२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराधहरूको चरित्रमा बहुआयामिक फेरबदल आएको छ, आवश्यक रणनीति बनाउनूस्ः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना–प्रविधिको विकासले अपराधहरूको चरित्रमा बहुआयामिक फेरबदल आएको भन्दै बदलिँदो सुरक्षा चुनौतिको सामना गर्न आवश्यक रणनीति बनाउन निर्देशन दिनुभएको छ ।

सोमवार २२ औं सशस्त्र प्रहरी दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान विश्व परिवेशलाई मूल्याङ्कन गर्दै बदलिँदो सुरक्षा चुनौतिलाई सामना गर्नका लागि आवश्यक रणनिति बनाई सोहीअनुसार परिचालित हुन शसस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले सरकारको सुशासन र समृद्धिको दीर्घकालिन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शुन्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले जनताको मन मष्तिस्क जित्नेगरी कार्यक्षेत्रमा खटिँदै देश र जनताको सेवा र सुरक्षा प्रदान गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले शसस्त्र प्रहरीलाई हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरणहरू र जनशक्तिको अभाव रहेको भन्दै त्यसको लागि सरकारको तर्फबाट यथासम्भव पहल गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, नेपालको सीमा सुरक्षार्थ उत्तर–दक्षिण, पूर्व–पश्चिम सबैतिर परिचालन गर्न, त्यसका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिवद्ध छ । सशस्त्र प्रहरी बल, नेपालले आफूलाई प्राप्त सबै प्रकारका भुमिकालाई उच्च शाहस, इमान्दारीता एवं व्यवसायिकताका साथ सम्पादन गरिरहनुभएको कुरा हामी कसैबाट पनि लुकेको छैन । तपाईहरूले राजश्व संकलनमा पु¥याउनुभएको सहयोग र सुरक्षा, महत्वपूर्ण व्यक्ति तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानून कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जिउधनको सुरक्षा गर्ने काममा पुर्याउनुभएको महत्वपूर्ण योगदानको उच्च प्रशंसा गर्दछु ।

तपाईहरूलाई श्रोत र साधनको अभाव छ भन्ने कुरा हामी सबैलाई जानकारी छ । हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरणहरू र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुनेसमेत विश्वास दिलाउँछु । संवैधानिक सर्वोच्चता र कानूनी शासनको मान्यतालाई आत्मसात गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको रक्षा एवं जनताको जिउधनको सुरक्षा गर्ने, सामाजिक सद्भावको विकास र समय परिस्थितिअनुसार नेपाल सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी अनुशासित, नैतिकवान, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन सशस्त्र प्रहरी बलका सम्पूर्ण अधिकृत र कर्मचारीहरूलाई विशेष निर्देशित गर्दछु ।

मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शुन्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्दै जनताको मन मस्तिष्क जित्ने गरी कार्यक्षेत्रमा खटिँदै देश र जनताको सेवा र सुरक्षा प्रदान गर्ने कार्यमा तपाईंहरूलाई सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

सूचना–प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्र पारेको छैन, अपराधहरूको चरित्रमा समेत बहुआयमिक फेरबदल आएको छ । तसर्थ, वर्तमान विश्व परिवेशलाई मूल्याङ्कन गर्दै बदलिँदो सुरक्षा चुनौतिलाई सामना गर्नका लागि आवश्यक रणनीति बनाई सोहीअनुसार परिचालित हुनसमेत आग्रह गर्दछु । नेपाल सरकारको सुशासन र समृद्धिको दीर्घकालिन लक्ष्यलाई सफल बनाउन तपाईंहरूले आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भुमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले गहिरो विश्वास लिएको छु ।’

प्रधानमन्त्री दाहालले सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी अनुशासित, नैतिकवान, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिनुभयो ।