२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार तीव्र आर्थिक विकासमा लाग्नुपर्छ– उपराष्ट्रपति पुन



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘

मगर, थारु र छन्त्याल समुदायको प्रमुख सांस्कृतिक चाड एवं नेपालीहरूको महत्त्वपूर्ण चाड माघेसकराती÷माघेसङ्क्रान्ति÷माघी पर्व–२०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय र प्रदेश सरकारले जनसुरक्षा, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि तीव्र गतिमा काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

लोकतन्त्रलाई सुदृढ् गर्ने महत्त्वपूर्ण कडिको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन हालै सम्पन्न भई नयाँ सङ्घीय सरकार र प्रदेश सरकारहरू बनिसकेका सन्र्दभ उल्लेख गर्दै उपराष्ट्रपति पुनले ती सरकारहरूले तीव्र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले हरेक समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र धार्मिक एवं सांस्कृतिक चाडपर्वहरू रहेको बताउनुभयो ।

“विभिन्न समुदायमा मौलिकताका साथ मनाइने पर्वहरू नेपालीका साझा चाडपर्व हुन्, सूर्य धनु राशिलाई छाडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर मगर, थारु र छन्त्याल समुदायले नयाँ आर्थिक वर्ष प्रारम्भको रूपमा मनाउने माघेसङ्क्रान्ति पर्वको प्रकृतिसँग मुख्य सम्बन्ध छ”, शुभकामना सन्देशमा भनिएको छ ।

विभिन्न समुदायले आ–आफ्नो परम्पराअनुसार मनाउने यस पर्वले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गर्नुका साथै पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदै आएको उहाँको भनाइ छ । सन्देशमा भनिएको छ, “यसै चाडबाट दिन लामो र रात कम हुन थाल्छ ।

अन्धकार कम र सूर्यको प्रकाश तेज हुँदा प्राणीको चेतना र कार्यशक्ति वृद्धि हुन्छ, यसकारण हामी यो पर्वलाई सकारात्मक काम र ऊर्जाको थालनी भन्न सक्छौँ, माघेसकराती÷माघेसङ्क्रान्ति÷माघी पर्व–२०७९ ले हामी सबैलाई समृद्ध मुलुक निर्माणका लागि प्रेरणा प्रदान गरोस् ।” रासस