२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

निषेधाज्ञा खुकुलोसँगै आशावादी बने पर्यटन व्यवसायी

निषेधाज्ञा खुकुलोसँगै आशावादी बने पर्यटन व्यवसायी
अ अ+ अ-

– नारायण अधिकारी 

चितवन । कोरोना सङ्क्रमणका कारण एक वर्षभन्दा बढी समयदेखि प्रभावित बनेका यहाँका पर्यटन व्यवसायी र मजदूरमा आशा जागेको छ । कोरोनाको दोस्रो लहरसँगै निरास बनेका व्यावसायी आउँदा दिन सहज बन्ने अपेक्षामा छन् ।

गत वर्षको चैतयता विदेशी पर्यटक आउन नसक्दा यहाँको पर्यटन व्यवसाय प्रभावित बनेको छ । बीचका केही महिना आन्तरिक पर्यटकले केही सहज भएको भए पनि पछिल्ला दिन कष्टकर बनिरहेका छन् । होटल, रेस्टुराँलगायतका व्यवसायीले बैंक लगायतको ऋण तिर्न सकेका छैनन् भने मजदूरको अवस्था थप जटिल बनेको छ ।

कोरोनाको दोस्रो लहर घटेसँगै क्रमशः होटल आंशिकरुपमा खुल्न थालेका छन् । जङ्गल सफारीलगायतका केही गतिविधि शुरु भएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दिपक भट्टराईले आन्तरिक पर्यटक आउन थालेको बताउनुभयो । दैनिक १०० हाराहारी पर्यटक सौराहा क्षेत्रका होटलमा आएको उहाँको भनाइ छ । कतिपय घुमेर फर्कने गरेका छन् । पर्यटन मजदूरलाई कोरोनाविरुद्धको खोप लगाउनसकेमा पर्यटकको सङ्ख्या बढ्ने र मजदूर सुरक्षित हुने व्यवसायीको भनाइ छ । 

भट्टराईले भन्नुभयो, “अब कोरोना नबढे क्रमशः पर्यटक बढ्ने थिए ।” वर्षात्को समय पर्यटनका लागि राम्रो समय मानिँदैन । यो पर्यटनका हिसाबले अफ सिजन हो । दशैँअघिबाट पुनः पर्यटक आउन थाल्दछन् । वर्षात्को समयमा सौराहामा बाढी आउने भएकाले समस्या हुने गर्दछ । निकुञ्जभित्रका गतिविधि वर्षात्को समयमा सधैँ बन्द गर्ने गरिन्छ । 

सामुदायिक वनमा हात्ती सफारीलगायतका गतिविधि खुला हुने गर्दछन् । रेस्टुराँ एण्ड बार एशोसियसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाका अनुसार पारिवारिकरुपमा घुम्न आउनेक्रम शुरु भएको छ । सौराहामा १२० होटल र ५६ रेस्टुराँ दर्ता भएर सञ्चालनमा छन् । उहाँले भन्नुभयो, “कोरोना घटेसँगै केही उत्साह थपिएको छ ।” आउँदो सिजनबाट व्यवसाय पूर्ववत् अवस्थामा फर्कने आशामा आफूहरु रहेको खतिवडा बताउनुहुन्छ ।

हाल होटल, रेस्टुराँ आंशिकरुपमा खुलेका हुन् । होटलमा ३३ प्रतिशत पाहुना राख्न पाइन्छ भने रेस्टुराँ साँझ ७ः०० बजेपछि सञ्चालन गर्न पाइँदैन । सौराहाको जङ्गल सफारी लजका कार्यकारी निर्देशकसमेत रहनुभएका क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे होटलका बारेमा बुझ्नेको टेलिफोन निकै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यस वर्ष मेरोमा ३०० भन्दाबढी कोठा अग्रीम बुकिङ भइसकेका छन् ।” कोरोना नबढे यस वर्ष धेरै राम्रो हुने उहाँको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत सौराहा आउने गर्दछन् । सौराहा आएकामध्ये ७० प्रतिशतले पर्यटकीय गतिविधिमा सहभागिता जनाउने गरेको घिमिरे बताउनुहुन्छ । घरमा लामो समय बस्दा पट्यार लागेर घुम्न जान खोज्ने धेरै भए पनि अब कोरोना के हुन्छ भन्ने अन्योल कायमै रहेको उहाँले बताउनुभयो । घिमिरेले थप्नुभयो, “कोरोना नियन्त्रणमा आयो भने पर्यटन क्षेत्र धेरै राम्रो हुन्छ ।”

पश्चिम चितवनको पटिहानीमा रहेको जङ्गलभित्रका सञ्चालक गणेश पौडेल पर्यटक आउनेक्रम शुरु भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “तालिमलगायतका कार्यक्रमका लागि फोन आइरहेका छन् ।” कोरोना बढेन भने व्यवसाय पूर्ववत् अवस्थामा फर्कने उहाँको भनाइ छ । पटिहानी क्षेत्रमा १७ साना ठूला होटल छन् ।

साराङ वाइल्ड लाइफ मेघौली र सेन्ट्रल पाम नारायणगढका सञ्चालक सुबोध प्रधान बिस्तारै पर्यटक आउन थालेको बताउनुहुन्छ । क्रमशः पर्यटक बढ्दै जाने अपेक्षा व्यवसायीको भएको प्रधानले बताउनुभयो । सौराहाका होटलमा मात्र पाँच हजार ५०० मजदूर कार्यरत छन् । तीसँगै हात्तीका १५०, डुङ्गाका २००, जीपका १०० र नेचर गाइड ३०० हाराहारी कोरोनाकै कारण पर्यटन व्यवसाय बन्द हुँदा प्रभावित भएका छन् ।

नेचर गाइड एशोसियशन सौराहाका सदस्य नारायण रिजाल गत वर्षको चैतयताबीचमा एक महिना सामान्य काम भए पनि अरु समय पर्यटकको पर्खाईमा बितेको गुनासो गर्नुहुन्छ । कोरोना सङ्क्रमणका कारण आफू जस्ता ३०० हाराहारी बेरोजगार हुनुपरेको उहाँको गुनासो छ । बाहिरबाट यहाँ बसोबास गर्ने गाइड सङ्कटमा परेको रिजालले बताउनुभयो । कोरोना बढेन भने पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कला भन्ने आशामा आफूहरु रहेको उहाँको भनाइ छ ।

नेपाल र भारतमा कोरोनाविरुद्धको खोप नलगाएसम्म विदेशी पर्यटक नआउने भन्दै उहाँले छिटो  खोप पाए सहज हुने बताउनुभयो । सन् २००८ बाट यो पेशा थाल्नुभएका रिजाल विगतमा अहिलेसम्म यो अवस्था आएको थिएन भन्नुहुन्छ ।

गत वर्ष कोरोना सङ्क्रमणपछि यसको प्रभावका बारेमा अध्ययन गरिएको थियो । अध्ययन गर्ने टोलीमध्येका अगुवा पर्यटनविद् डा विश्वराज सुवेदी कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमा ठूलो नोक्सानी पुर्‍याएको बताउनुहुन्छ । सौराहाका होटलमा मात्र बन्द हुँदा दैनिक रु ५६ लाख र रेस्टुराँमा रु ५२ लाख नोक्सानी हुने उहाँको भनाइ छ । सौराहाका होटलमा रु १५ अर्बभन्दा बढी लगानी छ ।  

जिल्लाका सात पालिकामा होटल तथा रेस्टुराँ एक हजार १०० भन्दाबढी छन् । तिनीहरुमा रु १० अर्बभन्दा बढी लगानी भएको भन्दै सुवेदी १२ हजार ५५० ले आंशिक रोजगारी पाएको जानकारी दिनुभयो । त्यसमा बन्द हुँदा दैनिक रु दुई करोड २० लाख नोक्सान भएको सुवेदीको भनाइ छ ।

मेघौलीमा पर्यटन क्षेत्रमा रु एक अर्ब लगानी भएको बताइन्छ । सोह्र उच्चस्तरका होटल रहेको मेघौलीमा ४५० मजदूरले काम गर्ने गरेको उल्लेख गर्दै उहाँले सिजनका समयमा दैनिक रु आठ लाख ५० हजार हाराहारी व्यापार हुने गरेको जानकारी दिनुभयो । रु चार अर्बभन्दा बढी लगानी भएको पटिहानीमा ७०० ले रोजगारी पाएका छन् । होटल राम्रो चल्दा दैनिक रु ११ लाखको व्यापार हुने तथ्याङ्क छ । जिल्लामा रिसोर्ट, होटल, जीप, डुङ्गा, हात्ती, टाँगामा रु ३० अर्बभन्दा बढीको लगानी छ । सुवेदीको भनाइमा जिल्लाका २२५ पर्यटकस्तरीय होटलमा दैनिक रु एक करोड ५० लाख र अन्यमा रु एक करोड ५० लाख हाराहारी नै व्यापार हुने गरेकामा कोरोनाबाट प्रभावित बनेको हो ।

जिल्लामा आउने पर्यटकको पहिलो रोजाई जङ्गल सफारी हो । आर्थिक वर्ष २०७२/०७३ मा ८७ हजार ३९१ पर्यटक यहाँ घुमेका थिए । सोमध्ये नेपाली ३० हजार ५९२, सार्क मुलुकका छ हजार ६०६, तेस्रो मुलुकका ५० हजार १९३ रहेका थिए । अघिल्लो वर्ष भूकम्प गएकाले त्यस वर्ष पर्यटकको सङ्ख्या निकै घटेको थियो । आर्थिक वर्ष २०७३/०७४ मा यो सङ्ख्या एक लाख ३९ हजार ९७८ रहेको थियो । त्यसमा ३६ हजार ५३ नेपाली, १५ हजार ९०६ सार्क मुलुक र ८८ हजार १९ तेस्रो मुलुकका थिए ।

आव २०७४/०७५ मा क्रमश सङ्ख्या बढेर एक लाख ५२ हजार ६७१ पुगेको थियो । त्यसमा ३४ हजार ५० नेपाली, ९८ हजार ९२५ तेस्रो मुलुक र १९ हजार ६९६ सार्कका रहेका थिए । त्यसको पछिल्लो वर्ष २०७५/०७६ मा यो सङ्ख्या बढेर एक लाख ८७ हजार १०९ पुगेको थियो । त्यस वर्ष ४४ हजार ६२३ नेपाली, सार्क मुलुकका २४ हजार ७७९ र तेस्रो मुलुकका एक लाख १७ हजार ७०७ रहेका थिए । आव २०७६/०७७ मा मुख्य सिजन कोरोनाबाट प्रभावित नभएकाले पर्यटकको सङ्ख्या एक लाख ८२ हजार ४३५ पुगेको थियो । नेपाली ८९ हजार ४४१, सार्क मुलुकका १४ हजार २३९ र विदेशी ७८ हजार ७५५ रहेका थिए । चैतको पहिलो सातासम्म पर्यटक आएकाले तुलनात्मक हिसाबले सङ्ख्या राम्रो भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।  

गत वर्ष आव २०७२/०७३ कै हाराहारीमा ९२ हजार २०९ पर्यटक मात्र यहाँ घुम्न आएको तथ्याङ्क छ । त्यसमा ८९ हजार ६०१ नेपाली, एक हजार ३६४ सार्क मुलुक र एक हजार २४४ तेस्रो मुलुकका छन् । रासस