२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले किन पिर्का प्रयोग गर्नुहुन्छ ?



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी चढ्दा, ओर्लंदा या कुनै अग्लो स्थानमा उक्लनका लागि पिर्काजस्तो वस्तु राखिएको हुन्छ ।

शनिबार पनि उहाँ शीतलनिवासमा साझा बस चढ्दा र ओर्लंदा पनि पिर्काको प्रयोग गर्नुएको थियो । उहाँ शनिबार शीतलनिवासबाट साझाको बिजुली बस चढेर पाटन पुग्नुभएको थियो ।
तर उहाँले पिर्काको प्रयोग गरेका तस्बिरहरुमाथि कतिपय मानिसले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी पनि गर्ने गरेका छन् ।

सामाजिक सञ्जालमा मानिसहरुले भूइँमा नटेकेर किन पिर्कामा भन्नेजस्ता प्रश्न पनि गर्ने गरेका छन् । राष्ट्रपति भण्डारी बसमा चढ्न र ओर्लना असहज भएकाले सजिलोका लागि मात्र पिर्का राखिएको राष्ट्रपतिको कार्यालयले स्पष्ट गरिसकेको छ ।

उहाँले किन प्रयोग गर्नुहुन्छ त पिर्का ? राष्ट्रपति भण्डारीलाई करिब डेढ दशकअघि ब्लड क्यान्सर भएको थियो । भारतको एपोलो अस्पतालमा क्यान्सरको उपचारका क्रममा दिइने केमोथेरापीको स्टेरोइड औषधिले उहाँको कम्मरको जोर्नीमा खराबी देखिएकाले प्रत्योरोपण गरिएको हाडजोर्नीसम्बन्धी रोगका विशेषज्ञ डा कैलाश भण्डारीले जानकारी दिनुभयो ।

जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका विशेषज्ञ डा भण्डारीले भन्नुभयो( उहाँको हिपमा खराबी देखिएपछि मेटल हिप रिप्लेस्मेन्ट गरिएको छ, यस्तो विरामीले धेरै माथिसम्म खुट्टा उठाउनु हुदैन समस्या हुन्छ । त्यसैले उहाँ उक्लने र ओर्लने ठाउँ केही अग्लो या होचो छ भने त्यसका लागि सपोर्ट राख्ने गरिएको हुनसक्छ ।

डा भण्डारीले भन्नुभयो “हिप रिप्लेस्मेन्ट गर्ने मान्छेले माथिसम्म खुट्टा उठाउँदा प्रत्योरोपण गरिएको हिपले ठाउँ छोड्ने (डिस्लोकेट हुने) पनि हुनसक्छ । त्यसैले धेरै सतर्कता अपनाउनुपर्छ । धेरै अग्लो र होचो स्थानमा उक्लने या हामफाल्ने गर्नु हुँदैन डिस्लोकेट हुनसक्छ । त्यसैले केही न केही सपोर्ट राख्नुपर्ने हुन्छ ।

यस्तो विरामीले अरु सर्वसाधारणले जस्तै सामान्य तवरबाट घुँडा खुम्च्याउन पनि नमिल्ने र धेरै उकालो र ओरालो हिँड्न पनि नहुने भएकाले सावधानी अपनाउनुपर्ने डा भण्डारीको सुझाव छ ।

राष्ट्रपति भण्डारले पनि लामो समय उपचार गराउनुभएको थियो । क्यान्सर उपचारको थेरापीकै कारण त्यसकै असरले उहाँले घुँडा पनि राम्रोसँग खुम्च्याउन नमिल्ने र ठम्ठम्ती हिँड्न पनि नहुने समस्या रहेको छ ।

स्वास्थ्यमा समस्याकै कारण राष्ट्रपतिले घुँडा खुम्चाउन नमिल्ने भएकाले उहाँलाई साझा बस चढ्दा पिर्का राख्नु परेको कुरा त राष्ट्रपति कार्यालयले स्पष्ट गरिसकेको छ ।