• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

हिमपातले कर्णाली र सुदूरपश्चिमको जनजीवन प्रभावित- फोटो फिचर



कर्णाली । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले जनजीवन कष्टकर बनेको छ ।

कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी, र बाजुरामा पनि हिमपात भएको छ । हिमपातका कारण त्यहाँका स्थानीयको जनजीवन कष्टकर बन्दै गएको स्थानीयले जानकारी दिएका छन् ।

उच्च हिमाली जिल्लामा हिमपातका कारण सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज पनि प्रभावित भएका छन् । हिमपात भइरहे पनि सबै सरकारी कार्यालय खुला रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले राससलाई जानकारी दिनुभयो ।

“नागरिकता बनाउन छिटपुटरुपमा सेवाग्राही आएकै छन् । चिसोबाट बच्न हामीले जुम्ला बजारका चोकचोक आगो बालेर ताप्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “चिसोबाट बच्ने उपायबारे पनि स्थानीयलाई सूचना गरिएको छ ।” हिउँ परिरहेकाले लामो तथा छोटो दूरीका सवारी यातायात सञ्चालनमा आउन नसकेको प्रजिअ केसरीले जनाउनुभयो ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले भारी हिमपातका कठ्याङ्ग्रिने चिसो बढेको बताउनुभयो । “हुम्लाको आजको तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झरेको छ । चिसो निकै बढेकाले हामी प्रशासनमा आगो बालेर बसेका छौँ तर सेवाग्राही एकजना पनि आएका छैनन् ।” हिमपातकै कारण यातायातको एकमात्र विकल्प हवाई सेवा पनि ठप्प भएको निमित्त प्रजिअ सुवेदी जनाउनुभयो ।

चिसोले ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन अध्ययन गर्ने बालबालिका प्रभावित भएका छन् । हिउँ पर्दा भने किसान हर्षित भएका छन् । सुक्खा खडेरीले हिउँदे बाली सुक्दै जाँदा चिन्तित बनेका किसान भने पहिलोपटक हिउँ परेपछि खुसी भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारी बताउनुभयो ।

हिउँदे बालीको उत्पादन वृद्धिका लागि कर्णालीमा पुस र माघमा हिमपात हुनुपर्ने यहाँका किसान बताउँछन् । चन्दननाथ नगरपालिका–३ जुम्लाका मन्नु बुढ्थापाले हिमपातले बढेको चिसोका कारण स्थानीयलाई हिँडडुल गर्न र पशु चौपायालाई दाना पानी दिन भने समस्या भए पनि अन्नबालीका लागि राम्रो भएको जानकारी दिनुभयो । हिमपातले गहुँ, जहुँ बाली सप्रिने र स्याउका बिरुवालाई फाइदा हुने बुढ्थापाले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायले जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भोलिसम्म हिमपातको सम्भावना रहेको सूचनाबमोजिम यहाँका नागरिकलाई आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरिएको बताउनुभयो । रासस