प्रकृति र संस्कृतिअनुसार विवाह गर्नुपर्छ । सृष्टिको नियम, भगवान्को निर्देश, समयको संस्कृतिले मानिसलाई विवाह गराउँछ ।
वंश र समाजलाई निरन्तरता दिन विवाहले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विवाह नै परिवारको जरा हो, समाजको आधार हो, प्राणीहरूले निरन्तरता पाउने चक्र हो । महादेवसँग पार्वतीको, विष्णुसँग लक्ष्मीको, बुद्धसँग योधराको, पारुहाङसँग सुम्निमाको विवाह भयो । पुरुषमा बीजशक्ति हुन्छ, स्त्रीमा प्रकृति शक्ति अर्थात् उत्पादन क्षमता हुन्छ जसले सृष्टि गर्छ ।
पुरुषमा बीजशक्तिले गर्भधारण गराउँछ, स्त्रीको प्रकृति शक्तिले त्यसलाई लिएर जन्माउँछ वा उत्पादन गर्छ । हरेक कार्य सम्पन्न गर्न प्रकृति र पुरुषको आवश्यक पर्छ चाहे मन्त्रमा होस् वा मानवमा । देवीदेवताको विवाह सन्तान जन्माउन होइन जगत् चलाउनका लागि हुन्छ । उनीहरूको दिव्य र प्रकाशित शरीर हुन्छ । मोह र कामवासनाले उनीहरुलाई असर गर्दैन यसकारण सन्तान जन्मदैनन् ।
अन्य प्राणीको विवाह कामबासना र वंशपरम्परालाई जोगाउन हुन्छ । विवाहले प्राणीलाई लक्ष्मीनारायण वा उमामहेश्वर हुन् सिकाउँछ, जीवनको पाठ पढाउँछ, धर्मलाई बचाउँछ, संस्कृतिलाई जोगाउँछ, कुल र मूललाई निन्तरता दिन्छ, सामाजिक बताउँछ । विद्वान्, नेता, प्रोफेसर, वैज्ञानिक, डाक्टर आदि विवाहकै गर्भमा हुन्छन् । विवाहले चारवटै आश्रमहरूलाई रक्तसञ्चार गराउँछ । विवाहलाई गृहस्थ आश्रमको शैशव अवस्था भनिन्छ ।
विवाहितले धेरैतिर असर पार्ने हुँदा चिना जुराएर कुटमिलनमा १८ वा सोभन्दा बढी आएपछि दाम्पत्य जीवनमा प्रवेश गर्दछन् । माङ्गलिक दोषमा रोगी, षड्अष्टक परे झगडा, नाडी दोष र नवपञ्चक परेमा बच्चामा समस्या आउन सक्छ । कस्तो कुल, वातावरणमा जन्मियो, उमेर र स्वभाव कस्तो छ, ग्रह र भूगोलले के सन्देश दिन्छ विचार गरिन्छ । विवाहले सम्बन्धलाई मात्र होइन भविष्यलाई जन्माउने हुँदा बहुआयामिक पक्षबाट चिन्तन गरिन्छ । विशेषरूपेण वाह्यते अनेनेति विवाहः अर्थात्, विशेषरूपले वहन गरिने जिम्मेवारीलाई विवाह भनिन्छ ।
नेपालीमा उखान छ– “गोरु जोतेपछि, सन्तान विहेपछि थाहा हुन्छ” । त्यसैले होला विवाहमा वेहुलो अन्माउँदा आमा रुन्छिन् रे । बुहारी लिन जाँदा शुभ साईतका लागि दही खुवाएपछि छोराको माया आमासँग कम, सिन्दूर हालेपछि छोरीको सम्बन्ध माइतीसँग मौन हुन्छ । विवाहले परिपक्क बन्न, जिम्मेवारी निभाउन, पूर्वजन्मको कर्मले मिलेको साथीसँग सहयात्रा गर्न बाध्य गराउँछ ।
पत्नीं मनोरमां देहि मनोवृत्यनुसारिणीम् ।
तारिणी दुर्गसंसार सागरस्य कुलोद्भवाम् ।।
–दुर्गासप्तशती
अर्थात्, “हे माते मेरो मनले सोचेअनुसार चल्ने, कुललाई उद्धार गरी पितृलाई तारण गर्न सक्ने श्रीमती दिनुहोस्” । समान आचरण, लक्ष्य, विचार भएका वर÷वधू बीच विवाह गरिन्छ । वरितुं योग्य वर अर्थात् वरण गर्न उपयुक्त पुरुषलाई वर भनिन्छ । विहेको दिनमा ऊभन्दा योग्य, आदर्श र उत्तम अरू हुँदैनन् । विवाहको दिन हरेकको परिचय उनीहरूसँग जोडिन्छन् । जस्तै दुलाहाको बुबा, दुलाहाकी आमा, दुलाहाकी दिदी, दुलाहाको भाइ आदि ।
विवाहमा बुबाले छोरीको विधिवत् पूजा गरी गोत्र परिवर्तन गरिदिन्छन् । अब तिमी शिक्षा, उमेर र संस्कारले समर्थ भएर जुन घरमा जाँदै छौ त्यहाँ अनुशासन र कर्तव्यलाई ध्यान दिई सबैलाई आफ्नो बनाउन भनी बिदा गरिन्छ । योग्य बेहुलीलाई वधू भनिन्छ । वध बन्धने धातुको अर्थ बाध्नु हो । वध्नाति वरं÷पतिं धारयति स्वरूपं इति वधू अर्थात् पतिदेवमा पूर्णरूपले समर्पित भई परिवारलाई खुशी पर्दै, प्रेमले बाँधेर प्रसन्न राख्छिन् ।
आर्य संस्कार भएकी वैदिक जीवनमा जिउने कन्यालाई वधू भनिन्छ । माइतीले बिदा गर्ने समयमा असल व्यवहार देखाएर सासु, ससुराको प्यारी देउरानीजेठानीमा सर्वश्रेठ बनेर रहूँ भनी आशीर्वाद दिन्छन् । विदेश पलायन, पश्चिमाको आक्रमणले वैदिक विवाहका पद्धति र मर्यादा विस्तारै अवसानमा पुगेका छन् । दाम्पत्यजीवनलाई एक चुस्की चियाबाट सुरु गराउँदै चिया पिउन नपाउँदै टुङ्ग्याइन्छ । याज्ञवल्क्यस्मृतिमा भनिएको छ–
एतैरेव गुणैर्युक्तः सवर्णः श्रोत्रियो वरः ।
यत्नात्परीक्षित पुंस्त्वे युवा धीमान्जनप्रियः ।।
यसैले वर र कन्याको योग्यता, दक्षता, पेशा, लक्ष्य आदिलाई मिलाएर विहे गराउनुपर्छ । शास्त्र र सामाजिक मर्यादामा रही विहे गर्दा पारपाचुके, वैमनस्य, बन्ध्या, झमेला थिएन । वेदव्यासले महाभारतमा भन्नुभएको छ–“सन्तोषः त्रिषु कर्तव्य स्वदारे भोजने धने” अर्थात्, आफ्नी श्रीमतीमा, सत्कर्मले कमाएर पकाएको भोजनमा र धन यी तीन विषयमा सधैँ सन्तोष गर्नु ।
अर्काको हेरेर कहिल्यै डाह नगर्नु । “तातै खाऊँ जली जली मरौँ” भन्ने प्रकृतिको विहेले परिवार उजाडिएको छ, सम्बन्धमा तिक्तता पैदा गरेको छ । राम्रो देशमा जान पाए, आर्थिक अवस्था राम्रो भए, कुनै लाभ देखेमा संस्कार र धर्म विचार नगरी विवाह गर्ने क्रम बढ्दो छ । मन नमिल्दा यस्ता विवाहले चाडपर्व वा कुलपूजासँगै झगडा निम्त्याउँछन् । अन्तरजातीय र अन्तर धर्मको विवाह एकाधबाहेक चाँडै टुङ्गिएका छन् । कुलपूजा, पर्व र धार्मिक संस्कारमा यिनीहरूले स्थान पाउँदैनन् । परिवारले हेर्ने दृष्टि, समाजले गर्ने व्यवहार, आफन्तले देखाउने श्रद्धामा फरक पर्दै गएपछि केटाकेटी बिचमै मनमुटाव हुन्छ र विवाहको विसर्जन हुन पुग्छ ।
कुलं च शीलं च वपुर्यशश्च विद्यां च वित्तं च सनाथतां च ।
एतान्गुणान्सप्त परीक्ष्य देया कन्या बुधैः शेषमचिन्तनीयम् ।।
अर्थात् “वर वधूको कुल, शील, स्वभाव, शरीरको उचाई, पढाईको स्तर, आर्थिक अवस्था, गोत्र वा वर्णलाई मिलाएर मात्र बुद्धिमान्ले विहे गर्नु, गराउनुपर्छ” । विहे एउटै परिवार वा वंशजभित्र नपरोस् भनेर गोत्रको व्यवस्था गरियो । एउटै गोत्रभित्र विहे गर्दा वैज्ञानिक, सामाजिक र धार्मिक दृष्टिले अशोभनीय मानिन्छ । आफ्नो विद्यार्थी वा गुरुका सन्तानसँग पनि विवाह गराउन हुँदैन । सन्तान दुई प्रकारका हुन्छन् ।
क) औरसवंश
बुबाआमाले अर्थात् छाती छोडेर जन्माएका सन्तानलाई औरसवंश भनिन्छ । पितापुर्खाबाट प्राप्त गोत्र र सम्पत्ति यस्ता सन्तानले स्वतः रूपमा पाउँछन् । उनीहरूको पालनपोषण, शिक्षा–दीक्षा र विवाहसम्मको जिम्मा बुबा–आमाले लिन्छन् ।
ख) वचनवंश
गुरुले शिक्षा, दीक्षा, सीप, अनुभव दिएर सक्षम बनाएका आफ्नो वा भिन्न थर, गोत्रका सन्तानलाई वचन (नाद)वंश भनिन्छ । शिष्य बनाएर गुरूपरम्परा वा सम्प्रदायपरम्परालाई निरन्तरता दिने कार्य नादवंशले गर्दछन् ।
वंशलाई संरक्षण गर्न विवाह वा दीक्षा शास्त्रपूर्वक हुनुपर्छ अन्यथा वर्णसङ्कर जन्मन्छन् । भगवान् श्रीकृष्णले गीता (१।४२)मा भन्नुभएको छ– वर्णसङ्करले चढाएको पिण्ड पानी पितृहरूले पाउँदैनन्, कुल परम्परामा नोक्सान हुन्छ । परम्परा, इतिहास, संस्कृति र धर्म पुस्तान्तरण र हस्तान्तरण होस् भनी विवाहमा चिना जुराउनुपर्दछ गोत्र मिलाउनुपर्दछ । अभिभावक, नातेदार, छिमेकी आदिले विवाह गराउन महत्वपूर्ण भूमिका खेल्दछन् । आफ्नो परिवार, छिमेकमा राम्रो मानिस आओस् भनी विवाहलाई अनेक दृष्टिले हेरिन्छ । सूर्य उत्तरायण हुँदा विवाहका लागि उत्तम हुन्छ ।
श्रावण महादेवको महिना हो जसले निवृत्तमार्गमा लाग्न प्रेरणा दिन्छ । विवाह प्रवृत्त हुने कर्म भएकाले मुक्ति र त्यागको साधना गर्ने महिनामा विवाह गरिँदैन । कार्तिकमा सूर्य निच हुन्छन् । पुष र चैत्र महिनाका अधिपति गुरु हुन्छन् । गुरुको कार्य शारीरिक सम्बन्ध होइन चेतना वृद्धि गर्ने भएकाले विवाह गरिँदैन । विवाहमा पाँचवटा केराको खम्बाबाट जगिया बनाइन्छ । पञ्चतत्त्वबाट शरीरको निर्माण हुन्छ बेहुला र बेहुलीमा शारीरिक ऊर्जा अधिक होस् भन्ने प्रतीकात्मक अर्थ दिन्छ ।
पूर्व दिशामा गाडिएको तीनवटा केराको खम्बाले ब्रम्हा, विष्णु, महेश्वरको बोध गराउँछ । बेहुलीको बुबाले कपाल खौरिएर छोरीको गोत्र परिवर्तन गरेको संकेत गर्छन् । यही दिनबाट बेहुलाले ससुरालीका तीन पुस्ताभित्रका पितृलाई पितृकार्यमा संझनुपर्छ । जुठो, सुत्केरो वार्नुपर्छ । सनातन धर्मले एकअर्कोलाई कसरी सम्मान गर्छ यो अनुकरणीय उदाहरण हो ।
ससुराली, मामली, फूपू, फूपाजूसमेतलाई संझेर पिण्ड, पानी दिने कार्यलाई एकताको बिगुल फुकेको छ । यिनै संस्कारले नेपालीसमाज बलियो थियो, हाम्रा नातामा आत्मीयता थियो ।
वर वधूको खुट्टाको पानी खाएर दुबैलाई विष्णु र लक्ष्मीको सम्मान दिन्छन् । तामाको भाँडामा कुल्चने अधिकार विवाहको दिनमा मात्र हुन्छ । तामा, सुन आदि धातुहरू पवित्र एवं देवीदेवताका स्वरूप मानिन्छन् ।
खुट्टाको पानी खाने बाध्यता होइन श्रद्धा हो, लक्ष्मी र विष्णुको दर्शन हो । वीरेन्द्र सरकारको निधनमा हजारौँ युवाहरूले कपाल खौरिएर शोक व्याक्त गरे । अटलविहारी वाजपेय भारतका परराष्ट्रमन्त्री हुँदा नेपालको भ्रमणका क्रममा वीरेन्द्रलाई ढोगिदिए । यस घटनालाई लिएर भारतमा समेत कडा टिकाटिप्पणी भयो । कुश हातमा लिएर दियो, कलशलाई साक्षी राख्दै कन्याको बुबा आमाले छोरीलाई हस्तान्तरण गरिदिन्छन् ।
श्रद्धा, धर्मको निर्देश, परम्पराको प्रचलनलाई सतहीरुपमा व्याख्या गर्न हुँदैन । कुश पवित्र र ऊर्जाशील भएकाले दुबैको जीवनमा सुख, कुशाग्र वुद्धिका सन्तान जन्माउन सकून् भन्ने कामना गरिन्छ । विहेमा वर–वधूलाई रातो कपडा विछ्याएर राखिन्छ । रातो ऊर्जाको कारण हो, अर्कोतिर कन्याको महिनावारी भएमा विवाह रोकिन सक्छ । कन्यालाई लक्ष्मीको रुपमा हेरिने हुँदा नछुन भए पनि विवाह गराइन्छ ।
विवाहको दिन अग्नि नजुरे पनि होम हाल्न मिल्छ, अन्नमा टेक्न हुन्छ, बत्तीमा कुञ्चन मिल्छ किनकि उनीहरूलाई विष्णु र लक्ष्मीको स्वरूप मानिन्छ । बिहेमा खेलिने जुवाले, जूठो खुवाउने, उचालेर ठाउँ साँट्ने कार्यले आत्मीयता बढाउन सहयोग गर्छ । अबदेखि हाम्रो साथ र श्वास एउटै हो भन्ने कुरालाई प्रष्ट पार्दछ ।
विवाहपछि श्रीमान् र श्रीमतीसँगै बस्दा, हिँड्दा, सन्तान जन्माउँदा कुरा काटिँदैन । साथै बसेर धार्मिक अनुष्ठानसँगै गर्नुपर्छ सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्छ । तनु विस्तारे धातुमा ‘सम्’ उपसर्ग लागेपछि सन्तान शव्द बन्दछ । राम्रोसँग फैलनु अर्थात् विस्तार हुनुलाई सन्तान भनिन्छ । सन्तान समाजको अभिन्न अ∙ हो, समस्या निवारण गर्ने औषधि हो । विवाहका जन्तीहरु सामाजिक साक्षी हुन् ।
सन्तानलाई तिम्रा बुबाआमा यी हुन् भन्ने कानुनी आधारका लागि जन्तीको आवश्यकता पर्छ । धर्म र समाजका लागि विवाह वास्तवमा मुटु र फोक्सो जस्तै महत्वपूर्ण हुन्छन् । बिहे गर्न घर, समाज तयार नहुँदा कोटम्यारिज (अदालती विहे) गर्ने चलन छ । मागी विवाहमा लग्नपत्रिका लेखिन्छ । शास्त्रसम्मत जीवनका लागि ‘लग्नपत्रिका’ महत्वपूर्ण छ । लग्न पत्रिकालाई जगियामा च्यात्नुहुँदैन सुरक्षित रूपमा राख्नुपर्दछ ।
स्वयम्बर र सिन्दूर लगाउने उचित समय कीटान गरेर लेखिएको प्रणयसूत्रमा बाँधिएको शुभ समयको जानकारी दिने धार्मिक दस्तबेज नै लग्नपत्रिका हो । धर्मलाई आधार मानेर आकाशीय पिण्डको प्रभावलाई ध्यानमा राखेर जीवन जीउने पक्का भएको जानकारी दिन लिपिबद्ध गरेको पत्र हो । वरले वधूलाई लग्नको समयमा ‘सिन्दूर’ लगाएर नयाँजीवनको प्रारम्भ गर्दछन् । सिन्दूर लगाउँदा भनिने– ॐ सुम∙लीरियं वधूरिमां समेत पश्यत । सौभाग्य स्यै दत्वायथास्तं विपरेतन मन्त्रले म∙लको कामना गरिन्छ । लग्न, सिन्दूर र जन्तीले बिहेका सामाजिक र आध्यात्मिक पक्षमा अत्यन्त महत्व राख्छन् ।
अस्थिर राजनीति, आर्थिक अभाव, विदेशी रोजगारले प्रविधिको दुरुपयोग आदिले विवाहको महत्वमा तुषारापात गरेको छ । बेहुलाबेहुलीको सम्बन्ध राष्ट्र र अन्ताराष्ट्रका सम्पत्ति हुन्छन् जस्तै लक्ष्मीप्रसाद देवकोटा, जङ्गबहादुर, अरनिको, सीता आदि बाबु र आमाका मात्र निजी सम्पत्ति होइनन् ।
विवाहप्रतिको हेलचक्रयाईले, परिवार समाज र संस्कृतिमा चोट पु¥याउने भएको छ । विधिपूर्वक विवाह गरी धर्म, संस्कृति, इतिहास र समाजलाई बचाऔँ । भविष्य, सन्तति र संस्कारलाई संरक्षित गर्दै धर्मलाई बचाऔँ । भूगोल, धर्म र इतिहास विरुद्धको विवाहले हरेक परिवार परिबन्धमा परेको छ, प्रत्येक समाजले समस्या भोगेको छ, सबै राष्ट्रहरुमा राष्ट्रियता कमजोर बनेको छ ।