२ भाद्र २०८३, मंगलवार
,
Latest
विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोखामा चाकु बनाउन चटारो



अ+ अ-

काठमाडौं । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो ।

टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यहाँ उत्पादित चाकु जापान र अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ ।

नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो ।

टोखामा झण्डै पाँच दशकदेखि चाकु उत्पादन गर्दै आउनुभएका टोखा चाकु उद्योगका सञ्चालक राजकाजी श्रेष्ठ टोखाको चाकु नेपाल मात्र नभइ विश्वका विभिन्न मुलुकबाटसमेत माग आइरहेको बताउनुभयो । चाकुको माग अत्यधिक भए पनि बजारसम्म पु¥याउन भ्याइनभ्याइ भएको उहाँको भनाइ छ ।

टोखाका उद्योगमा हाल सादा चाकुू मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।

टोखा नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँ उत्पादन भएको चाकुलाई ब्राण्डिङ गर्ने समेत घोषणा गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कराज पाठक बताउनुहुन्छ । “टोखामा उत्पादित चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

टोखा काठमाडौँ क्षेत्र नं ५ मा पर्दछ । काठमाडौँ क्षेत्र नं ५ का नवनिर्वाचित सांसद प्रदीप पौडेल टोखाको चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि आफूले पहल गर्ने बताउनुभयो । “टोखा चाकुको लागि प्रख्यात क्षेत्र हो, यसलाई विश्वमाझ चिनाउनका लागि म लाग्नेछु”, उहाँले भन्नुभयो ।

टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो रु एक सय ३० देखि एक सय ३५ सम्म बिक्री वितरण हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ ।

चाकु चिसो लागेका बेला पनि खाने चलन छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।रासस