५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको जनाएको छ । विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरुको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य सहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएकोे छ ।

प्रदूषण जाँचमा पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ । कैफियत भेटिएमा वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१को उपदफा–२ अनुसार जरिवाना हुने बताइएको छ । यही पुस १ गतेदेखि सुरु भएको प्रदूषण जाँच अभियानमा काठमाडाँै उपत्यकामा चल्ने कम्तीमा पनि २८ भन्दा बढी गाडीलाई कारबाहीसहित जरिवाना गरिएको विभागले जनाएको छ ।

गाडीहरुले फ्याँक्ने धुवाँको अवस्थाबारे प्रदूषण जाँच गर्ने ‘स्मोक डेन्सिटीमिटर’ मार्फत छड्के जाँच सुरु गर्ने गरिएको विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदूषण जाँचमा फेल भएका गाडीधनीलाई रु पाँच हजार जरिवाना तिराइएको र तीन दिनभित्र मर्मत गराएर पुनः परीक्षणका लागि विभागमा आउन भनिएको छ ।

उक्त जाँचमा काठमाडौँ उपत्यकामा चल्ने गाडीहरुले फ्याँक्ने धुवाँको अवस्था खराब देखिएको बताइएको छ । “भाडामा चल्ने धेरै गाडी प्रदूषण जाँचमा फेल भएका छन्,” वातावरण विभागका प्रवक्ता पौडेलले भन्नुभयो, “विभागले विशेषगरी डिजलबाट चल्ने जिप, भ्यान, बसलगायतको परीक्षण गर्दै आएको छ, गाडी प्रदूषण पास नभएसम्म पटक–पटक जाँच गर्न लगाउनेछौँ ।”

यसैगरी विभागले टोली बनाएर उपत्यकाका विभिन्न ठाउँमा गाडीहरुले फ्याँक्ने धुवाँको अवस्था बुझ्न छड्के जाँच पनि गरिरहेको छ । टोलीले प्रदूषण जाँच गर्ने ‘स्मोक डेन्सिटीमिटर’ मार्फत गाडीले फ्याँक्ने धुवाँको परीक्षण गर्दै आएको हो । छड्के जाँचमा प्रदूषण जाँचपासका रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचमा अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने जनाइएको छ ।