• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने ★   टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै ★   देउवासँगको छलफलपछि सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता ★   भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक हौँ: पूर्वराष्ट्रपति भण्डारी

महासङ्घले पत्रकार पौडेलको निधनको शोक १३ दिनसम्म मनाउने



काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकार त्रिभुवन पौडेलको विमान दुर्घटनामा भएको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने भएको छ ।

महासङ्घका केन्द्रीय सदस्य पत्रकार पौडेलको निधनमा महासङ्घले माघ २ गते सोमबार महासङ्घका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं सोमबारदेखि नै १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ ।

महासङ्घले आज शोक विज्ञप्ति जारी गरी स्व पौडेलसहित विमान दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकको यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गरेको छ ।

महासङ्घका केन्द्रीय सदस्य पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासङ्घ स्तब्ध र शोकमग्न भएको छ । आइतबार बिहान काठमाडौँबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको निधन भएको हो । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए ।

विसं २०७४ मा महासङ्घको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासङ्घ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा रही योगदान दिएका थिए । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक÷सम्पादकका रूपमा कार्यरत थिए ।

स्व पौडेलका आमा, श्रीमती र एक छोरा छन् । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासङ्घले उदीयमान पत्रकार नेता गुमाएको महासङ्घको भनाइ छ । कास्की जिल्लाबाट पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको महासङ्घले जनाएको छ ।