६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

नेपथ्य अष्ट्रेलिया टुरको डार्बिनमा भब्य सुरुवात

नेपथ्य अष्ट्रेलिया टुरको डार्बिनमा भब्य सुरुवात
अ+ अ-

डार्बिन (अष्ट्रेलिया) । सरस्वती पुजाको अघिल्लो दिन नेपालमा माघे ठिही चलिरहेकै बेला अष्ट्रेलियाको डार्बिन हपहपी गर्मीमा रापिएको थियो ।

यसैबीच भर्खरै नयाँ स्वरुप पाएको ‘डार्बिन इन्टरटेनमेन्ट सेन्टर’मा बुधबार ठीक ७ बज्दा चिरपरिचित घडी देखिन सुरुभयो । त्यसको आधा घन्टामै यो वर्ष अष्ट्रेलिया यात्राकै पहिलो नेपथ्य आवाज गुञ्जिन सुरुभयो ।

दर्शक दीर्घा डार्बिनमा पढ्न वा बसोबासका निम्ति आइपुगेका नेपालीहरुको मिश्रित भीँडले भरिएको थियो । कन्सर्टको सुरुवात नेपथ्यको ताजा सिर्जना ‘भटभटे’बाट भयो । गीत चलिरहँदा काठमाडौंको अस्तब्यस्त सडकमा छायांकन गरिएको त्यसको म्यूजिक भिडियो पछाडि पर्दामा देखाइएको थियो । त्यसले हाल डार्बिनमा बस्दैआएका थुप्रै काठमाडौका पुराना वासिन्दालाई घरको सम्झनाले घच्घच्याएको देखिन्थ्यो ।

त्यसपछि ब्याण्डको प्रारम्भिक दिनदेखिकै चर्चित गीत ‘छेक्यो छेक्यो’ सुनाइएको थियो । यसअघि सन् २०१९ मा नेपथ्यले यसैगरि अष्ट्रेलियाको टुर गरिरहँदा उक्त गीतका सर्जक शुक गुरुङको नेपालमा देहावसान भएको थियो । परदेशमा यो सुनेर दुःखी भएको ब्याण्डले लगत्तैको मेलबर्न कन्सर्टमा स्टेजबाटै गुरुङप्रति श्रद्धान्जली अर्पण गरेको थियो ।

यसपटक डार्बिनमा कन्सर्ट आयोजना हुनुभन्दा ठीक एकदिन अघि चार वर्ष अघिको त्यहि भिडियो रेकर्डलाई ब्याण्डले आफ्नो आधिकारिक यु ट्युब च्यानलबाट रिलिज गरेको थियो ।
त्यसपछि ‘भेँडाको ऊनजस्तो’ गीतसँगै हल भित्र हिउँको वर्षा हुनथालेपछि तातो डार्बिनका वासिन्दाहरु रमाउँदै नाच्न सुरुगरेको देखिन्थ्यो।

‘तपाइँहरुलाई यहाँ देख्दा मलाइ गाउँमै पुगेको भान पर्दैछ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘अब म तपाइहरुलाई हाम्रो उतै गाउँको रोदीघरतिर लैजान्छु ।’ त्यसपछि ‘लामपाते सुरती’ गाइरहँदा दर्शकहरु गाउँकै सम्झनाले भावुक बनेर रमाएका देखिन्थे ।

‘जोमसोमे बजार’ र ‘शिरफूल शिरैमा’ जस्ता गीतहरु गाउँदा पछाडि दृश्यमा पहाडी अनि हिमाली भेगका यात्राको क्रममा खिचिएका दृश्य देखाइएको थियो । त्यसले दर्शकलाई पनि जोमसोम र धौलागिरितिरै पु-याएको थियो ।

‘हाम्रा सुन्दर डाँडाकाँडाहरु पैदल घुम्ने अवसर पाएकोमा म आफुलाई भाग्यमानी ठान्छु,’ अमृतले भने, ‘अर्को पटक तपाइहरु पनि नेपाल पुग्दा त्यसैगरि गाउँ ठाउँ पुग्ने अवसर नगुमाउनु होला।’

भर्खरै नेपालमा ‘मानवताको लागि संगीत’ नारा बोकेर सिंगो मुलुक भ्रमण गरेको नेपथ्यले यो वर्ष पुरै त्यसै नाराका साथ आफूलाई अघि बढाउने संकल्प लिएको छ । संगीतका माध्यमबाट मानवताको प्रवद्र्धन हुनसकोस् भन्ने भावनाले यसो गरिएको हो ।

बुधबारको कन्सर्टकै क्रममा नेपथ्यको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ सुनाइरहँदा त्यसै संकल्पको झझल्को पछाडिको पर्दामा पनि देखिन्थ्यो । अष्ट्रेलियाका दर्शकहरुमाझ पनि मानवसेवा आश्रमबाट उद्धार गरिएकाहरुको दृश्य राखेर तयार पारिएको भिडियो नै पृष्ठभूमिमा प्रस्तुत गरिएको थियो ।

यो गीत सकिनेबित्तिकै अमृतले उपस्थित डार्बिनका दर्शकलाई मानवताको खातिर अघि बढ्न आव्हानगरेका थिए ।

त्यसपछिको चरणमा भने दर्शकहरुलाई उफार्नेगरि ‘जोगले हुन्छ भेट’, ‘रेशम’ र ‘तालको पानी’ जस्ता गीत प्रस्तुत गरिएको थियो । कार्यक्रमको अन्त्य भने राष्ट्रिय झण्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसूर्जे’ सुनाएर गरिएको थियो । त्यस क्रममा नेपालीहरु जता बसे पनि हाम्रो भाषा र संस्कृतिलाई जोगाएर राख्न अमृतले अनुरोध पनि गरेका थिए ।

‘यो कार्यक्रम हेरुन्जेल मनोरञ्जन मात्र नभइ पुराना दिनका याद र चेतनामूलक सन्देशले असाध्यै छोइरहेको थियो,’ डार्बिनका आयोजक सुबिन कँडेल भनिरहेका थिए, ‘कार्यक्रम हेर्नआएका सबैजसो दर्शकबाट असाध्यै उत्साहजनक प्रतिक्रिया पाइरहेको छु ।’

यसअघि नेपाल छाड्ने बेलामा ब्याण्डलाई अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले शुभकामना सन्देश पठाएकी थिइन् । त्यसैगरि अष्ट्रेलियामा ओर्लनेबित्तिकै राजधानी क्यानबेराबाट नेपालका राजदूत कैलाश पोखरेलले शुभकामनाका साथ स्वागतका सन्देश सम्प्रेषण गरेका थिए ।

यो यात्रामा कलाकार, प्राविधिक र व्यवस्थापक गरेर १३ सदस्यीय टोली सरिक छ ।

स्टेजमा भने सँधैझैँ अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

यसरी उत्तरको डार्बिनबाट सुरुभएको नेपथ्यको अष्ट्रेलिया श्रृंखला अब दक्षिणको ‘साउथ अष्ट्रेलिया’ राज्यतर्फ बढ्नेछ । त्यसको राजधानी एडिलेडस्थित ‘हिण्डले स्ट्रीट म्यूजिक हल’मा जनवरी २८ तारिख शनिबारका दिन नेपथ्यका गीतहरु सुनाइने छन् । त्यस हलमा चार वर्षअघि पनि नेपथ्य प्रस्तुत भएको थियो ।

एडिलेडपछि ब्रिसबेनको ‘फोर्टिच्यूड म्यूजिक हल’, क्यानबेराको ‘म्येनिंग क्लार्क हल, पर्थको ‘मेट्रो सिटी हल’, सिड्नीको ‘होडर्न पभिलियन’, मेलबर्नको ‘फोरम’हुँदै अन्तिममा ब्याण्डको यात्रा अष्ट्रेलियाकै पुछारतर्फको हुनेछ । बेग्लै टापुमा बसेको राज्य तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन यसपटक अष्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुती नेपथ्यले दिनेछ ।

तस्बिरहरु निरज अर्याल र आशिष अधिकारी र नेपालय