• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने

संसद् सचिवालय शपथको गृह कार्यमा



काठमाडौं । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ ।

नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसक्नुभएको छ । हाल नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ ।

कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ । सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिनुभएको थियो । उहाँहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा शपथ लिनुभएको थियो ।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न ९लोगो० प्रदान गर्नेछ । सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब रु पाँच हजार आठ सयको लागतमा तयार भएको हो । शपथ दिलाउने दिन हालसम्म यकिन भइनसके पनि आगामी पाँच दिनभित्रै त्यो समारोह नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।

सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।रासस