बापू यहाँ आउनुभएको हो ।

रामकथा प्रेमयज्ञ समितिको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा आजदेखि नौ दिनसम्म कथावाचन हुनेछ । बापूसहितको टोली विमान चार्टर्ड गरी गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आउनुभएको हो ।