१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

मध्यपहाडी राजमार्ग ६० प्रतिशत भौतिक प्रगति, २०८१ मा सकिने

मध्यपहाडी राजमार्ग ६० प्रतिशत भौतिक प्रगति, २०८१ मा सकिने
अ अ+ अ-

बलेवा । गलकोटमा पुरानो हरिचौर बजार छाडेर हटियामा बस्ती विस्तारको लहर चलेको छ । पञ्चायत कालको जिल्ला सदरमुकामसमेत रहेको हरिचौर बजार सडक विस्तारसँगै हटियामा स्थानान्तरण हुँदैछ । व्यवसाय गर्नका लागि सहज वातावरण हुने र अन्य सुविधासमेत हटियामा रहेकाले सर्वसाधारण हटियामा बस्न रुचाउँछन् । 

गलकोटकै मनेवामा माछाको व्यापार छ । कालोपत्र सडकमा हुइँकिँदै माछाको स्वाद लिनका लागि मात्रै भए पनि सदरमुकामबाट मनेवा पुग्नेहरू पनि छन् । बडिगाड गाउँपालिकामा पर्ने ग्वालीचौरको खार बजार विस्तार, रिसोर्ट र रेस्टुँराहरुको प्रतिस्पर्धा, निसीखोला गाउँपालिकामा झिँवाखोलाको व्यापार, पर्यटकीय क्षेत्र पातिहाल्नेमा पुग्ने सवारी साधनको भरिभराउ संयोग मात्रै होइन । बरु पुष्पलाल (मध्यपहाडी)राजमार्गको साधारण मार्ग खुलेपछि पूर्वी बागलुङदेखि पश्चिम बागलुङसम्म फेरिएको पछिल्लो अवस्था हो ।
    
बुर्तिबाङ बजार त स¬ङ्घीय सरकारले मध्यपहाडी लोकमार्गमा पर्ने १०  सहरलाई नमूना बनाउँदा प्राथमिकता परेको मध्येको एक हो । मध्यपहाडी राजमार्गकै कारण बुर्तिबाङ बजार नमूना सहर आयोजना सञ्चालनमा छ । केही काम भएका छन्, केही समीक्षा गर्नुपर्ने विषय बनेका छन् । बागलुङ र रुकुमको सिमाना पातिहाल्नेमा दैनिक सयौँ पर्यटक पुग्छन् । रुकुम हुँदै बागलुङ र बागलुङ हुँदै रुकुम घुम्न पुग्ने पर्यटकका लागि पातिहाल्ने बिसौनी बनेको छ । मध्यपहाडी सुरु हुनुपूर्व पातिहाल्ने ठाउँको नाम सुन्नेहरू नै कम थिए । अहिले धेरैले चिनिसकेका छन् । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा सदरमुकामभन्दा कम चहलपहल छैन । त्यहाँको व्यापार व्यवसाय र आवासीय भवनको विकासले सदरमुकाम बागलुङ बजारलाई जिस्काइरहेको छ ।

बुर्तिबाङको विस्तारले तमानखोलामा विकासको छाल हानेको छ । मध्यपहाडी राजमार्गबाट १० किलोमिटरका यात्रामा तमानखोला गाउँपालिकाको मुकाम बोंगादोभान पुग्न सकिन्छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले उक्त खण्डको साढे नौ किमी सडक स्तरोन्नति गरिदिएकाले गाउँपालिकालाई मुकाम पुग्ने सडक बनाउँदा लाग्ने खर्च गाउँटोलमा पुग्ने सडकमा लगानी गर्न सहज भएको छ । “मध्यपहाडीले हामीलाई हरेक हिसाबले सघाएको छ, चार –पाँच दिन लगाएर बागलुङ बजार पुग्ने तमानका सर्वसाधारण अहिले पाँच–छ घण्टामा बजार पुग्छन्”,  गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो । तमानखोलाले सडकको अनुभूति गर्न पाएको राजमार्ग खुलेपछि नै हो । यसअघि तमानखोलामा सडक थिएन । पैदलै हिँडेर यहाँका सर्वसाधारण अड्डा –अदालत पुग्थे । निसीखोला गाउँपालिकाको पनि अवस्था उस्तै थियो ।  

काठेखोला गाउँपालिकामा पर्ने घोडाबाँधेको चिसो मौसम, हिमशृङ्खलाको काख, अछेते बजारले फेरेको मुहार र बागलुङ बजारको उपल्लाचौर क्षेत्रमा भइरहेको बस्ती विस्तार राजमार्गले ल्याएको उछाल हो । काठेखोला खण्ड अधिकांश ठाउँमा सडककै छेउमा ससाना पसल राखेर जीविका चलाउनेहरू पनि छन् । बिहुँमा उत्पादन हुने दूध र सुन्तलाको बजारीकरणमा पनि सडकले सहजता थपेको छ । बागलुङ र रुकुमको सिमानामा पर्ने पातिहाल्ने कुनै बेला गाईगोठ र भेंडीगोठमा मात्रै सीमित थियो । 

गोठाला मात्रै पुग्ने पातिहाल्ने अहिले आन्तरिक पर्यटकको रोजाइ बनेको छ । “पहिले नेपाल सरकार र गाउँ विकास समितिले मिलेर निसीसम्म सानो सडक बनाएका थियौं, अन्त सडक देख्नु त्यस्तै थियो,”,  निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल भन्नुहुन्छ, “अहिले पातिहाल्ने हाम्रो मुख्य पर्यटकीय क्षेत्र बनेको छ, मध्यपहाडी सडक पुगेपछि पातिहाल्नेले मुहार फे¥यो ।” हिउँद, बर्खा दुवै याममा पातिहाल्ने पुग्ने पर्यटकको लर्को हुन्छ । रुकुम९पूर्व० र पश्चिम बागलुङ पहिलो पटक सडकले जोडिएका हुन् । यसअघि पातिहाल्नेमा सडक बन्ला भनेर कल्पनासमेत नगरिएको अध्यक्ष पौडेल बताउनुहुन्छ । 

बागलुङ बजार छाडेर बुर्तिबाङ बजार पुग्ने जो कोहीको पहिलो रोजाइ ढोरपाटन शिकार आरक्ष हुँदा पातिहाल्नेले दोस्रो ठाउँ ओगटेको छ । निसीखोलाको भल्कोटमा सडकको त के कुरा, राष्ट्रिय गौरवको अर्को आयोजना ढोरपाटन– सालझण्डी सडकको पहुँच विस्तार गर्नमा पनि सो राजमार्गले सघाउँछ । ढोरपाटनमा सिकारका लागि पुग्ने पर्यटकले हवाई यात्रा गर्छन् तर पैदल घुम्न जानेहरूको मुख्य मार्ग यही हो । राजमार्ग खुल्नुपूर्व मोबाइलमा नेटवर्कको समेत समस्या थियो । न गाउँमा कोही पुग्थे न त त्यहाँका गाउँले सहज हिसाबले सदरमुकाम र जिल्लाका अन्य ठाउँमा पुग्न सक्थे । “हाम्रोमा मोबाइल फोन लाग्ने भएको पाँच वर्ष भयो, सडक बनेपछि मात्रै टावर बनेको हो”, निसीखोला गाउँपालिका –६ भल्कोटका सूर्यमान बुढा मगरले भन्नुभयोे, “अहिले त सुगम भएको छ ।” 

 राजमार्गको विस्तारसँगै बागलुङको कर्णाली ‘पश्चिम बागलुङ’ले परिचय फेरेको छ । निसीखोला गाउँपालिकाको सिपमा अहिले व्यापारी छन् । कुनै समय जिल्लाकै दुर्गम गाउँका नामले चिनिएका सिप, निसी जस्ता गाउँ अहिले सहज सडक सञ्जालले जिल्लाका सुगम ठाउँसँग जोडिएका छन् । “बटौलीको नुन घरमै आउँछ, भात खाने चामल खोज्न कयौंँ दिन लगाएर हिँडिन्थ्यो, अहिले त सुख छ”, निसीखोला–६ सिपका मनबहादुर बुढाले भन्नुभयो, “बटौली पुगेर गाडी देखेको मैले अहिले दैलोमा गाडी गुडेको देख्छु ।” सडकले स्थानीयवासीलाई सहज बनाएको मात्रै छैन, सदरमुकाममा हुने कामका लागि पुग्दा लाग्ने खर्चमा पनि कटौती भएको छ । 

 “तीन दिन पैदल हिँडेर सदरमुकाम पुगिन्थ्यो, अहिले पाँच घण्टामा गाडीले दैलामै पु¥याउँछ”,  मगर भन्नुहुन्छ, “बिरामी पर्दा एम्बुलेन्स घरमै आउँछ, बारीमा फलेको तरकारी बजार सहजै पुग्छ ।” बागलुङ बजारबाट बुर्तिबाङ सडक पुग्दा समेत निसीखोला पुग्न एक दिन लाग्थ्यो । अहिले समय र  खर्चको बचत भएको बुढा बताउनुहुन्छ । राजमार्ग बनेपछि जिल्लाको पश्चिम क्षेत्रमा सञ्चार सुविधा पनि सहज भएको छ । राजमार्गका सबै खण्डमा नेपाल टेलिकमको नेटवर्कले काम गर्नेगरी बिटिएस टावर विस्तार भएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताउनुभयो । 

बागलुङ बजारदेखि निसीखोलाको भलकोटसम्म फाइबर विस्तार गर्ने योजना पनि टेलिकमले बनाएको छ । निसी, तमान र ढोरपाटन क्षेत्रका सर्वसाधारणले पाल्ने भेंडा, बाख्रा र गाईभैंँसीको बिक्रीमा पनि सडकले सहजता थपेको छ । भेंडाबाख्रा खोज्नेहरू सवारी साधनका सहायतामा भेंडीगोठ नै पुग्ने गरेको तमानखोलाका भेंडापालक किसान ढालेन्द्र छन्त्याल बताउनुहुन्छ ।

काम सुरु भएको दश वर्ष अर्थात् विसं २०८१ सम्ममा पूरै निर्माण सम्पन्न गर्ने लक्ष्य भएको पुष्पलाल राजमार्गले बागलुङ मात्रै नभई गण्डकीका पर्वत, कास्की र गोरखा जिल्लाको मुहार फेर्न ठूलो भूमिका खेलेको छ । गोरखामा आरुघाट–ओखले १३ किमी सडकखण्ड बनेको छ । गोरखाखण्डको केही भाग कालोपत्रेसमेत भएको आयोजनाले जनाएको छ । 

त्यसभन्दा पश्चिमको ४० किमी खण्डमा पनि काम भइरहेको छ । सडकले ससाना गाउँ र बजार क्षेत्रको विकास लहर ल्याएको छ । सो सडकको ८२ किमी खण्ड कास्कीमा पर्छ । करपुटार, थुम्की, वेगनास, तल्लो हेम्जा, लुम्ले, काँडेको पर्यटन र आर्थिक विकासमा मध्यपहाडी राजमार्गको भूमिका रहेको स्थानीयवासी बताउँछन् । पर्वतमा डिमुवादेखि कुश्मा र मालढुङ्गासम्मको २५ किमी भूभाग पर्छ । स्थानीय शाखा सडक बनाउन र त्यसकै माध्यमबाट जनजीविका चलाउन सहज भएको छ । एकै ठाउँमा जोडिएका कुश्माको शिवालय चोकका घरहरूले मूलद्वारअघि फराकिलो सडक पाएका छन् । 

कुश्मा र पातिचौर बजारले सडकका बीचमा बगैंँचा पाउँदैछन् । “कहाँ पहिलेको पोखरा –बागलुङ सडक, कहाँ अहिले विस्तार भएको मध्यपहाडी, धेरै अन्तर छ”, कुश्माका व्यवसायी दीपेन्द्र केसी भन्नुहुन्छ, “बस्तीमा विस्तार भएको सडकले सबै क्षेत्रमा सहयोग गर्छ ।” बागलुङ–पातिहाल्ने खण्ड १४२ किमी छ । राजमार्गको सबैभन्दा धेरै दूरी बागलुङ खण्डमा पर्छ । सो सडक बनेपछि ढोरपाटन सिकार आरक्ष पुग्ने, घुम्नेहरू उल्लेख्य वृद्धि भएको तथ्याङ्क त्यहाँ रहेका होटल तथा रेस्टुराँमा छ । 

बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–बुर्तिबाङ खण्ड कालोपत्रे हुँदा पश्चिम बागलुङलाई सहज छ । बुर्तिबाङ –पातिहाल्ने खण्ड र बागलुङ बजार– घोडाबाँधे खण्डको समेत स्तरोन्नति र कालोपत्रको काम चलिरहेको छ । सो खण्डको काम सुरु भएको आठ वर्ष बित्यो । दुर्गममा सुगम सडक हुँदा सदरमुकाम नजिकै भने हिउँदमा धुलाम्मे र बर्खाको समयमा हिलाम्मे सडक छ ।

“समयमै सडक कालोपत्रे नहुँदा वर्षौँदेखि हिलो र धुलो खेप्नुपरेको छ, सडक बनेपछि सुन्तला र दुध बजार पठाउन भने सहज भएको छ”, काठेखोला गाउँपालिका– ६ बिहुँका गुरुप्रसाद कँडेलले भन्नुभयो, “कालोपत्रे छिटो भइदिए सहज हुन्थ्यो ।” बिहुँ खण्डमा लामो समय बितिसक्दासमेत कालोपत्रेको काम सकिएको छैन । देशभरको अवस्थालाई हेर्दा करिब एक हजार किमी पहिलेकै पुरानो चल्तीको सडक र थप ७५६ किमी नयाँ ‘ट्रयाक’ खोलेर सुरु भएको ‘मध्यपहाडी लोकमार्ग’को पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको छ । 

अहिले चल्तीका सडकसमेत स्तरोन्नति भइरहेका छन् । तराईमा रहेको हुलाकी राजमार्गको विकल्पका रुपमा विकास गर्न थालिएको मध्यपहाडी राजमार्ग जति आलोचित र चर्चित छ त्यत्तिकै जनजीविकासँग जोडिएको छ । पूर्वमा नेपाल–भारत सिमानाको पाँचथर चियो भन्ज्याङबाट सुरु भएको राजमार्ग २४  पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सिमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुङ्गिन्छ ।  मध्यपहाडका २४ जिल्ला र २२५ बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने आयोजनाले जनाएको छ । 

आर्थिक वर्ष २०६४/६५ मा सुरु भएको राजमार्ग गण्डकी प्रदेशमा भने २०६८/६९ देखि मात्रै काम सुरु भएको हो । पाँच वर्षमा साधारण मार्ग खोलेर कालोपत्रे थाल्ने भनिएको सडकको स्तरोन्नतिको काममा भने ढिलाइ भइरहेको छ । राष्ट्रिय योजना आयोगले २०७१ मा गरेको एक सर्वेक्षणमा आयोजना सम्पन्न भएको १० वर्षभित्र रोजगारीमा २० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । गरिबी पश्चिम पहाडमा २८.०१ बाट १८ प्रतिशत र सुदूर पश्चिमको पहाडमा ३६।८३ बाट २५.५ मा झार्ने लक्ष्य छ । गण्डकीका सबै जिल्ला निर्माणाधीन राजमार्गको पश्चिम खण्डमा पर्छन् । राजमार्गलाई मूल मार्ग बनाएर यहाँका छ स्थानीय तहमा कयौंँ स्थानीय सडक बनेका छन् । 

बागलुङ बजारदेखि गलकोट हुँदै बुर्तिबाङ पुग्ने सडक निर्माणको सुरुआत २०५४ सालमा भएको स्थानीयवासी बताउँछन्  । एसियाली विकास बैंकका सहयोगमा सङ्घीय सरकारले थालेको कामलाई राजमार्ग आयोजनाले पूरा गरिदियो । पहिले बुर्तिबाङसम्म सामान्य मार्गका रुपमा रहेकामा विस्तार गरेर राजमार्ग बनेको हो । बुर्तिबाङदेखि निसीखोलाको झिँवाखोला पुग्ने सडकको कल्पना गरेर निर्माण थालिए पनि राजमार्ग आएपछि व्यवस्थित सडक बनेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेल बताउनुहुन्छ ।

बागलुङका पाँच स्थानीय तहको मुकाम सोही राजमार्गका आसपासमा छन् । बागलुङ, गलकोट र ढोरपाटन नगरपालिका तथा काठेखोला, बडिगाड र निसीखोला गाउँपालिकाको मुकामलाई यही राजमार्गले छोएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले हालसम्म आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको जनाउँदै लक्ष्यावधिभित्रै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।