२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस: ४ केन्द्रीय सदस्य र २ जिल्ला सभापतिमाथि अन्तर्घातको आरोप



Nepali Congress
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसमा चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कारबाहीको सिफारिस गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात गर्नेहरुको नामावली पठाउन थप एक महिनाको समय दिएको थियो । केन्द्रीय अनुशासन आयोगका अनुसार हालसम्म चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि कारबाहीको सिफारिस भइसकेको छ ।

पार्टी केन्द्रीय कार्यालयले सुरुमा पुस १५ गतेसम्मको समय दिएको र सोही अवधिमा काभ्रे, सोलुखुम्बु र कपिलवस्तुबाट कारबाहीको सिफारिस आएको हो । कारबाही सिफारिस हुनुअघि नै दोलखाबाट पनि केन्द्रमा उजुरी परेको थियो ।

पार्टीको काभ्रे जिल्ला कार्यसमितिले दुई केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामामाथि कारबाहीको सिफारिस गरेको छ । आचार्यमाथि प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट कांग्रेस उम्मेदवार बनेका शिव हुमागाईंलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।

त्यसैगरी लामामाथि पनि प्रदेशसभा सदस्यमा जिल्ला सभापति तीर्थ लामालाई हराउन भूमिका निर्वाह गरेको आरोप छ । यद्यपि तीर्थ लामाले नेकपा (एमाले) का चन्द्र लामालाई २ मतले मात्र पराजित गरेका थिए ।

काभ्रेकै कञ्चनबादे श्रेष्ठमाथि पनि कारबाही सिफारिस गरिएको छ । उनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री समेत हुन् ।

त्यस्तै सोलुखुम्बुमा जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पामाथि कारबाही सिफारिस गरिएको छ । शेर्पाका साथै केन्द्रीय सदस्य आङ्गेलु शेर्पामाथि जिल्ला सचिव भलाकाजी राई र युवराज घिमिरेले संयुक्तरुपमा केन्द्रीय अनुशासन आयोगमा कारबाहीको सिफारिस गरेका हुन् ।

केन्द्रीय सदस्य र जिल्ला सभापतिले कांग्रेस नेता बलबहादुर केसीलाई पराजित गर्न भूमिका निर्वाह गरेको आरोप लागेको छ । प्रतिनिधिसभा सदस्यमा सोलुखुम्बुबाट नेकपा (एमाले) का मानवीर राईले केसीलाई पराजित गरेका थिए ।

उम्मेदवार केसीले समेत जिल्ला सभापति र केन्द्रीय सदस्यले एमालेलाई मत मागेको आरोप लगाउँदै कारबाहीका लागि उजुरी दिएका थिए ।

कपिलवस्तुमा जिल्ला सभापति अब्दुल कलामसहितका नेताहरुमाथि कारबाहीको सिफारिस गरिएको छ । जिल्ला सभापति कलामसहित नेताहरु वीरेन्द्र कनौडिया, जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेमबहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रह्मानन्द पाण्डेयलगायतमाथि पराजित उम्मेदवार अभिषेक प्रताप शाहले अन्तर्घात गरेको आरोप लगाउँदै उजुरी दिएका थिए ।

त्यस्तै दोलखाका कांग्रेस जिल्ला सभापति बर्मा लामाले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीमाथि अन्तर्घात गरेको भन्दै कारबाहीको माग गरेका छन् । लामाले शिवाकोटीमाथि अन्तर्घात गरेर आफूलाई प्रदेशसभा सदस्यमा पराजित गरेको आरोप लगाएका छन् ।