२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको बैंकिङ्ग क्षेत्रमा नयाँ इतिहास निर्माण : चन्द्रप्रसाद ढकाल



अ+ अ-

काठमाडाैं । ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोवल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक भएको बताउनुभएको छ ।

सोमवार ग्लोवल आईएमइ बैंकले बैंक अफ काठमाण्डुसँगको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि मर्जरको नीतिलाई कार्यान्वयनमा ल्याउने ग्लोवल आईएमई बैंक मर्जर नीतिको लिडर बैंक भएको दाबी गर्नुभयो । उहाँले नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन भएको बताउनु भयो ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीचको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले दिनु भएको मन्तव्यको सम्पादित अंश

यो मर्जरसमेत गरेर हालसम्म ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहित कूल २१ वटा वित्तीय संस्थाहरु एउटै संस्थाका रुपमा एकीकृत गरेका छौं ।

नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि त्यसलाई पछ्याउँदै अघि बढेका हामी सरकारको यो नीतिलाई कार्यान्वयनमा ल्याउने लिडर पनि हौँ । हामी दुई प्लस दुई बराबर चार हैन पाँचको लक्ष्यसहित मर्जरमा गएकै कारणले हामी मात्र सफल भएका छैनौँ सरकारको यो नीतिको कार्यान्वयनबाट देशका अरु बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जानको लागि उत्साहित समेत गरेका छौँ ।

अर्काे पक्ष के पनि छ भने हाम्रा शेयरधनीदेखि निक्षेपकर्ता, ग्राहक सबैले हाम्रो मर्जर अभियानलाई सफल बनाउन ठूलो सहयोग र कतिपय अवस्थामा त्याग पनि गर्नुभएको कुुरा यस समारोहमा म जानकारी पनि गराउन चाहन्छु । त्यसैले आजको यस महत्वपूर्ण दिनमा म ग्लोबल आइएमई बैंकका संस्थापक शेयरधनीज्यूहरुदेखि अन्य सहयात्री बैंकका संस्थापक, साझेदार र सबै सहयोगी मित्रहरुलाई सम्मान र नमन गर्न चाहन्छु ।

ग्लोबल आइएमई बैंक कुल पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जालगायत धेरै आधारमा देशकै सबैभन्दा ठूलो बैंक भएको छ ।

मेरो अनुभवमा आकार या अंकमा ठूलो हुनु मात्र पनि सफलता होइन । आकारको यो वृद्धिले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकोस् भन्ने हाम्रो सोच हो ।

सबैका लागि बैंक भन्ने मूल मन्त्रका साथ मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानोदेखि ठूलासम्म, वित्तीय सेवा पु¥याउने बैंकका रुपमा अघि बढिरहेको ग्लोबल आइएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य हामीले लिएका छौँ ।

अब म मर्जर पछि ग्लोबल आइएमई बैंकको व्यवसायको आकारको झलक

– कुल पुँजी कोष ५७ अर्ब
– कुल निक्षेप ४ खर्ब १० अर्ब
– कुल कर्जा ४ खर्ब
– कुल सम्पति ५ खर्ब
– शाखा सञ्जाल १,१००
– सेवा पुगेको जिल्ला ७७
– ३ वटा बैदेशिक सम्पर्क कार्यालय
– ४० लाख भन्दा बढी ग्राहक संख्या
– ४ हजार भन्दा बढी कर्मचारीहरु

नेपाल राष्ट्र बैंकबाट लेटर अफ इन्टेन्ट लिएर दक्षिण कोरियामा नेपाली बैंकको पहिलो बैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा हामी रहेका छौं ।

आजको यो सफल मर्जर पश्चात मुलुकको वित्तीय क्षेत्रको कुल बजार हिस्सा नै करिव १० प्रतिशत ओगट्ने आकारमा ग्लोबल आइएमई बैंक पुग्ने देखिएको छ । मलाई लाग्छ आजभन्दा एक दशक मात्र अघिसम्म पनि मुलुकले र हामीले नै पनि यो साइजको बैंकको कल्पना पनि गरिएको थिएन ।

तर आज ग्लोबल आइएमई बैंकको अगुवाईमा नेपालमै पनि मुलुकको अर्थतन्त्रको साइजको तुलनामा ठूलो बैंकको परिकल्पना साकार भएको छ ।
मुलुककै पहिलो हुनु अर्थात् ठूलो हुनुका पछाडि अवसर मात्र छन् भन्ने मलाई लाग्दैन । यससँग कैयौँ चुनौती जोडिएका हुन्छन् । त्यसैले ठूलो बैंक हुनुमा पनि अवसर र चुनौती दुवै छन् । जोखिम र व्यवस्थापकीय समस्या पनि छन् । तर, हामी चुनौतीको पहिचान गरेर त्यसैबाट अवसर सिर्जना गर्नेमा केन्द्रित छौँ ।
पटकपटक मर्जरको अनुभव हासिल गरिसकेकाले चुनौतीलाई कुशलतापूर्वक व्यवस्थापन गरी ग्लोबल आइएमई बैंकलाई सबल संस्थाका रुपमा विकास गर्न हामी फेरि पनि सक्षम हुनेछौं भन्ने मलाई पूर्ण विश्वास छ ।

देशको अर्थतन्त्रको आकार ठूलो भैरहेको अवस्थामा विभिन्न बैंकहरु एक आपसमा मर्जर भई ठूलो हुनु क्षमता अभिवृद्धिको हिसाबले निश्चय पनि राम्रो हो । बैंकहरु ससाना रहँदा आजको आवश्यकतानुसार एउटै परियोजनाका लागि स्रोत जुटाउन पनि बढी संख्यामा बैंकहरुको सहकार्य आवश्यकता पर्ने हुँदा कठिनाई भोग्न बाध्य उद्योग व्यवसायीहरुको लागि पनि यसले राहत दिनेछ ।

यो मर्जरको theme : TOGETHER FOR MORE … Growing Together for Nation Building ले नै यसको उद्देश्य माथि प्रकाश पारिसकेको छ । निश्चय पनि यस बैंकले राष्ट्र निर्माणमा योगदान पुर्याउने हाम्रो विश्वास छ ।

निजी क्षेत्रको एउटा सानो प्रयासबाट सुरु भएको हाम्रो आइएमई रेमिट्यान्स, आइएमई फाइनान्स, ग्लोबल बैंक हुँदै अहिले मुलुककै सबैभन्दा ठूलो बैंकको रुपमा ग्लोबल आइएमई बैंकसम्म आइपुगेको छ । यसका लागि म सिंगो आइएमई टिम र ग्लोबल आइएमई बैंक र सहयात्री सबै बैंक तथा वित्तीय संस्थाका संस्थापक मित्रहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।

नेपालको बैंकिङ्ग क्षेत्रमा यो टिमले एउटा नयाँ इतिहास निर्माण गर्न सफल भएकाले सबै बधाईका पात्र हुनुहुन्छ । टिमवर्कमा विश्वास राख्ने मलाई पनि यो सफल यात्राले धेरै उत्साहित बनाएको छ ।

खाडीमा रहेका नेपालीले दुःख जिलो गरी कमाएको दुई चार पैसा उनीहरुका घरसम्म पुर्याइदिन हामीले सुरु गरेको यात्रा आज यहाँसम्म आइपुगेको छ । तिनै नेपाली दाजुभाइको रकम इमान्दारिताका साथ घरघरसम्म पुर्याएकाले नै उहाँहरुको आशीर्वादले हामीलाई अघि बढ्न प्रेरणा दिएको हामीले महसुस गरेका छौँ ।

त्यसैले कुनै पनि पेशा या व्यवसायको सफलताको शुत्र इमान्दारिता नै हो भन्ने मेरो विश्वास छ । त्यही इमान्दारितामा हाम्रो लगाव र मेहनत मिसाउँदा हामीलाई यो प्रतिफल प्राप्त भएको हो भन्ने मलाई लाग्दछ ।

साथै हाम्रो सेवा र कामप्रतिको आम नेपाली दाजुभाइ दिदी बहिनीहरुको विश्वासले पनि हाम्रो यात्रामा प्रेरणा दिइरहेकै छ । आगामी दिनमा पनि हामी हाम्रो यो इमान्दारिता र मेहनत, अनि नेपाली दाजुभाइ दिदी बहिनीहरुको विश्वासलाई अझ माथि उठाएर काम गर्नेछौँ भन्ने मेरो प्रण छ ।

हामीले कुनै पनि व्यवसाय सुरु गर्दा राज्यको प्राथमिकता, आम नागरिकलाई सेवा पुग्ने व्यवसाय र जुन व्यवसाय आर्थिक रुपमा सम्भाव्य छ त्यस्तो व्यवसाय अवलम्बन गर्ने मुख्य तीन प्राथमिकता निर्धारण गरेर गर्ने गरेका छौँ । जस्तो कि हामीले सुरु गरेको आइएमई तत्कालीन समयमा राज्यको आवश्यकता र प्राथमिकतामा थियो भने आम नागरिकले यस्तो सेवा खोजिरहेका थिए । राज्यले औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन चाहेको थियो भने सम्बन्धित व्यक्तिको घरपरिवारसम्म उनीहरुको रकम पु¥याउनु आम वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको आवश्यकता थियो ।

अहिले हामीले लगानी गरिरहेका चन्द्रागिरि केबलकार जस्ता पर्यटन पूर्वाधारहरु सातवटै प्रदेशमा विस्तार गर्ने लक्षसहित अगाडि बढेका छौ । नेपाल सरकारको डिजिटल नेपाल लक्ष्यलाई पूरा गर्ने हिसाबले सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार गरेका छौं । हाम्रा सबै व्यवसाय राज्यको प्राथमिकता र आम नागरिकको आवश्यकताका सेवा हुन् ।

यसरी हामीले निर्माण गरिरहेका भौतिक पूर्वाधार तथा व्यवसायहरु राज्य तथा आम नागरिकका समेत साझा सम्पत्ति हुन सकुन् भनेर हामीले हाम्रा हरेक व्यवसायमा स्थानीय तथा आम नागरिकको साझेदारीको मोडल अघि सारेका छौँ । यो पनि हाम्रो सफलताको एउटा शुत्र हो भन्ने मलाई लाग्दछ ।

नेपाल राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणमा रहेर हामीले मुलुकको वित्तीय क्षेत्रलाई नयाँ दिशा र गति प्रदान गरिरहेका छौँ भन्ने मलाई लाग्दछ । वित्तीय क्षेत्रलाई सबल र सक्षम बनाउन नेपाल राष्ट्र बैंकले लिने नीतिलाई पहिलो कार्यान्वयनमा ल्याउने बैंक हामी नै हौँ । चाहे क्रस होल्डिङ्गको विषय होस् वा पूँजी बढाउने विषय वा पछिल्लो पटक आएको बिग मर्जरको विषय होस् । यी नीतिलाई सुरुमा हामीले नै कार्यान्वयनमा ल्याएका छौँ ।