• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’

नेवाः छेः कास्कीमा १२ सयलाई झ्वः भ्वय



पोखरा । पोखरा ३ नेवाः छेः (नेवार घर) मा शनिबार दिनभर भोज चल्यो । भोजमा अधिकांश नेवार समुदायका व्यक्ति हुनुहुन्थ्यो । केही सङ्ख्यामा अन्य समुदायका पाहुनालाई आमन्त्रण गरिएको थियो ।

उहाँहरुलाई झ्वः भ्वय नेवारी सांस्कृतिक भोजमा निम्तो दिइएको हो । छेः को तल्लो हलको चारैतर्फ विछ्याइएको चकटीमाथि बसेर पाहुनाले टपरीमा नेवारी खाना खाइरहनुभएको थियो । पाहुनाकै बीचमा बसेर मिष्ठान्न भोजन गरिरहनुभएको थियो शिक्षण पेसामा आवद्ध उपेन्द्र पौडेल । विद्यालय विदा भएकाले उहाँ नेवार साथीको निमन्त्रणामा त्यहाँ पुग्नुभएको थियो ।

पलेँटी कसेर खाना खानुभएका पौडेलले फरक अनुभव लिएको प्रतिक्रिया दिनुभयो । कतिपय परिकार पहिलो पटक खाँदा मीठो लागेको उहाँको भनाइ थियो । “नेवारी समूदायका लागि सामान्य होला तर म ब्राह्मण भएर यो भोजमा आउँदा विशेष अनुभव लिएको छु,” उहाँले भन्नुभयो, “हाम्रोमा लप्सीको झोल खाने चलन हुँदैन । अनि यहाँ मेथीको अचार खान पाउँदा निकै मज्जा आयो ।”

भोजमा सहभागी पर्वतका बीरेन्द्र गुरुङले पनि नेवारी परिकार खान पाउँदा नौलो अनुभव लिएको बताउनुभयो । उहाँले समूहमा बसेर नेवारी परिकार पहिलो पटक खाएको प्रतिक्रिया दिनुभयो । “मेरा लागि यो फरक अनुभव भयो । धेरै पटक नेवारी परिकारको बारेमा बयान मात्र सुन्थे आज खाएरै अनुभव लिइयो,” उहाँले भन्नुभयो, “नेपालमा विभिन्न जातजाति छन्, उनीहरुका आ–आफ्नै परिकार छन् यसरी ती खानाको आदानप्रदान हुनु जरुरी छ ।”

पौडेल र गुरुङलाई जस्तै करिब एक हजार दुई सय पाहुनालाई नेवारी परिकार चखाउने चाजोपाजो नेवाः मिसा पुचः कास्कीले मिलाएको थियो । नेवाः खल कास्कीको आह्वानमा झ्वः भ्वय नेवारी सांस्कृतिक भोज आयोजना गरिएको कार्यक्रम संयोजक मोहीनी श्रेष्ठले जानकारी दिनुभयो ।

बढ्दो आधुनिकतासँगै परम्परागत मौलिक खानाका परिकार तथा मौलिक भोजको परम्परालाई पार्टीले विस्थापन गर्न लागेकाले खाना संस्कृति जगेर्ना गर्न भोजको आयोजना गरेको श्रेष्ठले बताउनुभयो । भोजमा सबै उमेर समूह र सबै समुदायको उपस्थिति भएको उहाँले जानकारी दिनुभयो ।

नेवारी समुदायमा झ्वः भ्वयको आफ्नै महत्व रहेको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो । ‘झ्व’ भन्नाले मिलेर लस्करै बस्ने भन्ने अर्थ लाग्दछ भने ‘भ्वय’को अर्थ भोज रहेको उहाँले बताउनुभयो । यसरी लामो सुकुलमा लहरै बसेर टपरीमा खाने भएकाले यस भोजलाई झ्वः भ्वय भनिने उहाँको भनाइ थियो ।

यस भोज वैज्ञानिक दृष्टिकोणलेसमेत महत्व रहेको अध्यक्ष पालिखेले जानकारी दिनुभयो । यसमा प्रोटिनका लागि मासु, गेडागुडी, कार्बोहाइड्रेटका लागि चिउरा, आलु, भिटामिनका लागि हरियो साग, काउली, दही, एसिडिटीका लागि लसुन, कफका लागि अल्कोहल, प्रेसरका लागि मेथी, पाचनका लागि अमिलोको झोल राखिने उहाँले जानकारी दिनुभयो ।

यी परिकार राख्ने पनि एक नियम हुन्छ । सुरुमा सालको पातको लपेस ९टपरी० मा चिउरा, लसुन, अचार, तखाला, सङाखु (एक प्रकारको मासुको परिकार) राखेर सुरुवात गर्ने अध्यक्ष पालिखेले सुनाउनुभयो । भोज खान सुरु गरेपछि मासुसँगै मुलाको अचार, गोल्भेडाको अचार, केराउ, सिमि, आलु काउली, रक्सी दिने गरिन्छ ।

दोस्रो पटक मेथी, भुटन, र अमिलोको झोल राख्ने गरिन्छ । तेस्रो पटक दही र सिसापुसा ९सलाद० राखेपछि भोज सकिने उहाँले जानकारी दिनुभयो । मौलिकपनाको जगेर्नाले मात्र संस्कृति जीवन्त रहने भएकाले कार्यक्रम आयोजना गरिएको नेवाः मिसा पुचः कास्की अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिनुभयो । हरेक जातजातीले आफ्नो संस्कारलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमका लागि पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको थियो । नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको कार्यक्रममा अन्य व्यक्ति तथा सङ्घ संस्थाले पनि साथ दिएको अध्यक्ष श्रेष्ठले जानकारी बताउनुभयो । यस कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने उहाँको प्रतिबद्धता छ ।