२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

चितवनमा पनि जम्यो नेपथ्यको लोकरक साँझ -फोटो फिचर

चितवनमा पनि जम्यो नेपथ्यको लोकरक साँझ -फोटो फिचर
अ अ+ अ-

भरतपुर । बत्तीका चकमन्न रंगीविरंगी धर्काहरुले आकाश र भुइँ सबैतिर तिरिमिरि उज्यालो देखाइरहेकै बेला मञ्चमा चढेका गायक अमृत गुरुङले गाउन सुरुगरेः
‘आकाशैबाट के उडि आयो
भेँडाको ऊनजस्तो’

उता मञ्चको माथिल्लो भागबाट हिउँ पर्दैगरेको भान पार्नेगरि स्नो इफेक्टको प्रयोग गरिएको थियो । तल साँगीतिक उत्तेजनामा चिच्याइरहेका झण्डै साढे छ हजार दर्शकको आवाजले मञ्चको ध्वनीलाई समेत चूनौति दिइरहेको थियो ।

हेटौंडामा आयोजित अघिल्लो कन्सर्टमा ब्याण्डकै स्थापनाकालीन गीत ‘आँगनैभरि’बाट सुरुगरेको नेपथ्यले यसरी चितवनमा भने दर्शकहरुमाझ लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतीका रुपमा छनौट गरेको थियो । प्रतिक्रियामा चार वर्षपछि यस सहरमा फेरि आएको ब्याण्डलाई दर्शकहरुले भरपुर स्वागत गरे ।

चितवनका दर्शकहरुसँग नेपथ्यको सम्वन्ध निकै पुरानो हो । सबैभन्दा पहिलो कन्सर्ट यहाँ ब्याण्ड स्थापनालगत्तै गणेश चलचित्र मन्दिरमा सन् १९९५ मा आयोजना गरिएको थियो । त्यो क्रम बढ्दै पछिल्लोपटक ब्याण्ड सन् २०१८ मा यहाँ प्रस्तुत भएको थियो । त्यतिबेला नारायणी नदीको किनारमा कन्सर्ट आयोजना गरिएको थियो भने यसपाला पहिलोपटक क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो।

मैदानभरि अटाएका दर्शकहरुको भब्य र सभ्य उपस्थितीले यसरी मुलुकभरको यात्रामा निस्केको नेपथ्यको यो चौथो प्रस्तुती पनि ब्यापक रुपमा सफल भएको छ । महिनादिन लामो यात्रा अन्तर्गत यसअघि बिराटनगर, वीरगन्ज र हेटौंडामा यस्तै भब्य कन्सर्ट सम्पन्न भइसकेका छन् ।

यसरी करिब डेढ दसक पुरानो गीतबाट सुरुगरेको ब्याण्डले दोश्रो गीत भने झण्डै तीन दसक पुरानो सुनाएको थियो । गीत थियो ‘छेक्यो छेक्यो देउराली डाँडा’। नेपथ्यको सर्वकालीक हिट यो गीत ब्याण्डको दोश्रो एल्बम ‘हिमाल चुचुरे’मा अटाएको थियो ।
यो गीत सकिनेबित्तिकै गायक अमृतले दर्शकहरुलाई अभिवादन गरेका थिए ।

‘नारायणघाट आउँदा जहिले पनि म उहि ३० वर्ष अघिको अमृत गुरुङ हुँ जस्तो महशुस हुन्छ,’ उनले भनेका थिए, ‘भेरि भेट्ने जोग जुरेको बेला सबैलाई स्वागत छ है ।’

त्यसपछि ‘अब तपाइँहरुलाई म रोदीघरतिर लैजान्छु’ भन्दै उनले तेश्रो गीत सुनाएका थिए ‘खान्न म त लामपाते सुरती’। यसरी धमाधम तीनवटा लोकप्रिय गीतहरु सुनाउन्जेल मंसिर अन्त्यको चिसोकै बीच पनि चितवनका दर्शकहरुमाझ ब्यापक तापक्रम फैलिसकेको थियो ।

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि म-यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता दिएका थिए ।

‘हामी २०४२ सालमा सात दिन लगाएर जोमसोम पुगेका थियौं,’ अमृतले दर्शकहरुलाई भने, ‘अब यो देवघाटबाटै बगेको कालीगण्डकी किनारै किनार पुगिने त्यो हिमाली भेग एकै दिनमा जान सकिन्छ ।’

यसरी मुलुक घुम्न सजिलो भएको बेला यो मौका नछुटाउन र आफ्नो देशलाई राम्ररी बुझ्न सम्पूर्ण दर्शकलाई आव्हान गरे । अमृतले त्यसपछि धौलागिरितिरै तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । ‘जीवन भनेको आज छ भोली के हुन्छ थाहा छैन,’ उनले भनेका थिए, ‘आफू बाँचे पनि समाजका अरु मानिसहरु बाँच्न पाएका छन् कि छैनन् भन्ने चिन्ता लिँदै गच्छे अनुसारको दान सबैले गरौं है ।’

घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको मानवसेवा आश्रमसँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो । यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो ।

गुरुङले अघिल्लो दिन शनिबार मात्रै ‘मानव सेवा आश्रम’को चितवनस्थित शाखा कार्यालय भ्रमण गरेका थिए । त्यस अवसरमा उनलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले स्वागत गरेकी थिइन् ।

मुलुकभर सडकमा आश्रितहरुलाई उद्धारगर्दै खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ ब्याण्ड संगीतका माध्यमबाट आश्रमसँगै मिलेर मानवताको सेवातर्फ मोडिन चाहेको अमृतले प्रष्ट पारेका थिए ।

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा क्याम्पाचौर मैदानमा भरिएका अधिकांश दर्शकहरुले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो ।

त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः

‘चुनाव सकिएको छ । अब आफ्ना वाद र विचारलाई आफैमा सीमित राखेर मुलुक बनाउनेतर्फ सबै एकजुट होऔं है’
धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो ।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

‘नेपथ्य आउने समाचारले धेरै दिनदेखि यो क्षण कहिले आउलाजस्तो लागिरहेको थियो,’ साथीहरुको भिडकै बीच नृत्य गरिरहेकी सिर्जना अधिकारीले भनिन्, ‘यसपाला हामीले काटेको टिकटबाट मानवसेवामा पनि योगदान पुग्दैछ भनेर झनै खुशी लागेको छ ।’

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्टले बिराटनगर, वीरगन्ज र हेटौंडापछि चितवनमा पनि ब्यापक सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे । ‘चितवनमा स्व। विष्णुगोपाल श्रेष्ठको परिवारबाट प्राप्त जग्गा र दाताहरुकै सहयोगमा मानवसेवा आश्रम तयार भइसकेको छ,’ उनले भने, ‘यो कन्सर्टबाट उठेको रकमले हामी थप भवनको निर्माणका साथै आश्रितहरुको संरक्षण र पालनपोषणमा लगानी गर्नेछौं ।’

चितवनको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बस मार्फत् सोमबार नेपालगञ्जतर्फ प्रस्थान गर्नेछ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘नेपालगञ्ज रंगशाला’मा नेपथ्य मंसिर २९ गते बिहीबार प्रस्तुत हुँदैछ ।

तस्बिरहरु- दिपित राज र नेपालय