२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै



अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–७ र २ को सिमाना मङ्गलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण थालिएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोत साधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि मर्मत थालिएको हो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले स्वरुप नबिग्रने गरेर पुल मर्मत गर्न लागिएको जानकारी दिनुभयो ।

“स्थानीयवासीलाई आवतजावतमा सहज, सुरक्षित बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पुल मर्मतको काम चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम थालिएको छ”, उहाँले भन्नुभयो, “प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गर्न लागेको हो ।”

नदीबाट पुलको उचाइलाई अहिलेको भन्दा बढाउने र काठको ठाउँमा ‘स्टिल डेग’ राखिने भएको छ । बयालीस मिटर लामो पुलको पुनःनिर्माण गर्न करिब रु ४५ लाख लागत अनुमान गरिएको प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमका प्राविधिक दयाराम शाहले बताउनुभयो । पर्खाल भत्काएर पुरानै ढुङ्गाबाट नयाँ बनाउने, पुरानै लठ्ठालाई तन्काएर राखिने उहाँले बताउनुभयो ।

बागलुङ गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो । स्थानीयवासी कृष्णबहादुर सार्कीका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो ।

पुलमा प्रयोग भएका साङ्ले लठ्ठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन् । तत्कालीन समयमा दुईवटा साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याकमात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको थियो । काठको फल्याकको ठाउँमा स्टिलको डेग राखिने भएको छ ।

विसं २०१४ मा बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा हालको झोलुङ्गे पुलको रूपमा विकास गरिएको बेनी बजारका ज्येष्ठ नागरिक नैनकुमार श्रेष्ठले बताउनुभयो । साङ्ले लठ्ठाको तौल धेरै भएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायःजसो सबै गाउँबाट स्थानीय बेनी झेरका बूढापाका बताउँछन् । यो ठाउँमा त्यसअघि कुनै पुल थिएनन् । तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका सबैजसो यही बाटो भएर वारपार गर्थे । लामो समयसम्म म्याग्दीखोला पारि र वारिका स्थानीयले वारपार गर्ने मुख्य बाटो यही थियो ।

जिल्लाकै पुरानो र स्थानीय स्रोत साधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो । अहिले पुल जीर्ण छ । पुल जीर्ण बनेपछि आवतजावतमा समस्या र जोखिम भएको छ । पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको छ । जालीमा खिया लागेको छ । रासस