२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा विनियोजन ऐन संशोधन गरिँदै



अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकमान्तर गरी खर्च गर्न विधेयक संशाधनको प्रक्रिया अगाडि बढाएको हो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने सरकारको लक्ष्य छ ।

विनियोजन ऐन संशोधन विधेयकमाथि आउँदो मङ्गलबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ । शुक्रबारको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यले विकास निर्माण र जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभा सदस्य लिलबहादुर थापाले प्रदेशको स्वायत्त अधिकारलाई स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले समृद्ध गण्डकीको लक्ष्य पूरा गर्न साझा योजना र सङ्कल्प चाहिने उल्लेख गर्नुभयो । अर्का सदस्य पद्मा जिसीले नवलपुरका किसानले मल, बीउ र सिँचाइ सुविधा नपाएकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पछिल्लो समय बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विशेष योजना ल्याउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य सुधीरकुमार पौडेलले स्याङ्जाका किसानले चिस्यान केन्द्रमा राखेको दुई सय ९३ टन सुन्तला कुहिएकाले उचित क्षतिपूर्ति दिइनुपर्ने माग राख्नुभयो । प्रदेशसभा सदस्य प्रकाश बरालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकारले पहल लिनुपर्ने उल्लेख गर्नुभयो ।

अर्का सदस्य हरिबहादुर भण्डारीले पटकपटक म्याद थप हुँदा पनि म्याग्दी जिल्ला अस्पताल भवन निर्माण हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य विन्दु अधिकारी पहाडीले एकल महिलालाई आत्मनिर्भर बनाउन सीप र प्रविधि दिनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले प्रदेश संरचनाको औचित्यमाथि उठिरहेको प्रश्नको भरोसायोग्य जवाफ दिनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेशसभाको पहिलो कार्यकालमा भएका कामकारबाहीबारे स्वेतपत्र जारी गर्नुपर्ने बताउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा, टकराज गुरुङ, श्यामराजा महत, सरस्वती गुरुङ, लक्ष्मण पाण्डे, महेश भट्टराई, भोजराज अर्याल, भक्त कुँवर, दिलमाया पौवी, दयमन्ती रुचाल, गोविन्दबहादुर नेपाली, कृष्णप्रसाद पाठकलगायतले बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक आउँदो मङ्गलबार दिनको १ बजे बस्नेछ । रासस