२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राजदूत विनय मोहनद्वारा १५० आइसीयु बेड नेपाललाई हस्तान्तरण



अ+ अ-

काठमाडौं । भारतीय राजदूत विनय मोहन क्वात्राले माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहबीच १५० वटा आइसीयु बेड हस्तान्तरण गर्नुभएको छ । भारतले नेपालसँग कोभिड–१९ सहकार्यका लागि गरेको प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूतले उक्त आइसीयु बेड हस्तान्तरण गर्नुभएको हो ।

भारतले नेपालसँग कोभिड–१९ सहकार्यका लागि गरेको प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज मिति २०७८ श्रावण ३ गते आयोजित एक समारोहबीच १५० वटा आइसीयु बेड हस्तान्तरण गर्नुभयो । 

सो हस्तान्तरण समारोहमा राजदूत क्वात्राले अत्यावश्यक स्वास्थ्य पूर्वाधारमा भारतले नेपाललाई सहयोग गर्ने र महामारी व्यवस्थापनमा समग्र रूपमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ । 

मन्त्री कार्कीले भारत सरकारको यो कदमको सराहना रहेको बताउनु भएको छ । कोभिड(१९ बिरूद्धको लडाईमा यो एक महत्वपूर्ण कोसेढुंगा रहेको पनि बताउनुभयो । साथै उहाँले भन्नुभयो, यसले दुबै देशहरूले देखाएको अतुल्य सद्भभावलाई दर्शाउँदछ।

उहाँले महामारी सुरु भएयता अत्यावश्यक औषधी, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर लगायत अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराई भारतले नेपाललाई ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरिसकेको बताउनुभयो। गत जनवरीमा भारतले उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप पाउने पहिलो मुलुकहरु मध्येको एक नेपाल पनि रहेको जनाउनु भयो । यसका अतिरिक्त भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप प्रदान गर्नुका साथै बिआइपिएपि मेसिन, एन्टिजेन परीक्षण सामाग्री, पीपीई, मास्क, एम्बुलेन्स तथा आइसीयु बेड लगायतका स्वास्थ्य सामाग्री पनि प्रदान गरिसकेको बताउनुभयो । 

मन्त्री कार्कीले भन्नुभयो , "भारत र नेपालबीच स्वास्थ्य क्षेत्रमा बलियो सहकार्य रहँदै आएको छ जसमा एम्बुलेन्सको वितरण, स्वास्थ्य क्षेत्रमा नियमित प्रशिक्षण तथा क्षमता विकास कार्यक्रम र अस्पताल, ट्रमा तथा प्रसूति केन्द्र, नेचुरोप्याथी सेन्टर, आँखा हेरचाह केन्द्र लगायतका स्वास्थ्य पूर्वाधारको विकास रहेका छन् ।"