३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता

राजेश्वर नेपालीः मुर्झाएको छैन क्रान्ति चेत

राजेश्वर नेपालीः मुर्झाएको छैन क्रान्ति चेत
अ+ अ-

दुःख पाए, एक दिन सुख पनि पाउँछ,
भोको, नाङगो, गरिबले जय–जय मनाउँछ ।
जोर, जुलुम समाप्त भई बन्धुत्व बनाउँछ,
निरङ्कुशी शासन भए, प्रजातन्त्र आउँछ ।
(विसं २०२१ फागुन ७)

……………………………………………………………………

शान्ति छ को यहाँ, छैन कहाँ क्रान्ति,

कलह, द्वेष, इष्र्या र अब व्याप्त छ महाभ्रान्ति (विसं २०२६ फागुन २२)

घनघोर पञ्चायतमै यस्तै र अझ योभन्दा क्रान्तिकारी कविता र विचार लेख्न कहिल्यै थाक्नुभएन राजेश्वर नेपाली । देखेको, भोगेको र बिझेको कुरा लेखेकै आधारमा जेलनेल, यातना र तमाम प्रातडना सहनुभयो तर लेख्न र बोल्न छोड्नुभएन । दुई वर्षयता वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी नेपालीले लेख्नु भएन र केही समय त बोल्नुसक्नु पनि भएन ।

प्रोस्टेड क्यान्सरबाट ग्रस्त भएपछि ७९ वर्र्षीय नेपालीको पछिल्लो दुई वर्ष उपचारकै लागि अस्पताल धाउनमै बित्यो । रोगले सताउन थालेपछि एक वर्षमा छ पटक त भारतको राजधानी नयाँदिल्ली धाउनुप¥यो । उहाँ करिब एक महिनाअघि मात्रै भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गरी घर फर्किनुभएको छ ।

उहाँको उपचारमा संलग्न स्वास्थ्यकर्मी महेन्द्रप्रसाद साहले क्यान्सरको निदान भए पनि स्वास्थ्य अवस्था निकै नाजुक रहेकाले घरमै हेरचाह गर्न सुझावसहित अस्पतालले नेपाल पठाएको थियो । अहिले स्वास्थ्यमा करिब ४०/४५ प्रतिशत सुधार भइसकेको साहले जानकारी दिनुभयो । “उता (दिल्ली) बाट फर्किंदा हामी सबै चिन्तित थियौँ । तर अहिले निकै सुधार हुँदै गएको छ”, साहले भन्नुभयो, “सुन्निएको शरीर, बोल्न नसक्ने, दिनमै १०/१२ पटक दिसापिसाब गर्ने, एकदमै नाजुक अवस्था । अहिले भने निरन्तर सुधार हुँदै गएको छ । अब चाँडै उहाँ हिँड्ने अवस्था बन्छ ।”

वरिष्ठ पत्रकार नेपालीका छोरा राघवेन्द्र साहले पनि बुबाको स्वास्थ्यमा निकै सुधार हुँदै गएको जानकारी दिनुभयो । उहाँले हाल देखिएको सुधारले आफूहरु निकै आशावादी बनेको बताउनुभयो । अहिले नेपालीको स्वास्थ्यप्रति चिन्ता र चासो जाहेर गर्दै दिनहुँ मानिसहरु भेट्न जान्छन् तर नेपाली भने देशको ‘स्वास्थ्य’ प्रति चिन्ता र चिन्तन जाहेर गरेर फर्काउनुहुन्छ ।

अहिले वरिष्ठ पत्रकार नेपालीको स्वास्थ्य अवस्थाबारे चिन्ता राख्ने आफन्त, शुभचिन्तकलगायत सरोकारवालाहरु घरमै गएर स्वास्थ्यलाभको कामना गरिरहनुभएको छ । स्वास्थ्यलाभ गर्न पुग्नुभएका नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मोनिका झा पनि उहाँको स्वास्थ्यमा सुधार भएर पुनः आफ्नो बौद्धिक लेखन कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुहुन्छ । “शरीर हो, समस्या त हुन्छ”, झा भन्नुहुन्छ, “तर उहाँको स्मरण शक्ति उस्तै छ, चाँडै नियमित काममा फर्किनुहुन्छ भन्नेमा हामी निकै आशावादी छौँ ।”

स्मरण दुरुस्तै, जुझारु चेत उस्तै

आफ्नै निवासभित्र एउटा कोठामा पल्टिरहेको छ प्रजातान्त्रिक आन्दोलनको जिउँदो इतिहास । समयको बहाव, समकालीन समाजलाई ठीक समयमा ठीक ढङ्गले बुझ्ने र त्यसमा अविचलित रहने त्यो स्वभाव, सामान्य मस्तिष्कभन्दा पहिले नै सोच्ने र मुखरित गर्ने त्यो जुझारु चेतले त्यहाँ पुग्ने जो कोहीलाई पनि भावुक बनाउँछ । प्रजातान्त्रिक आन्दोलन, साहित्य र पत्रकारिता, देशभित्रका सिमान्त आवाज, भिन्न अस्तित्वहरुको समन्यायिक समानताको वकालत गर्ने, देशभित्रै विशिष्ट एंव फरक पहिचान बोकेको ‘मधेस’ को आत्मसम्मान खोज्ने अकण्ठ आत्मविश्वासका उहाँ सबैका प्रेरणापुञ्ज हुनुहुन्छ ।

दाउरा सुरुवाल मात्र होइन, धोतीलगायत विविध वेशभूषा, विविध भाषाभाषी, पहाड र पहाडी मात्रै होइन, मधेस र मधेसीमा पनि नेपाल र नेपालीपनप्रति उत्तिकै गौरवबोध, राष्ट्रप्रेम र राष्ट्रवाद छ भनेकै, लेखेकै भरमा राज्यसत्ताको ‘संस्थापन पक्ष’ ले सधैँ बागी करार गरेको एक योद्धामा आज पनि उस्तै जुझारुपन, उस्तै चिन्तन र चेतना, उस्तै भीष्म प्रतिज्ञा ।

शरीर हो, जुनसुकै बेला गल्न र ढल्न सक्छ । यो कठोर तर शाश्वत सत्य हो । नेपालीको भौतिक शरीर पनि शिथिल छ अहिले । तर उहाँको कुरा सुन्दा लाग्यो, त्यो क्रान्ति चेत र स्वाभिमान अझै मुर्झाएको छैन । राणाविरोधी आन्दोलन, मुक्ति वाहिनी सेनाको हुलाकी, २००७ सालका स्वतन्त्रता सेनानी बुबा स्व रामदुलार साहको योगदान र प्रभाव, २०१८ कात्तिक १६ गतेदेखि परिवर्तनको हतियार कलमलाई बनाउने निधो र तत्पश्चात्का आरोहअवरोध, यातना, सङ्गत, इतिहासको सूक्ष्म पृष्ठभूमि, २०३६ सालको जनमत सङ्ग्रह, २०४२ सालको बम काण्ड, २०४६ सालको आन्दोलन र त्यसको तयारी, यस्ता अनेक घटना, परिघटना र सन्दर्भको स्मरण शक्ति उस्तै छ उहाँमा ।

सदाबहार ‘बागी’, तीनपटक जेल र ३९ पटक हिरासत

प्रजातान्त्रिक आन्दोलन, साहित्य र पत्रकारिताको ज्ञान भएका जो कोहीका लागि परिचित पात्र हुनुहुन्छ नेपाली । उहाँको क्रान्ति चेत, विद्रोही स्वभाव, समानता, समभाव र परिवर्तनप्रतिको निष्ठाबारे लेखिएकै, पढिएकै र सुनिएकै छ । विश्वमा क्षेत्रीयतावाद र जातिवादको जगजगी रहेको बेला शोषित, पीडित, उपेक्षित, असहाय र आवाजविहीनहरुको आवाज उजागर गर्दै राज्यलाई ध्यानाकर्षण गराउने, कलमको माध्यमबाट सिङ्गो नेपाल र मधेसलाई मुखरित गरिरहने उहाँलाई प्रेस स्वतन्त्रता सेनानी, एक कट्टर राष्ट्रवादी तर राज्यसत्ताको स्थायी ‘बागी’, परिष्कृत साहित्यकार आदि उपमा दिने गरिन्छ ।

धोतीकुर्ता, मधेसमा बोलिने हिन्दी भाषा, भारतीय सीमासँग जोडिएको भूगोलका कारण संस्थापन पक्षले सधैँ यहाँको राष्ट्रवादलाई शङ्काले हेर्ने र सौतेलो व्यवहार देखाउने गर्दथ्यो । नेपाली भने शब्द र कलममार्फत त्यसैको विरुद्धमा ‘आगो’ ओकल्ने उहाँले ‘मधेसवादी त हुँ नै तर अखण्ड नेपालवादी पनि हुँ’ भनेर समानता र सहअस्तित्वको कुरा लेख्न छोड्नु भएन । राज्यले त्यही लेखनबाट असुरक्षित महसुस गर्ने र थुन्ने गर्दथ्यो । उहाँ भन्नुहुन्छ, “म अहिंसावादी, गान्धीवादी, त्यसैले कहिल्यै बम र बन्दुकमा भरोसा रहेन”, नेपाली अहिले पनि भन्नुहुन्छ, “तर राज्यले मलाई हिंस्रक मान्ने, मेरा विचार, अभिव्यक्ति र लेखनमा हिंसा देख्ने । त्यसैले त होला थुनेको १”

नेपालीको मानसपटलमा अहिले पनि ताजै छ राजा महेन्द्रले २०१७ पुस १ मा जननिर्वाचित सरकार र संसद्लाई अपदस्त गरेको घटना एवं सन्दर्भ । “पुस १ पछि कांग्रेसले प्रजातन्त्र पुनस्र्थापनाको सङ्घर्ष गर्ने भयो । नेता सरोजप्रसाद कोइरालाले मलाई भारतको जयनगर बोलाएर नेपाली कांग्रेसको सशस्त्र सङ्घर्षमा सहभागी बन्न भन्नुभयो”, नेपालीले सुनाउनुभयो, “तर मेरो पिताजीले गान्धीसँगको भेट र प्रभावबाट अहिंसावादी भई काम गरेकाले म बन्दुक र बमले नभई कलममार्फत क्रान्तिमा लाग्छु भनेर प्रतिबद्धता जनाएँ । तैपनि राज्यले पटकपटक थुन्यो, यातना दियो ।”

उहाँ समाचार, विचार र साहित्य लेखेकै कारण पहिलोपटक २०२१ जेठ २७ गते र संविधान लेखनका लागि भएका आन्दोलनसम्म पटकपटक गरी तीनपटक जेल र ३९ पटक प्रहरी हिरासतमा पर्नुभयो । एक कालखण्ड त आफूले लेखेको पत्रिका नै बन्द गर्ने र अरूले लेखे पनि यसैले लेखेको होला भनेर प्रहरी प्रशासनले डराउने, धम्क्याउने गरेको उहाँले स्मरण गर्नुहुन्छ । परिवर्तन, लोकतन्त्र र समानताका पक्षमा लेखेका कारण मलाई असुरक्षा त छँदै थियो, मैले लेखेकै कारण १० वर्षमा आठपटक पत्रिका बन्द गर्ने काम पनि भयो ।

“कहिले हिन्दीमा लेखेको, कवितामार्फत विरोध गरेको त कहिले समाचार र विचार लेखेका कारण राज्यले मलाई पक्राउ गरेर चरम यातना दियो”, नेपालीले भन्नुभयो, “क्यान्सर ठीक हुँदा पनि शरीर उभिन सकेको छैन, त्यही यातनाको करामत त भोग्दैछु अहिले ।” विसं २०२०÷२१ तिर राष्ट्रिय समाचार समितिको धनुषा जिल्ला संवाददाता र पछि विभिन्न पत्रपत्रिकामा काम गर्नुभएका नेपालीको २०४० सालदेखि लोकमत साप्ताहिक पत्रिका प्रकाशित भइरहेको छ ।

‘सबैको देश, तब हुन्छ बेस’

छ दशक लामो पत्रकारिताको क्रममा जेलनेल र यातना भोगे पनि आफूजस्तै लाखौँको सङ्घर्ष र हजारौँ शहीदहरुको बलिदानीले गर्दा सङ्घीयता, गणतन्त्रसहितको परिवर्तन आएकामा नेपाली निकै खुसी हुनुहुन्छ । उहाँले नेपाल मधेसी, पहाडीलगायत सबैको देश भएकाले यसको विकासमा पनि सबैको योगदान हुनुपर्ने बताउनुभयो । ‘देश नेता र सांसदले मात्रै बनाउन सक्दैनन्, त्यसैले सबैको योगदान हुनुपर्छ’ भन्ने मत राख्दै आउनुभएका नेपाली पछिल्लो परिवर्तनको संस्थागत विकास कुराले मात्रै नहुने भएकाले काम गरेर देखाउनुपर्ने धारणा राख्नुहुन्छ ।

“विगतदेखि नै मैले देश एउटा भए पनि पहिचान, आवश्यकता र संवेदना फरकफरक छन्, त्यसको समान विकास र प्रतिनिधित्व हुनुपर्छ भन्दै आएको थिएँ । कतिपय सन्दर्भमा सबैलाई समेट्नुपर्छ नत्र बाहुनको मात्रै देश हुन्छ भनेको छु”, उहाँले स्मरण गर्नुभयो, “हजारौँ वीर शहीदहरुका बलिदानले गणतन्त्र र सङ्घीयता आएको छ । अब यसलाई संस्थागत गर्न पनि सबै मिल्नुपर्छ । अनि मात्रै सफल भइन्छ ।”

उहाँले दलहरुमा गणतन्त्र र सङ्घीयताअनुसार आचरण विकास हुँदै जानुपर्नेमा उल्टै बेमेल बढेको देखेर आफूजस्ता परिवर्तन पक्षधरलाई चिन्तित तुल्याएको बताउनुभयो । “संविधान आएको छ, अब नागरिकमा आशा जगाउँदै, त्यसलाई उत्पादनसँग जोड्ने नेतृत्वको खाँचो छ”, नेपाली भन्नुहुन्छ, “हाम्रो सम्भावना कृषि नै हो, तर मल कारखाना बनाउन, देशबाहिर पलायन हुने युवा जनशक्तिलाई रोक्न ध्यान गएको छैन । त्यसैले अब कृषि क्रान्तिको आवश्यकता छ ।”

बाँचियो भने त !

नेपालीले आफ्नो जीवनकालमा सके जति गरिसक्नुभएको छ । सञ्चारमाध्यम र विभिन्न २८ वटा साहित्यिक कृतिमार्फत पर्याप्त बोलिसक्नुभएको छ । तर पनि लेख्ने र बोल्ने रहर अझै बाँकी छ उहाँमा । अप्रकाशित कृतिहरुलाई पूर्णता दिएर प्रकाशन गर्ने र जनकपुरमा शहीद दुर्गानन्द झाको स्मारक बनाउने उहाँको चाहना छ । २०१८ माघ ९ गते राजा महेन्द्रमाथि जनकपुरमा बम प्रहार गरेका झालाई २०२० माघ १५ गते मृत्युदण्ड दिइएको थियो । प्रथम गणतान्त्रिक व्यक्तित्वका रुपमा परिचित झाको स्मारक बनाउन पहल भए पनि जग्गा अभावमा त्यो पूरा हुन सकेको छैन ।

त्यसैगरी २०४२ असार ५ र ६ गते काठमाडौँमा भएको बमकाण्डमा संलग्न भएको आरोपमा जनकपुरबाट पक्राउ गरी काठमाडौँ लगिएका नेपालीसहित १४ जनामध्ये बेपत्ता सातजनाको अवस्थाबारे लेखेर, बोलेर राज्यलाई जवाफ माग्ने उहाँको अर्को योजना बाँकी छ । “२०४२ सालमा बेपत्ता मेरा साथीहरु डा लक्ष्मीनारायण झा, सत्यनारायण साह, ईश्वर लामा, पदम लामा, सूर्यनाथ रान यादव, साकेतचन्द्र मिश्र र दिलीप चौधरीलाई साउन ४ गते बेपत्ता पारियो तर अहिलेसम्म खोजिएन, न त उहाँहरुको अवस्था बताइयो”, नेपालीले दुखेसो पोख्नुभयो, “भनि त दिनुप¥यो नि परिवारलाई !”

वरिष्ठ पत्रकार नेपालीले पत्रकारिताका सन्दर्भमा पनि आफ्नो एउटा सपना अहिले पूरा नभएको सुनाउनुभयो । “मैले आफ्नो लागि सरकार र पत्रकार सम्बद्ध संस्थाबाट केही माग्दिन तर भारतको पिआइबीजस्तै सरकारी नीति, कार्यक्रम, पहलकदमी र उपलब्धिका विषयमा आमसञ्चार माध्यम तथा पत्रकारलाई सम्पूर्ण जानकारी दिने एउटा साझा संस्था भइदिए हुन्थ्यो भन्ने मेरो सपना थियो । त्यो अहिलेसम्म पूरा भएको छैन ।”

र, जाँदाजाँदै भन्नुभयो, “बाँचियो भने फेरि बोल्छु, फेरि लेख्छु ।”
हामीले पनि उहाँका यिनै कविताका पङक्तिहरु सम्झेर बिट मार्यौँ,

दिनहुँ लाखौँ जन्मिने छन् कर्मभूमिको योगी,
बन्नै पर्छ एकले यहाँ, अर्काको सहयोगी । (विसं२०२५, पुकार कविता सङ्ग्रह)

रासस