• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने ★   जब १० घण्टासम्म दुर्घन्धित फोहोरको थुप्रो अगाडि उभिए धनुष ★   सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा ★   प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म ★   टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने ★   भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द ★   सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड ★   रन्जिताले लेखिन् कविता ‘तानाशाही प्रवृती’ ★   आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु: बामदेव गौतम  ★   नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

हरियो पुच्छ्रेतारा



नाम पुच्छ्रेतारा भए पनि वास्तवमा पुच्छ्रेतारा तारा नभएर ब्रह्माण्डमा भएको बरफ, धुलो तथा पानीको खगोलीय पिण्ड हो ।

सूर्यको नजिक आउँदा सूर्यको तापले गर्दा उक्त पिण्डबाट ग्यास बन्दै जान्छ जुन हामीले पुच्छरको रुपमा देख्ने गर्छौं भने बाँकी पिण्ड पनि सूर्यको प्रकाशले गर्दा चम्किलो देखिन्छ । पुच्छ्रेताराको आकार–प्रकार, पुच्छरको लम्बाइ, रङ, चम्किलोपना, परिक्रमा अवधि आदि कुराहरु पुच्छ्रेताराको बनोट र परिक्रमाको बाटोमा भर पर्दछ ।

विभिन्न समयमा विभिन्न नाम गरेका पुच्छ्रेताराहरु पृथ्वीको नजिकबाट जाने गर्छन् । तीमध्ये कति नाङ्गो आँखाले पनि सजिलै देख्न सकिन्छ भने कति दूरबिन तथा अत्याधुनिक यन्त्रको सहयोगले मात्र देख्न सकिन्छ । यस्तै पुच्छ्रेताराहरु मध्ये हाल आकाशमा रहेको एउटा पुच्छ्रेतारा हो “जेड टि यफ” उर्फ हरियो पुच्छ्रेतारा। ५० हजार वर्षपछि देखिएको यो पुच्छ्रेताराको वास्तविक वैज्ञानिक नाम भने “सी/२०२२ ई ३ जेड टि यफ” (C/2022 E3 (ZTF) हो र यसको नाम यसरी रहन गएको हो ।

सी .यो पुच्छ्रेतारा ‘नन् पेरियोडिक’ पुच्छ्रेतारा हो मतलब यसको परिक्रमा अवधि २०० वर्षभन्दा बढी छ (५० हजार वर्ष) ।

यो सम्बत २०२२ मा पहिलो पटक पत्ता लागेको हो । ई . यो मार्च महिनाको पहिलो पन्ध्र दिनमा भेटिएको हो ।

(अंग्रेजी वर्णअनुसार जनवरीको पहिलो पन्ध्र दिन ‘ए’ अनि जनवरीको बाकी पन्ध्र दिन ‘बि’ तेस्तै फेब्रुअरीको पहिलो पन्ध्र दिन ‘सी’ अनि फेब्रुअरीको बाकी पन्ध्र दिन ‘डी’ लगतै मार्चको पन्ध्र दिन ‘ई’)

यो उक्त समयमा भेटिएको तेस्रो पुच्छ्रेतारा हो ।

जेड टि यफ, ‘जेड टि यफ’ यो पुच्छ्रेतारा पत्ता लगाउने संस्था ‘जुईकि ट्रान्जीएन्ट फेसिलिटी’ को छोटो रुप हो ।

यसको मुख्य भाग हरियो देखिएकाले यसलाई हरियो पुच्छ्रेतारा पनि भनिएको हो ।

कुनै पनि खागोलीय पिण्ड नाङ्गो आँखाले देख्न सकिन्छ कि सकिँदैन भन्ने कुरा धेरै कुरामा निर्भर गर्छ । जस्तो कि उक्त पिण्ड उत्तरी गोलार्धतर्फ छ कि दक्षिणी ? उक्त पिण्डको चम्किलोपना, आकाशमा जूनको प्रकाश, हेर्ने मानिस भएको ठाउँमा भएको प्रकाश प्रदूषणको स्तर आदि । हाल हाम्रो आकाशमा रहेको पुच्छ्रेतारा हामी भएको उत्तरी गोलार्धतर्फ छ भने यसको अनुमानित चम्किलोपना (म्यागनिच्युड स्केल) ६ को आसपास रहेको छ ।

जुन नाङ्गो आँखाले देख्न सकिने सिमाना पनि हो । ६ भन्दा कम चम्किलोपना भएको खागोलीय पिण्ड हामीले नाङ्गो आँखाले देख्न सक्छौँ भने ६ भन्दा माथिका वस्तुहरु हेर्नको लागि हामीलाई अन्य यन्त्रको सहयोगको आवश्यकता पर्दछ । उदाहरणका लागि सूर्यको म्यागनिच्युड स्केल माइनस २६.७४, पूर्णचन्द्रको माइनस १२.५, हाम्रो आकाशमा घाम र जूनपछिको सबैभन्दा चम्किलो पिण्ड शुक्र ग्रहको माइनस ४.४, सबैभन्दा भन्दा चम्किलो तारा सिरियसको माइनस १.४, तथा ध्रुवतारा (पोलारिस) को प्लस २ हो ।

हाम्रो आकाशहरु विस्तारै ताराविहीन हुँदैछन् । प्रकाश प्रदूषणको कारणले गर्दा हामीले सहरी भेगबाट आकाश धमिलो देख्छौँ भने ताराहरु निकै कम देख्ने गर्छौं । तुलनात्मकरुपमा गाउँमा भने आकाश अलिक अँध्यारो र धेरै ताराहरु देख्न सकिन्छ । आकाशको प्रकाश प्रदूषण ब्रोटल स्केलमा नाप्ने गरिन्छ । जसमा एकदेखि नौसम्मको अंक हुन्छ । १ भनेको पृथ्वीमा भएको सबैभन्दा अँध्यारो आकाश तथा ९ भनेको एकदमै प्रदूषित भित्री सहरी आकाश ।

हामी जति अँध्यारो आकाशमुनि हुन्छौँ त्यति धेरै आकाशका तारा तथा अन्य वस्तुहरु राम्रोसँग देख्न सक्छौँ। नेपालका केही प्रमुख ठाउँहरुको हालको ब्रोटल स्केलहरु यस प्रकार छ । काठमाडौँको ब्रोटल स्केल ४, वीरगञ्जको ब्रोटल स्केल ५, बुटवलको ब्रोटल स्केल ४ तेस्तै उच्च पहाडी तथा हिमाली ठाउँमा ब्रोटल स्केल १ को आकाशहरु पनि रहेको छ ।

कहाँबाट कसरी हेर्ने ?

जनवरी १२ मा सूर्यको सबैभन्दा नजिक हुँदा म्यागनिच्युड प्लस ७.५ को आसपास भएको हरियो पुच्छ्रेतारा फेब्रुअरी १ मा पृथ्वीको सबैभन्दा नजिक हुँदा म्यागनिच्युड प्लस ५ हुने अनुमान गरिएको छ जुन नाङ्गो आँखाले देख्ने उच्चतम सिमानाभन्दा केही कम हो ।

हाल (२०७९/१०/१४) गते पुच्छ्रेताराको चम्किलोपना ५.५७ को आसपासमा रहेको छ । साथै चन्द्रमा आधी पूर्ण भएकाले बिहान छिट्टै अस्ताउने गर्छ । सहरभन्दा टाढा प्रकाश प्रदूषण कम भएको ठाउँमा जून अस्ताइसकेपछि अथवा जून उदाउनुपूर्व सप्तऋषि तथा ध्रुवताराको बीचतिर हेर्दा यो सानो प्रकाशको धमिलो डल्लो जस्तो देख्न सकिने सम्भावना छ । सामान्य दूरबिन अथवा क्यामेराको सहयोगले भने सजिलै देख्न सकिन्छ । चमिक्लोपना ५ को आसपास भएको अनि चन्द्रमा पूर्ण हुने क्रममा रहेको (फेब्रुअरी १ मा ८५ प्रतिशत पूर्ण हुने ) साथै पुच्छ्रेताराको बारेमा अनुमान गर्न एकदमै गार्हो हुने भएकाले नाङ्गो आँखाले देखिन्छ नै भन्न सकिने अवस्था भने छैन तर देख्न सकिने सम्भावना प्रबल छ ।

फोटोको बारेमा

माथिको फोटो ८०७ वटा लाईट फ्रेम तथा २३० क्यालीब्रेसन फ्रेम (८० डार्क, ५१ फ्ल्याट, ९९ बायस) सहितको ३९ गिगाबाइट डाटालाई ‘डीप स्काई स्ट्याकरमा’ स्ट्याक गरेर ‘लाईटरूम’ तथा ‘फोटोसपको’ सहयोगमा तयार गरिएको हो । ५३.८ मिनेट बराबरको डाटा डीएसयालआर क्यामेराले २०७९/१०/१३ गते बिहान बुटवल नुवाकोट जंगलबाट बिहानको ४ बजेदेखि साढे ५ बजेको बीचमा लिइएको हो ।

यो पनि पढ्नुहोस- पोखिएर घामको झुल्का बटौलीबजारमा‘ फोटो फिचर