५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि पेसामा राउटे समुदाय



अ+ अ-

काठमाडौँ । लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ । कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत हुनुभएको छ ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडले डडेल्धुराका राउटे किसान लालसिंह राउटेलाई उत्कृष्ट किसानका रूपमा पुरस्कृत गरेको हो । सिंहले डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी जग्गामा खेती तथा पशुपालन गर्दै आउनुभएको छ ।

“तीन वर्षदेखि बाख्रा र भैँसी पाल्दैछु, काठको काम पनि गर्छु । पहिले आम्दानीको स्रोत काठको ज्याला मजदुरी मात्र हुन्थ्यो । अहिले दुवै काम गर्न भ्याएको छु”, उहाँले भन्नुभयो । बत्तीस वर्षे सिंहले औपचारिक अध्ययन गर्न नपाए पनि पुर्ख्यौली सीप र कृषि पेसाले आम्दानीको स्रोत बढेको बताउनुभयो । कृषिबाट धेरै आम्दानी नभए पनि दैनिकी सहज बनेको उहाँको भनाइ छ । उहाँले यही पेशाबाट पाँच जनाको परिवार चलाउँदै आउनुभएको छ ।

पुरस्कार ग्रहण गर्न काठमाडौँ आउनुभएका उहाँले काठमाडौँ पहिलोपटक भ्रमण गरेकोसमेत बताउनुभयो । “पुरस्कार पाएको छु । आफ्नो देशको (पुरानो) राजधानी हेर्ने अवसरसमेत जुर्यो । सिंहदरबार हेर्न पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

बाल्यकालमा भारतको शिमलासम्म पुगेको बताउने सिंहलाई आफ्नो देशको पुरानो राजधानी हेर्न पाउँदा तीन दिनको बसाइ धेरै छोटो लागेको बताउनुभयो । “पशुपतिनाथ मन्दिरसम्म दर्शन गर्न मन थियो । तर समय अभावका कारण फर्किँदैछु । फेरि दोस्रोपटक काठमाडौँ घुम्न आउनेछु ।” बाख्रापालन, तरकारी खेती र गँहु उत्पादनबाट धेरै आम्दानी नभए पनि दैनिकी राम्रो गुज्रेको उहाँको भनाइ छ ।

डडेल्धुरा कटलाका शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरेन्द्र विष्टले सिंहलाई काठमाडौँसम्म आउन सहजीकरण गर्नुभयो । “राउटे समुदाय कार्यक्रममा आउन असहज महसुस गर्छ । अरुजस्तै उहाँले पनि आउन मान्नुभएको थिएन । उहाँलाई काठमाडौँ सहर घुम्न पाइन्छ भनेपछि आउनुभयो”, विष्टले भन्नुभयो ।

काठका काममा ज्याला मजदुरी गर्ने राउटे समुदायमा आम्दानीका लागि कृषि पेसाप्रति आकर्षण बढ्दै गएको हो । सिंहसँगै डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा कृषिमा आबद्ध ६७ जना सहकारीमा जोडिएका छन् । तर थोरै राउटे किसान मात्र निर्वाहमुखी व्यावसायिक कृषिमा आबद्ध छन् ।

राउटे समुदायका कतिपय युवा रोजगारका लागि भारत जाने र कतिपय सरकारी भत्तामा निर्भर भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भत्ता आउँछ भन्दै त्यसमै भर पर्ने धेरै हुनुहुन्छ । जसले गर्दा उहाँहरूलाई सिर्जनशील बनाउन सकिएको छैन । व्यवसाय र रोजगारीप्रति उहाँहरूको सहभागिता बढाउन सकिएको छैन ।”