२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले सरकारी निवास छाडेसँगै देउवाको लागि बाटो खुल्यो (भिडियो सहित)



अ+ अ-

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर आफ्नो नीजि निवास भक्तपुरस्थित बालकोट जानुभएको छ । बुधबार निर्वतमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नु भएको हो । 

सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गरेसँगै राष्ट्रपतिले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । देउवा प्रधानमन्त्रीको सपथ ग्रहण गरी आफ्नै नीजि निवास बुढानिलकण्ठमा जानुभएको थियो । ओलीले सरकारी निवास छाडेसँगै देउवाको लागि सरकारी निवास बालुवाटारमा आउन बाटो खुलेको छ ।

बालुवाटार छाड्दैगर्दा ओलीको समर्थकहरुको भीड लागेको थियो । मंगलबार नै एमाले नेताहरुले हजारौँ मोटर साइकल र गाडीका साथमा ओलीलाई स्कर्टिङ गरी बालकोट पु¥याउने उद्घोष गरेका थिए, भने नेताहरुको निर्देशन अनुसार सयौँको संख्यामा एमालेका नेता, कार्यकता ओलीलाई स्वागत गर्नका लागि सरकारी निवास बालुवाटारदेखि नीजि निवास बालकोटसम्मै लामबद्ध भएका थिए ।

युवा तथा विद्यार्थीहरु र पार्टी कार्यकर्ताहरु केपी शर्मा ओलीको नाम अंकित पोष्टर, पार्टीको झण्डा र बाजागाजासहित उपस्थित भएका थिए भने बालुवाटारदेखि बालकोट सम्मै ओलीको अघि र पछि लामबद्ध भएका थिए ।

बालकोटामा ओलीलाई स्वागत गर्न समर्थक तथा शुभेच्छुक र स्थानीयहरुको घुइँचो लागेको थियो । स्थानीयले उहाँलाई पुष्पगुच्छा प्रदान गरेका थिए । पत्नी राधिका शाक्यसहित नीजि निवास पुग्नुभएको उहाँको पक्षमा निवासमा पनि चर्को नाराबाजी भएको थियो ।

ओलीले समर्थक तथा शुभेच्छुकहरुलाई बरण्डाबाट अभिवादन गरेका थिए । सरकारको ४३ औँ प्रधानमन्त्रीको रुपमा कुशलतापूर्वक कार्यकाल सफल पारेको भन्दै युवाहरुको तर्फबाट युवा संघका अध्यक्ष किरण पौडेलले अभिन्दन पनि गरेका थिए ।

ओलीको पक्षमा नाराबाजी गर्ने कार्यकताहरुले सर्वोच्च अदालत, सरकार र गठबन्धनका नेताहरु प्रति अभद्र नारावाजी समेत गरेका थिए । ओलीको गृहप्रस्थानले सडक भने अस्तव्यस्त भएको थियो । सर्वसाधारणले जामको सास्ती भोग्नुपरेको थियो ।