२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अचार बिक्रीबाट आत्मनिर्भर बन्दै बुद्धभूमिका महिला



अ+ अ-

कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक रु ५० हजारको कारोबार गर्दै आएका छन् । अधिकतम वार्षिक रु १५ लाखसम्म आम्दानी गरेको उद्योगकी अध्यक्ष पवित्रा भट्टराईले बताउनुभयो । स्थानीयस्तरमै अचार उत्पादन गरी यसलाई व्यवसायका रुपमा अगाडि बढाउन छ महिला सामूहिकरुपमा लागेका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाले प्रदान गरेको तालिममार्फत अचार बनाउन सिकेको उद्योगकी अध्यक्ष भट्टराईले बताउनुभयो । “हातमा सीप नहुँदा घरमै बसेर दिन कटाउन बाध्य थियौँ । घरेलु कार्यालयले अचार बनाउने तालिम दियो । यहीँ सीपलाई व्यवसायमा जोडेका हौँ”, उहाँले भन्नुभयो । आफूसहित छ महिलाको सक्रियतामा उद्योग सञ्चालन भएको उहाँले बताउनुभयो ।

वाार्षिकरुपमा अचार बिक्री गरेर घर खर्चा चलाउँदै आएका यी महिलालाई बालबच्चाको पढाइदेखि आफूलाई आवश्यक परेका सामान किन्न सहज भएको छ । “आफ्नो कमाइ नहुँदा घरका श्रीमान्सँग आश्रित हुनुपर्ने थियो । अहिले त्यो बाध्यता हटेको छ”, भट्टराई भन्नुहुन्छ । घरको काम सकेर रहेको फुर्सदिलो समयमा अचार बनाउने गरेको उहाँले जनाउनुभयो ।

बुद्धवाटिका उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर अर्घाखाँची, प्युठान, दाङ, नेपालगञ्ज, बुटवललगायत सहरमा हुने गरेको छ । जिल्लाभित्र र बाहिर लाग्ने औद्योगिक मेलामा समेत अचारको माग बढ्दोे छ । अचार उद्योगबाट वार्षिक १० हजार किलोग्रामसम्म उत्पादन हुने गरेको छ । उद्योगमा विभिन्न ब्राण्डका अचार उत्पादन हुने गरेको छ ।

उद्योगमा आँप, अमला, लसुन, अदुवा, मुला, खुर्सानी, अकबरे–खुर्सानी, अकबरे–तामा, मिक्स, कागती दाना, मेथी, करेलालगायतका विभिन्न स्वादका अचार छन् । उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, बासको तामा, टिमुर, लसुन, करेलालगायतका सामान बुटवलबाट आउने गरेको उद्योगले जनाएको छ ।

सुरुआती चरणमा अचारले राम्रो बजार पाउन नसके पनि आजभोलि बजारको खासै समस्या नहुने सञ्चालक मीना बेल्वासेको भनाइ छ । अचार बनाउन धेरै लगानी लगाउन नपर्ने बेल्वासेले बताउनुभयो । आफ्नै गाउँघरमा उत्पादन भएका अचार प्रयोग गर्न उहाँको सुझाव छ । “हामीले कुनै केमिकल प्रयोग गर्दैनौँ, हामीले उत्पादन गर्ने अचार राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।

ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ । चार सय ग्रामसम्मको मिक्स अचारलाई रु एक सयसम्म पर्ने गरेको छ । सबैभन्दा बढी मूल्यको अचार अकबरे खुर्सानीको छ । चार सय ग्रामसम्मको अकबरे खुर्सानीको मूल्य रु दुई सय ५० सम्म पर्छ ।

उद्योगमा उत्पादित अचारको व्यवसायलाई थप फष्टाउने योजना रहेको अध्यक्ष भट्टराईले सुनाउनुभयो । महिला मात्र संलग्न रहेको कारण बजारलाई व्यवस्थित पार्न नसकिएको उहाँले बताउनुभयो । आगामी नयाँ वर्षदेखि बाँकेको परान्चु अचार उद्योगसँग सहकार्य गरी व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ ।

“उत्पादित अचारलाई वनारससम्म लैजान सकेका छैनौँ । महिला मात्र भएको कारण बजारको समस्या छ । बाँकेको परान्चु अचार उद्योगसँग समन्वय गरिरहेका छौँ, अब त्यहीँ उद्योगले अचार लैजाने आशामा छौँ, उहाँले भन्नुभयो । महिलाले गरेको सामूहिक उद्यमलाई बुद्धभूमि नगरपालिकाले समेत सहयोग गर्दै आएको छ ।

नगर प्रमुख केशवकुमार श्रेष्ठले अचार उद्योगलाई वार्षिकरुपमा अचार बनाउने तालिमका लागि बजेट छुट्याएर सहकार्य गरेको बताउनुभयो । “सिधै बजेट दिएका छैनौँ, तालिममार्फत सहकार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो । रासस




भर्खरै