२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

नेपथ्यको सातौं प्रदर्शनमा सुर्खेतमा

नेपथ्यको सातौं प्रदर्शनमा सुर्खेतमा
अ अ+ अ-

वीरेन्द्रनगर सुर्खेत । तराइका फाँटहरुबाट उक्लेर थोरै माथि कर्णाली प्रदेश आइपुगेको नेपथ्यलाई वीरेन्द्रनगर सुर्खेतका वासिन्दाले ठूलो उपस्थितीका साथ भब्य स्वागत गरेका छन् ।

‘मानवताका लागि संगीत’ अभियानका साथ विशाल टोली लिएर मुलुकको यात्रामा निस्केको लोकरक ब्याण्ड नेपथ्यको यस श्रृंखलाकै यहाँ सातौं प्रस्तुती थियो ।

बुधबार बेलुकी चार बजेदेखि गेट खुला भएदेखि छ नबज्दै स्थानीय खुलामञ्चमा दर्शकहरुको उल्लेख्य उपस्थिती जुटिसकेको थियो । घडीको सुइले ठीक छ बजाउनेबित्तिकै मञ्चमा नेपथ्यका म्यूजिक भिडियो बज्नथालेका थिए । अघिल्लोपटक धनगढीमा जस्तै यहाँ पनि ब्याण्डले पहिलो गीतका रुपमा ‘आँगनै भरि’बाट दर्शकहरुलाई स्वागत ग¥यो। यो गीत नेपथ्यको आफ्नै इतिहासमा पनि पहिलो रचना थियो । स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राका झलक आउनेगरि दृश्यहरुको संयोजन गरिएको थियो ।

पहिलो गीतमा साथसाथै गाएर सघाएका दर्शकहरुले त्यसपछि अर्को सर्वकालीक हिट गीत ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत गर्दा उफ्रन सुरुगरेको देखिन्थ्यो । ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउँदा त्यो उत्साह अझ बढ्न पुग्यो ।

‘हामीलाई सुन्न यहाँ उपस्थित हुनुभएका तपाइ सबैजनालाई स्वागत छ,’ अमृतले त्यसपछि गीतको साटो संवादको थालनी गरे, ‘हामी बीच यसरी भेटघाटको जोग जुराइदिने आयोजक मानवसेवा आश्रमलाई धेरै धेरै धन्यवाद छ है ।’


कर्णाली प्रदेशको राजधानी यो सहरमा नेपथ्य १५ वर्षपछि प्रस्तुत भएको हो । यसअघि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्याण्ड सुर्खेत आएको थियो । त्यतिबेला भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगणमा कन्सर्ट आयोजित थियो ।

खुलामञ्चमा दर्शकको लागि भनेर लगाइएको घेराभित्र नअटेर बाहिर बाहिर पनि दर्शक देखिन थालेका थिए । ब्यापक उपस्थितीले सम्पूर्ण माहोल सुरुदेखि उत्साहपूर्ण बनेको थियो ।

‘यति लामो अन्तरालपछि नेपथ्य यहाँ आएको छ,’ अमृतले भने, ‘तपाइहरुले यस्तरी माया गर्नुहुन्छ भन्ने थाहा भइदिए अलि पहिल्यै आउने थियौं ।’
दर्शकहरुलाई स्वागत गरेपछि अमृतले फेरि ‘तपाइहरुलाई म मेरो भेगतिर लैजान्छु । रोदीघरहरुमा लैजान्छु’ भन्दै गाउन सुरुगरेः

‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि म¥यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएका थिए । दर्शकहरुलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले त्यसपछि धौलागिरितिर तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

उनले धौलागिरि भेगको त्यस गीतमा देखिएको लालीगुराँसका दृश्यहरु सुर्खेत माथिको गुराँसे लेकमा पनि देखिने बयान गर्दा स्थानीय दर्शकहरु असाध्यै रमाएका थिए ।

‘तर हिजोआज यस्तरी फुलेका गुराँस टिपेर शिरमा लगाइदिने तन्नेरीहरु छैनन्,’ उनले थपे, ‘उहिलेदेखि लाहुर जाने परम्परा एक वा अर्को रुपमा झनै बढ्दै छ ।’

यति भनेपछि उनले लाहुरेहरुबाटै आएको गीत ‘नैनाताल’ सुनाएका थिए ।

त्यो गीतको धुनकै बीचमा पनि उनी बोल्न थालेः

‘यहाँ माथिका पहाडहरुबाट मानिस सुर्खेत आउँछन् र सुर्खेतबाट नेपालगंज हुँदै भारत जान्छन् । यस्ता दृश्यहरु हामीले दुःख मानेर हेर्नुपरिरहेको छ । एकदिन कोहि पनि लाहुर जान नपरोस् है ।’

प्रतिउत्तरमा दर्शकदीर्घाबाट ठूलो समर्थनसहितको आवाज आएको थियो ।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो ।

यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो ।
‘केटाकेटीलाई शिक्षाको उज्यालो देखाउनु र आश्रय नपाएकाहरुलाई बाँच्ने आधार तयार पार्नु जत्तिको पवित्र कर्म अरु कुनै छैन,’ सरकारी विद्यालयहरुकै निम्ति यसअघि सुर्खेतमा प्रस्तुत उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने आ आफ्नो ठाउँबाट गच्छे अनुसारको दान गर्न आजैबाट सुरु गर्नुस् ।’

गुरुङ र उनको टोलीले अघिल्लो दिन मंगलबार मात्रै ‘मानव सेवा आश्रम’को स्वागत समारोहमा उपस्थिती जनाएका थिए । यहाँस्थित गोरेटो रेष्टुरेन्टको हलमा कर्णाली प्रदेशका प्रमुख सचिवले ब्याण्डका सदस्यहरुलाई माला लगाएर स्वागत गरेका थिए । समारोहमा सुर्खेतकै माटोमा हुर्केर सिँगो राष्ट्रलाई लोकगीतहरुले सिँगारेका अग्रज प्रेमदेव गिरीको समेत उपस्थिति थियो । त्यसैगरि स्थानीय राजनीतिक फाँट, प्रहरी, प्रशासन र सेनाका नेतृत्वकर्ताहरु समारोहमा सरिक थिए । त्यतिबेला सुर्खेतकै नवयुवकहरुले खोलेको ब्याण्डले नेपथ्यका गीतहरु गाएर सुनाएका थिए ।

उक्त अवसरमा अमृतले मानवसेवा आश्रमले मुलुकभर सडकमा आश्रितलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ आफ्नो ब्याण्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पारेका थिए ।

बुधबारको कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा सुर्खेती दर्शकले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो ।

त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः

‘भर्खरै चुनाव सकिएको छ । घर–घर विभाजित भएको छ । तर, अब हामीले यो समाजलाई जोड्नतर्फ लाग्नुपर्छ । हामी विद्यालय बनाउनका निम्ति एकापसमा जोडिनु पर्छ । हामीले गाउँ गाउँमा अस्पताल पु¥याउनका निम्ति जोडिनै पर्छ ।’

धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो ।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

‘कर्णालीकै भाकाहरु पनि गाइदिएर नेपथ्यले हामीमाथि गुन लगाएको छ,’ प्रदेशकै सबैभन्दा पुरानो अखवार काँक्रेविहार दैनिकका सम्पादक सुशिल शर्मा भनिरहेका थिए, ‘मानवसेवा आश्रमसँग मिलेर मानवताका क्षेत्रमा पनि योगदान दिनलागेकोमा असाध्यै खुशीलागेको छ ।’

कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए ।

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्टले वीरेन्द्रनगर सुर्खेतमा लगातार सातौं सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे । ‘सुर्खेतमा दर्शक प्रतिक्रिया कस्तो रहला भनेर जिज्ञासा लागेको थियो,’ उनले भने, ‘ठूला सहरभन्दा बढी दर्शक उपस्थित भएर मानवताको यो प्रयासलाई हौसला प्रदान गरिदिनुभएकामा धन्यवाद दिन चाहन्छु ।’

कन्सर्टबाट उठेको रकमले सुर्खेतमा मानवसेवा आश्रमको आफ्नै भवन निर्माणमा लगानी गरिने योजना छ । हाल सुर्खेतस्थित आश्रमको संरक्षणमा घरपरिवार गुमाएका ४२ पुरुष, २९ महिला र ४ जना केटाकेटी गरेर ७५ जनाले सेवा प्राप्त गरिरहेका छन् ।

वीरेन्द्रनगर सुर्खेतको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बस मार्फत् बिहीबार बुटवलतर्फ प्रस्थान गरेको छ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘रामनगर खेलमैदान’मा नेपथ्य पुस ९ गते शनिबार प्रस्तुत हुँदैछ ।

तस्बिरहरु: दिपित राज र नेपालय