• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न डिआइजीको नेतृत्वमा समिति गठन



काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घटनाको अनुसन्धानका लागि डिआइजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए । डिआइजी सिंह हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत छिन् । यसअघि उनी प्रहरी उपरीक्षक हुँदा उक्त घटनाको अनुसन्धानमा खटिएकी थिइन् ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम गठित समितिमा सिआइबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी छन् । उनीहरूलाई उक्त घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम गर्न कार्यादेश दिइएको छ । यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सिआइबी नै खटिएकाले पनि सिआइबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता राईले जानकारी दिए ।

गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिएका थिए ।

सोही आधारमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको निरीक्षण भ्रमणका क्रममा प्रहरीले गृहमन्त्री लामिछाने समक्ष घटनामा हालसम्म प्रहरीले गरेको अनुसन्धान कार्यबारे ब्रिफिङ गरेको थियो । हालसम्म प्रहरीले गरेका प्रयासबारेमा गृहमन्त्रीलाई अपडेट गराइएको प्रवक्ता राईले जानकारी दिए ।

सो क्रममा गृहमन्त्री लामिछानेले तथ्यका आधारमा अनुसन्धान अघि बढाई निष्कर्षमा पुर्याउन प्रहरीलाई निर्देशन दिएका छन् । विसं २०७५ साउनमा पन्तको बलात्कारपछि हत्या गरिएको थियो । अहिलेसम्म उक्त घटनाका दोषी पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढीको डिएनए परीक्षणसमेत गरिसकेको छ ।