५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडोसँगै सुनसान बन्यो तोक्पेगोला



अ+ अ-

ताप्लेजुङ । चिसो बढेसँगै ताप्लेजुङको हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान हुन पुगेको छ । हिउँदको चिसो छल्न यहाँका मानिस बस्ती छाडेर अन्यत्र सरेपछि तोक्पेगोला सुनसान बन्न पुगेको हो ।

हिउँदको कठ्याङ्ग्रिदो जाडो सुरु भएसँगै यहाँका बासिन्दा तल्लो भेगमा पर्ने पापुङ, दोङ्गेन, तार्तोङ, लाम्साङ र सङ्खुवासभाको गुफालगायत ठाउँमा गएर बस्न थालेका छन् । हरेक वर्षको जाडो याममा उनीहरु याक, चौँरी गोठसहित ती ठाउँमा गएर बस्ने गर्छन् । याक गोठ हुने गुफा र सिम्बोकका क्षेत्रमा पुग्छन् भने गाईगोठ हुनेहरु औँलका गाउँबस्तीतिर झर्छन् ।

पशुपालन व्यवसाय गर्नेबाहेक अन्य व्यक्ति घुमघामका लागि सिक्किम, दार्जलिङ, काठमाडौँलगायत ठाउँमा जान्छन् । जाडो नहुँदा तोक्पेगोलामै विभिन्न काम र व्यवसाय गरेर समय बिताउने उनीहरु जाडोको समयलाई घुमघामको अवसर र फुर्सदका रुपमा लिन्छन् ।

मिक्वाखोला गाउँपालिका–५ पापुङमा पर्ने तोक्पेगोलामा २७ घरपरिवारको बसोबास छ । यहाँका वडाध्यक्ष ग्यान्जे शेर्पाका अनुसार मङ्सिर लागेसँगै यहाँको बस्ती मानवविहीन हुन्छ । यहाँका घरमा भोटे ताल्चा लगाइएका छन् । नजिकैका स–साना खोल्सी र पोखरीमा पानी जम्न थालेको छ भने डाँडाकाँडा हिउँले ढाकिएको छ । हिजोआज गाउँ छाडेर हिँडेका व्यक्ति बैशाख–जेठदेखि पुनः यही बस्तीमा फर्किन्छन् ।

करिब तीन हजार मिटरभन्दा माथिको उचाइमा पर्ने तोक्पेगोलामा प्राय ढोक्प्या जाती मात्र बस्छन् । पशुपालन, जडीबुटी सङ्कलन तथा व्यापार यहाँका बासिन्दाको मुख्य पेसा हो ।

यस क्षेत्रमा शैक्षिक संस्था तथा विद्यालय नभएकाले प्रायःजसो बालबालिका बाक्लो बस्ती रहेको पापुङ, सदरमुकाम फुङलिङलगायतका ठाउँमा बसेर अध्ययन गर्छन् । कतिपय बालबालिकालाई आफ्ना अविभावकले काठमाडौँ, भारतको सिक्किम, दार्जलिङलगायत ठाउँमा राखेर पढाउने गरेकाकाले जिल्ला बाहिर रहेका आफ्ना बालबच्चालाई पनि जाडोको समयमा भेट्ने अबसर मिल्छ ।

बर्खाभर गाउँबस्तीमै बसेर काम गर्नुपर्ने, पशुचौपायाको हेरचाह गर्नुपर्ने र यातायातको समेत सुविधा नहुँदा झट्ट निस्किएर हिँड्न नपाइने भएकाले जाडोकै समयमा घुमघामका लागि निस्कन सहज हुने स्थानीयवासी मिलन शेर्पाले बताउनुभयो । तल्लो क्षेत्रमा गोठ सारेपछि थोरै जनशक्तिले पनि गोठको रेखदेख गर्न सक्ने भएकाले आलोपालो गरेर घुमघाममा निस्कने गरेको उहाँको भनाइ थियो ।
तोक्पेगोलादेखि सदरमुकाम फुङलिङ आइपुग्न सवारी साधनमा र पैदल गरी कम्तीमा दुई दिनको समय लाग्छ । तोक्पेगोलादेखि साँवासम्म हिँडेर र त्यसयता गाडीमा चढेर सदरमुकाम आउन सकिन्छ । केहिदिन अघि मात्र पापुङमा सडक पुगेको छ ।

सडक पुगेपनि सवारीसाधन नियमित ओहोरदोहोर सुरु भएको छैन । तोक्पेगोलामा साउनदेखि असोज, कात्तिकसम्म आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । तोक्पेगोला नजिकै सोदु पोखरी, भूतपोखरीलगायत दर्जनौँ पोखरी रहेकाले घुमघामका लागि सदरमुकामलगायत अन्य क्षेत्रका मासिन यहाँ आइपुग्ने गर्दछन् ।

बर्खाभर आन्तरिक पर्यटकको आगमनले पनि चहलपहल हुने तोक्पेगोलामा हिउँद लागेपछि भने बर्सेनि सुनसान हुन्छ । दर्जनौँ पोखरीका साथै रमणीय ठाउँ भएकाले घुम्न र अवलोकनका लागि सो क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटक पुग्ने गरेका हुन् । वर्षेनि नागपञ्चमीका दिन ढोक्प्या जातीहरुले ढुक्पाछेसी पर्व मनाउने र पर्वकै अवसरमा खेलकुदलगायत कार्यक्रम गर्न थालिएकाले आन्तरिक पर्यटकको आकर्षण पनि बढ्दै गएको स्थानीयवासीले बताए । रासस