२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

सार्वजनिक यातायात खुले, खुलेनन् सडक

सार्वजनिक यातायात खुले, खुलेनन् सडक
अ अ+ अ-

गलेश्वर । कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुनसकेका छैनन् ।

पहिराले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् । असारको शुरुआतसँगै परेको अविरल वर्षाका कारण झरेको पहिराले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडक अवरुद्ध भएका हुन् । साउन १ गतेदेखि नै जिल्लाभित्र चल्ने सार्वजनिक यातायात खुला गरिए पनि जिल्लाका कुनै पनि ग्रामीण सडकमा बस चल्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीले बताएका छन् ।

म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष सुमन श्रेष्ठले आन्तरिक सार्वजनिक यातायातका साधन खुला गरिए पनि बाढी र पहिराका कारण अवरुद्ध बनेका सडक सञ्चालन गर्न नसक्दा यातायातका साधन सञ्चालन हुन नसकेका बताउनुभयो । “सार्वजनिक यातायात त खुला भयो तर, सडक खुला गर्न सकिएन, दिउँसो बनायो, राति पानी परेपछि पहिरो गएर सडक अवरुद्ध हुन्छ”, श्रेष्ठले भन्नुभयो, “जिल्लाका प्रायः सबै ग्रामीण सडक पहिराले अवरुद्ध छन्, सार्वजनिक यातायातका साधन सञ्चालन गर्न सकिएको छैन ।”

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध हुँदा ठूलो समस्या उत्पन्न भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा माथिबाट पहिरो र तलबाट नदी कटानले गर्दा विभिन्न नौ ठाउँमा अवरुद्ध हुने गरेको छ भने पश्चिम म्याग्दी र बागलुङका १४ वटा गाउँलाई जोड्ने बेनी–दरबाङ सडकको समस्या पनि बेनी–जोमसोम सडकको जस्तै रहेको यातायात व्यवसायीले बताएका छन् । यहाँ सडक माथिबाट ढुङ्गासहितको पहिरो आउने र म्याग्दी नदीको कटानका कारण सडक भासिने गरेको छ ।

बेनी–बरङ्जा, बेनी–पुलाचौर र बेनी–झीँ यी तीन सडकबाहेक जिल्लाका अन्य १७ वटा ग्रामीण सडक अवरुद्ध छन् । छ किलोमिटर दूरीको बेनी–पुलाचौर, आठ किमी दूरीको बेनी–बरङ्जा र सात किमी दूरीको बेनी–झीँ सडकमा पनि साना यातायातका साधन मात्र सञ्चालन भएका छन् । म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष श्रेष्ठका अनुसार यी तीनवटा सडकमा पनि जीपबाहेक ठूला सवारी सञ्चालन हुनसकेका छैनन् । पहिराका कारण सडक साँघुरिएकाले ठूला सवारी सञ्चालन हुन नसकेका उहाँको भनाइ छ ।

यहाँका सडक अवरुद्ध भएपछि टाढा–टाढा पुग्ने यात्रु बीच बाटोमा अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । वर्षा निरन्तर भइरहेका कारण राजमार्गका सडक सञ्चालन हुन केही समय लाग्ने बताइएको छ ।