५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सालको काठ तस्करी बढ्यो



अ+ अ-

त्रिशूली । नुवाकोटमा पछिल्लो दुई दिनमा तीन स्थानबाट सालको काठसहित दुईजना लाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

शुक्रबार सूर्यगढी गाँउपालिका–३ को बिसमुरे भन्ने स्थानबाट ठूलो परिमाणको सालको काठसहित कटानमा संलग्न दुई जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बिसमुरेबाट एकसय ९० गोलिया सालको काठसहित त्यसको कटानमा संलग्न रहेको अभियोगमा स्थानीयवासी चन्द्रबहादुर तामाङ र नन्दबहादुर तामाङलाई पक्राउ गरेर नुवाकोट जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको छ ।

उक्त काठ काट्न लगाउने र ओसारपसारमा संलग्न सवारीसाधन फरार भएकाले खोजी भइरहेको डिभिजनल वन अधिकृत कोइरालाले जानकारी दिनुभयो । त्यस लगत्तै यही शनिबार राति ककनी गाउँपालिका–७ चतुराले हुदैँ लैजान लागेको ४२ गोलिया सालको काठ सव डिभिजन कार्यालय ककनीले पक्राउ गरेर कारबाहीको लागि आइतबार डिभिजन वन कार्यालयमा बुझाएको छ ।

जिल्लाको लिँखु गाउँपालिका–३ को सूर्यमतिमा कटान गरेर ककनीतर्फ लैजान लागेको उक्त काठ बोक्ने गाडी र संलग्न व्यक्ति भने फरार भएकाले खोजी भइरहेको बताइएको छ ।

यस्तै शुक्रबार सूर्यगढी गाउँपालिका–३ का वडाध्यक्ष पिङ्गलबहादुर थापामगरले सञ्चालन गर्दै आएको विनायक फर्निचरबाट एकसय छ थान चिरान गरेको सालको काठ डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उक्त काठ ‘वैधानिक हो’ भन्ने प्रमाण पेस गर्न काठ मिलका सञ्चालक थापामगरलाई डिभिजन वन कार्यालयले पत्र काटेको डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिनुभयो ।

नेपाल सरकारले विसं २०५८ देखि निजी जग्गाको सालको काठ काट्न पूर्णरुपमा प्रतिबन्ध लगाएको छ, भने सामुदायिक वनमा भने कार्ययोजना अनुसार कटान गर्न पाइने भनिएको छ । कटान र ओसारपसारको लागि वन कार्यालयको अनुमति अनिवार्य गरिएको छ ।

“पछिल्लो समयमा विभिन्न स्थानमा एकैपटक ठूलो परिमाणमा भेट्टिएको सालको काठ कटानको लागि अनुमति नलिएकाले देखिन्छ”, डिभिजनल वन अधिकृत कोइरालाले भन्नुभयो । वनसँग सम्बन्धित मुद्दा हाल अदालतमार्फत कारबाही अघि बढ्ने भएकाले नियन्त्रणमा लिएका व्यक्ति र बरामद काठको कारबाही अघि बढाउन नुवाकोट जिल्ला अदालतमा पेस गरिएको छ ।

चोरी तस्करी रोक्न सामुदायिक वनको उपभोक्ता, प्रहरी, वन रक्षकसहित सरोकारवाला उपभोक्ता सहितको भूमिका प्रभावकारी बनाउन विशेष कार्ययोजना निर्माणको तयारीमा रहेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ ।