२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महापुरुष’ एक्काउनौँ दिनमा



अ+ अ-

काठमाडौँ । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ ।

कोरोना महामारीपश्चात् हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ ः द फाइनल म्याच’ पश्चात् यसले ५१औँ दिन पूरा गर्दै घरेलु बक्स अफिसबाट नै रु १० करोड कमाउन सफल भएको छ । चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई सफलताले दायित्व बोध बढेको बताउनुहुन्छ ।

“दर्शकको साथले थप ऊर्जा मिलेको छ”, उहाँले भन्नुभयो । नेपाल मात्र नभई अमेरिकामा समेत आठौँ हप्तामा चलचित्र प्रदर्शन भइरहेको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियबजारमा विस्तार गर्न मद्दत पुगेको निर्देशक भट्टराईको भनाइ छ । उहाँले यस अगाडि निर्देशन गर्नुभएको जात्रा, शत्रु गते र जात्रै जात्रा चलचित्रले समेत ५१औँ दिन पार गरेको थियो ।

‘मह सञ्चार’सँग डेढ दशकसम्म टेलीचलचित्रमा सहायक भएर सहकार्य गरेपछि निर्देशक बन्नुभएका भट्टराईले सफलताको श्रेय मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नै दिनुहुन्छ । “उहाँहरूबाट नै सिकेर निर्देशन गर्न पाएको छु । स्कुल पढेर दिएको परीक्षामा पास भए झैँ महसुस भएको छ”, उहाँले भन्नुभयो ।

अमेरिका भ्रमण सकेर नेपाल फर्किनुभएका अभिनेता आचार्यले निर्देशक भट्टराई सुरुआती दिनदेखि नै प्रतिभावान् रहेको बताउनुभयो । “टेलीचलचित्र हामीले उहाँलाई जिम्मा लागाउँथ्यौँ । उहाँको कामले हाम्रो मन जितिसकेको थियो । आज चलचित्रमा समेत सफल हुँदा खुसी लाग्छ”, अभिनेता आचार्यले भन्नुभयो ।

चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ ।

नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको महापुरुष गत डिसेम्बर १ तारिखदेखि कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित चलचित्र महापुरुषको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता दीपेश खत्री रहनुभएको छ । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन र मित्र डी गुरुङको सम्पादन रहेको छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारका रुपमा डेब्यु गर्नुभएको छ ।