२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखमा उम्मेदवारी दर्तापछि कांग्रेस सांसद न्यौपाने भन्छिन् – सांसदकै मतले जित्छु



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली कांग्रेसका नेत्री ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतकको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएकी हुन् ।

सभामुख पदमा मनोनयन दर्ता गरेपछि सांसद न्यौपानेले आफूले सभामुख जित्ने प्रतिक्रिया दिएकी छन् । उनले बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभामुखको चुनाव जित्ने बताइन् ।

‘म प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्छु। चुनावमा हार र जित त हुन्छ नै,’ उनले भनिन्, ‘सांसदहरूले दिने मतकै आधारमा सभामुख जित्छु ।’

उनको प्रस्तावकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला छन् । उनको जन्म २०१६ सालमा दाङमा भएको थियो । उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएकी हुन् ।

प्रतिनिधि सभामा कांग्रेसका ८९, एकीकृत समाजवादीका १०, जसपाका १२ र लोसपाका ४ जना सांसद छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई विश्वासको मत दिएका तर सरकारमा सहभागी नभएका दलहरूको समर्थन जुटाएर सभामुखमा न्यौपानेलाई अघि सारेका छन् ।

यसअघि आजै सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरेले पनि मनोनय दर्ता गराएका छन् । प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।

त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ ।