२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

सावनको डोलामा पिङ खेल्दै राना थारु गाउँका दिदीबहिनी

सावनको डोलामा पिङ खेल्दै राना थारु गाउँका दिदीबहिनी
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन् । साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो ।

राना थारु बसोवास गर्ने गाउँमा साउनमा सार्वजनिक स्थानमा पिङ राख्ने गरिन्छ । परम्परागत पहिरनमा सजिएका राना थारु महिलाहरु आफ्नै स्थानीय भाषा र परम्परागत शैलीमा गीत गाउदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् । सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजुभाइले दिदीबहिनीहरुका लागि पिङ राख्ने चलन पुरानै रहेको भलमन्सा रामप्रसाद रानाले बताउनुभयो ।  “यो चलन परम्परागतरूपमा चल्दै आएको छ”, उहाँले भन्नुभयो,  “दिदीबहिनीहरुले पिङमा मच्चिँदै रमाइलो गर्दै माङ्गलिक गीतहरु गाउने गर्दछन् । पिङलाई रानाथारु भाषामा डोला भन्ने गरिन्छ । चारवटा काठको खाँबोमा डोरीमा काठको फल्याक बाँधेर पिङका रूपमा प्रयोग गरिन्छ ।”

पिङ खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिइने गरिएको राना थारु अगुवा गेंदुराम रानाले बताउनुहुन्छ ।

दिदीबहिनीले पानीसमेत नपिएर निराहार बसी दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् । यसै अवसरमा उनीहरुले तीज मनाउने गर्दछन् । निराहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।  

गडरौंदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहिताले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्तिसँगै विसर्जन गर्ने चलन रहेको छ । विसर्जन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धार जस्तै दाजुभाइको आयु बढोस् भनी वरदान माग्ने गर्दछन् । जति टाढा घाँस बगेर जान्छ त्यति बढीनै दाजुभाइको आयु बढ्ने विश्वास यस समुदायमा रहेको छ । विसर्जन गर्न जाने बेला गाँउका युवाहरुले दिदीबहिनीहरुलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हँस्यौली ठट्यौली र मनोरञ्जन लिने गर्दछन् । यसलाई राना थारु भाषामा झुड्की छिराउने भन्ने गरिन्छ ।
   
माइतीलाई भेट्न नपाएका दिदीबहिनीहरु यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसलाई वर्षभरिको सुखदुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन । यस अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ । तीजका अवसरमा महिलाहरुले घंघरिया, अंगिया, फतुइ र घुँगट लगाउने गर्छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन ।

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रूपमा रहेको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यस पर्वलाई मनाउँछन् । साउनको शुक्ल तृतीयाका दिन यस पर्वको विधिवत्रूपमा समापन गरिन्छ ।

दाजुभाइले तीज पर्व आउन १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ । परम्परागत राना थारु समुदायका महिलाहरुले मनाउने यो पर्व साउन महिनाभरि मनाइने गरिन्छ । आधुनिक परिवेशसंँगै यस पर्वको मौलिकता खस्किँदै जान थालेको छ । युवा पुस्ताले यस पर्वलाई महत्व नदिँदा ओझेलमा समेत पर्न थालेको छ । केही राना थारु गाउँमा जागरुक युवाहरुले परम्परागत संस्कृति र चालचलन जोगाउनका लागि समाजमा जागरणका माध्यमबाट कार्यक्रम अगाडिसमेत बढाउँदै आएका छन । रासस