२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा शून्य प्लाष्टिक अभियान



अ+ अ-

देउखुरी । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्लाष्टिक शून्य अभियान थालिएको छ । प्लाष्टिकका कारण जताततै फोहर फैलिँदा यसबाट लुम्बिनी भ्रमण गर्न आउने पर्यटकमा नकारात्मक असर पार्ने तथा यहाँको वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले उक्त अभियान थालिएको हो ।

नगरलाई सफा र स्वच्छ बनाउन अभियान सुरु गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘ग्रिनरी नेपाल’ नामक संस्थाले छ महिनासम्म यो अभियान सञ्चालन गर्ने छ । अभियानको आज सुरुआत गर्नुहुँदै रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यस क्षेत्रमा सरसफाइ आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लुम्बिनीपछि यस क्षेत्रका अन्य स्थानीय तहलाई समेत शून्य प्लाष्टिक बनाउन पहल गर्नेर्छौं ।” जनसहभागिताले मात्र यस्ता अभियानले पूर्णता पाउने उहाँको भनाइ थियो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न बज्राचार्यले प्लाष्टिकजन्य फोहरले पर्यावरण र जलवायु परिवर्तनमा समेत नकारात्मक असर परेकाले विद्यालयदेखि विश्वविद्यालय तहसम्म यसबारे चेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले पर्यटकलाई आकर्षित गर्न र उनीहरुको बसार्इं लम्ब्याउन लुम्बिनी सफा र स्वच्छ हुनु पहिलो शर्त भएको बताउनुभयो । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले अभियानमा जनप्रतिनिधि, सामाजिक तथा व्यावसायिक सङ्घसंस्थाको सहभागितामा छ महिनासम्म सरसफाइ अभियान सञ्चालन गरिने बताउनुभयो ।

ग्रिनरी नेपालका अध्यक्ष निपेश ढाकाले अभियानमा संस्थाका २२ स्वयंसेवक चेतना अभिवृद्धिका साथै फोहर सङ्कलन, फोहर वर्गीकरण र फोहर विसर्जनमा खटिने उल्लेख गर्दै उक्त अभियानमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी क्षेत्रसँग जोडिएका गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल र शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले बुद्ध जन्मस्थल लुम्बिनीलाई प्लाष्टिक शून्य बनाउने अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो । रासस