• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

पोर्चुगीज प्रशिक्षक सान्तोसले दिए राजीनामा



एजेन्सी । पोर्चुगल राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले राजीनामा दिएका छन् । विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि उनले यो निर्णय गरेका हुन् । योसँगै अब जोसे मोउरिन्हो पोर्चुगलको नयाँ प्रशिक्षकमा नियुक्त हुन सक्ने बताइएको छ ।

पोर्चुगलको फुटबल महासंघले ६८ वर्षीय सान्तोससँग सम्झौता भएको जनाउँदै एक विज्ञप्ति जारी गरेको छ – ‘सेप्टेम्बर २०१४ मा सुरु भएको सफल यात्रा अब अन्त्य हुँदैछ ।’ अब अर्को राष्ट्रिय प्रशिक्षक छनोटको प्रक्रिया सुरु गर्ने महासंघले बताएको छ । युरो २०२४ अघि महासंघ मोउरिन्होलाई पोर्चुगलको नयाँ प्रशिक्षक बनाउन चाहने बुझिएको छ ।

शनिबार कतारमा मोरक्कोसँग १–० ले पराजय भोगे पनि सान्तोस पोर्चुगलको प्रशिक्षक पदबाट बर्खास्त नहुने कुरामा अडिग थिए । उनले आठ वर्षदेखि यो जिम्मेवारी सम्हालेका थिए । यद्यपि, उनले स्वीकार गरे कि सबैजना विश्व कपमा उनको निर्णयमा सहमत थिएनन्, जसमा पछिका खेलहरूमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्नु थियो ।

सन् २०१४ सेप्टेम्बरमा पोर्चुगलको प्रशिक्षकको जिम्मेवारी सम्हालेका सान्तोसले युरो २०१६ र २०१९ नेसन्स लिगमा देशको पहिलो प्रमुख उपाधि जितेका थिए । यद्यपि, उनको कार्यकालमा पोर्चुगलको टोली २०१८ विश्वकप र युरो २०२० मा अन्तिम १६ बाटै बाहिरिएको थियो ।