१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलले आफन्तलाई राजदुत बनाउँदा परराष्ट्र सम्बन्ध बिग्रियोः सांसदहरु



अ+ अ-

काठमाडौँ । सांसदहरुले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन् ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरुले वैदेशिक रोजगारीमा गएका श्रमीकहरुको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुले कुटनीति जानेको व्यक्ति राजदुतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध राम्रो बन्न नसकेको बताए । उनीहरुले राजदुत नियुक्ति गर्दा आफन्तहरु छान्नु नहुने धारणा राखे । बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले वैदेशिक रोजगारीमा गएकाहरुको निधन हुँदा शव ल्याउन किन ढिलाइ भइरहेको छ ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा गएको समस्या छिटो र छरितो ढंगबाट गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा गएका युवाहरुलाई धेरै समस्या आउने गरेको सुनिरहेका छौँ । जुन वैदेशिक रोजगारीमा जाँदा मृत्यु भएकाहरुको शव ल्याउन पनि धेरै समय लाग्ने समस्या भइरहेक छन् । यसलाई कसरी हटाउने, छिटो छरितो गर्ने भन्ने सोच्नुपर्छ ।’

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले विदेशी लगानी नभित्र्याइकन देशलाई समृद्ध बनाउन नसकिने बताउनु भयो । उहाँले वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा धेरै समस्याहरु रहेको भन्दै समस्याको समाधान गरेर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । उहाँले एउटा सरकारले गरेका निर्णयहरु अर्को सरकारले तोड्ने गरेकै कारण कतिपय विकास निर्माणका गतिविधिहरुमा समस्या हुने गरेको बताउनु भयो । उहाँले राजनीतिक चलखेल नगरी विकासका काम अघि बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले विदेशी लगानी नल्याकन देशलाई समृद्धिको दिशामा बढाउन सक्दैनौँ । तर वैदिशक लगानी भित्र्याउने सन्दर्भमा धेरै खालका समस्या भइरहेका छन् । झापाको औद्योगिक पार्क निर्माण गर्ने भनेर केपी ओली सरकारको पालामा निर्णय भयो । अर्को सरकार आएपछि अघि बढ्न सकेन । डिपिआरसमेत भइसकेको अवस्थामा अहिले सम्झौता पनि हुन सेकन । चीनको लगानी आउने भइसकेपछि भारतले रोक्यो, शेरबहादुर देउवाले रोक्नुभयो भन्ने प्रचार बाहिर आएको छ । यसो गर्दा विदेशी लगानी कर्ताहरु नेपालमा लगानी गर्न आकर्षित हुन्छन् र रु चलखेलका कारण यस्तो किन भइरहेका छन् ।’

बैठकमा बोल्दै नेकपा एमालेकी सांसद दीपा गुरुङले उत्पादन गर्न नसकेसम्म लगानी गर्नसक्ने अवस्था नहुने बताउनु भयो । उहाँले उत्पादन गर्दा आउने समस्यालाई समाधान गरेर अघि बढ्दै कर्मचारीहरुको पूर्णता दिइ कामहरुमा छिटो र छरितो बनाउनुपर्ने बताउनु भयो
उहाँले भन्नुभयो, ‘जबसम्म हामीले उत्पादन गर्न सक्दैनौँ । तबसम्म लगानी गर्न सक्दैनौँ । समस्या आउँछन् तर त्यसलाई निराकरण गर्ने बाटो पत्ता लगाउनु पर्छ । त्यसमा कमजोरी छ । कर्मचारीलाई काम गर्ने सहज वातावरण मिलाउनु पर्छ । वैदशिक समस्याको समाधानको बाटो पत्ता लगाउनु जरुरी छ ।’

बैठकमा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले लगानी गर्न उद्यमीहरु उत्साहित नदेखिएको भन्दै उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले विदेशी लगानी भित्र्याउने कुरामा परराष्ट्र मन्त्रालयले नै आवश्यक नीति बनाएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले नेपालसँग आयात मात्रै गर्ने तर निर्यात गर्ने कुरा केही नरहेको भन्दै उत्पादन बढाउने कुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले विदेशमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन ढिलाइ भइरहेको बारे सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘लगानी गर्ने कुरामा नेपालीहरु त्यत्ति धेरै उत्साही देखिँदैनन् । यहाँ उद्यमीहरु । निर्यात गर्नेकुरामा परराष्ट्र मन्त्रालयले नै त्यसलाई नीति बनाउने कुरामा समन्वय र पहल गर्नुपर्ने छ । हामी धेरै सामान आयात गर्छौं तर पठाउने कुरा केही छैन । हामीले विदेशसँग उत्पादनमा प्रतिष्पर्धा गर्नसक्ने आधार नै छैन । विदेशमा मृत्यु भएकाहरुको शव नेपालमा ल्याउन धेरै नै समस्या भएको छ । विदेश गएका महिलाहरुमा पनि धेरै नै समस्या भएको देखिएको छ ।’

बैठकमा लोकतान्त्रिक समाजावदी पार्टी, नेपालका सांसद शेखरकुमार सिंहले नेपाललाई आत्मनिर्भर बनाउन परराष्ट्र मन्त्रालयले आफ्नो भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले ४५ वर्ष अगाडि स्थापना गरिएका दुतावासहरुमा जनशक्ति थपेर सबल बनाउनुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाललाई आत्मनिर्भर बनाउन परराष्ट्र मन्त्रालयले आफ्नो भुमिका खेल्नुपर्छ । कुनैपनि सरकारको अनुहार फेर्ने भनेकै यही मन्त्रालयले हो । परराष्ट्र नीति सफल भयो भने त्यो सरकार पनि सफल हुन्छ । ४५ वर्ष अगाडि स्थापना गरिएका दुतावासहरुमा जनशक्ति थपेर सबल बनाउनु पर्छ । पहिलाकैले अब पनि कसरी चल्न सक्छ ?’

बैठकमा नेकपा एमालेका सांसद रामचन्द्र राईले अझैपनि नीतिगत व्यवस्थामा भएका कुराहरुको कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बताउनु भयो । उहाँले अन्तरमन्त्रालयको समन्वय पर्याप्त हुन नसकेको बताउनु भयो । उहाँले नीतिले भनेअनुसारको कुटनीतिक सम्बन्ध स्थापना गर्न नसक्दा विदेशी मुलुकसँग नेपालको सम्बन्ध बिस्तार हुन नसकेको बताउनु भयो । उहाँले नेपालमा रहेका विदेशी राजदुतहरुले नेपालका राष्ट्रपति प्रधानमन्त्रीसँग सिधा सम्पर्क स्थापना गर्न सक्ने भएपनि नेपाली राजदुतहरु भने सिधा सम्बन्ध बिस्तार गर्नसक्ने स्थितिमा नहुनु राम्रो नभएको बताउनु भयो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्कीले वैधानिक रुपमा वैदेशिक रोजगारीमा जानेहरुको समस्या खासै नरहेको भएपनि अवैधानिक रुपमा जाने नेपालीहरु भने धेरै समस्यामा पर्ने गरेको बताउनु भयो । उहाँले उनीहरुको उद्धार गर्नेकुरा चुनौतिको विषय बनेको बताउनु भयो । फरक प्रसंगमा उहाँले नेपालमा राहदानी लिनका लागि सर्भरको क्षमता विकास गर्नु जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा जानेहरुमा वैधानिक रुपमा जाने मानिसहरुमा त्यत्ति समस्या आएको छैन । तर अवैधानिक रुपमा विदेश जानेहरुको समस्या डरलाग्दो छ । उनीहरुलाई उद्धार गर्ने चुनौति हाम्रासामु छन् । राहदानी लिनका लागि सर्भरको क्षमता विकास नगरीकन समस्या समाधान हुने देखिँदैन ।’

बैठकमा नेकपा एमालेका सांसद सोनाम गोल्जेन शेर्पाले नेपालको परराष्ट्र कुटनीति धेरै नै कमजोर रहेको बताउनु भयो । उहाँले राजदुत नियुक्ति गर्दा कुटनीति जानेका व्यक्ति नभइ राजनीतिक दलहरुले आफन्तहरुलाई स्थान दिँदा परराष्ट्र सम्बन्धमा दरार पैदा भएको बताउनु भयो । उहाँले कस्तो व्यक्तिलाई राजदुत नियुक्त गर्ने भन्नेबारेमा स्पष्ट कानून बनाउनुपर्ने माग गर्नुभयो ।

सांसद शेर्पाले हरेक दुर्गम जिल्लामा इलाका प्रशासन कार्यालयमा अख्तियार प्रतियोजन गरी राहदानी उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो ।