३१ भाद्र २०८३, बुधबार
,
Latest
तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने काँग्रेसको आग्रहः विपद्को समयमा सरकार अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड देओस् विपद् व्यवस्थापनमा सरकारी निकायबीच निरन्तर समन्वय भइरहेको छ : लामिछाने सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति



अ+ अ-

रामपुर । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ । यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ । नदीको किनार भएकाले पनि अन्य ठाउँको तुलनामा यहाँ घुम्न जानेहरू बढ्न थालेका छन् ।

पर्यटन विस्तार र विकास गर्ने उद्देश्यले बाघ लुक्ने ठाउँ अर्थात् ढाडलाई व्यवस्थित गरी बाघको आकृतिको मूर्ति निर्माण गरिएपछि हिजोआज पर्यटक आउने जाने क्रम चलिरहेको रामपुर–६ का वडाध्यक्ष दिवाकर देवकोटाले बताए । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको नदी कालीगण्डकीको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने गरी नदी किनारमा बाघको मूर्ति निर्माण गरिएको उनी बताउँछन् ।

“बाघको ढाड क्षेत्रको आसपासमा बारबन्देज, विश्रामस्थल, फूलबारीसहितको बगैँचा, सडक स्तरोन्नतिलगायतको कामलाई वडा तहबाट प्राथमिकता दिएर आयआर्जन गर्ने गरी योजना बनाएका छौँ”, उनले भने, “आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई जोड्नका लागि नदीको किनारमा बाघको मूर्ति तयार पारेका हौँ ।”

बाघको ढाड व्यवस्थापन शीर्षकमा नगरपालिकाबाट विनियोजित वजेट रु दुई लाख सहयोगमा काम थालनी भएको हो । करिब रु तीन लाखको लागतमा मूर्ति बनाउने कार्य सम्पन्न भएको छ भने यस कार्यमा यहाँका स्थानीयवासीले रु ३० हजार बराबरको श्रमदानसमेत गरेका छन् । हाल यहाँको बाघ आकारको मूर्ति अवलोकनमा दैनिकजसो करिब एक सयभन्दा बढी अवलोकन गर्न आउने गरेको बाघको ढाड व्यवस्थापन समितिका अध्यक्ष हुमा देवकोटा बताउँछिन् । उनका अनुसार शनिबार र सार्वजनिक बिदाका दिन अवलोकन गर्नेको ठूलै चहलपहल देखिन्छ ।

कालीगण्डकीको किनारमा रहेको यस ढाडमा बाघ लुकेर बस्ने गरेकाले यसलाई बाघको ढाडका नामले नामकरण गरिएको ज्येष्ठ नागरिक थिरलाल ढकाल बताउँछन् । “यस ढाडमा निँयाले जातको बाघ मरेपछि वन कार्यालयका कर्मचारीको रोहबरमा म आफैँले वैदिक परम्पराअनुसार अन्त्येष्टि गरेको छु, देवीको बाहनका रूपमा लिइने बाघ बस्ने, खेल्ने ढाडलाई संरक्षण गर्दै मूर्ति बनाएर राखिएको छ”, उनले भने ।

यस क्षेत्रमा पुग्ने बाटोको पहुँचमार्ग निर्माण, कालीगण्डकी नदीको मनोरम दृश्य, शीतल हावापानी, हरियाली रुख बिरुवाको लोभलाग्दो प्राकृतिक दृश्यले दर्शकलाई लोभ्याइरहेको छ । कालीगण्डकीको तटमा अवस्थित रहेकाले पनि यो क्षेत्रले पर्यटन विकासको राम्रो सम्भावना बोकेको छ । कार्यालय, विभिन्न पेसा, व्यावसायमा आबद्ध रहने व्यक्तिलाई कामको थकानबाट मुक्ति प्राप्ति गर्नका लागि यस क्षेत्रको प्राकृतिक वातवारण उपयुक्त रहेकाले यो क्षेत्रले पर्यटन विकासमा फड्को मार्ने रामपुरका पुराना पत्रकार वासुदेव ढकाल बताउँछन् ।

कालीगण्डकी नदी सुसाउँदै गरेको गुञ्जनले हरेक कामको थकावट, तनावलाई यहाँको वातावरणमा आएपछि मेटाउने खालको वातावरण छ । बाघको मूर्ति अहिले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा छाएको छ । सामाजिक सञ्जालमा छाउन थालेपछि दिनप्रतिदिन अवलोकन गर्न जाने बढ्दै गएका छन् । बाघको मूर्तिस्थलसम्म पुग्न दुईतर्फी सडकको ९पूर्वतर्फ पैदलमार्ग र पश्चिमतर्फ सवारीसाधनमा जान सक्ने० पहुँच विस्तार भएपछि अवलोकन गर्न जाने पर्यटकलाई सजिलो भएको छ । यस क्षेत्र नजिकै रामपुर नगर गौशाला, पर्यटकीय ज्याग्दी वन, तालपोखरा, बुद्धपार्क जोडिएकाले पर्यटक भित्रिँदै गएका छन् ।

यस नदी किनारमा हिन्दू धर्मावलम्बीहरू नदी स्नान गर्ने घाट रहेकाले यस क्षेत्र धार्मिक तथा पर्यटन विकासमा अगाडि बढ्ने स्थानीयवासीले आशा व्यक्त गरेका छन् । दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि पाल्पा सदरमुकाम तानसेन र पोखरा आएका बाह्य पर्यटकलाई रामपुर भित्रिने वातावरण तयार पार्न स्थानीय सरकारले कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ । कालीगण्डकी करिडोरको पहुँचमार्गले गर्दा रामपुर भित्रिन सहज भएको छ । नारायणघाट, काठमाडौँ, पोखरा, बुटवलसँग सडक जोडिएपछि रामपुर क्षेत्रमा पछिल्लो समय पर्यटन विकासका कामले गति लिइरहेको छ । रासस