• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

ए डिभिजन लिग समयमै हुनेमा आशंका



काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको मेरुदण्ड मानिने शहीद स्मारक ए डिभिजन लिग पुस २६ बाट आयोजना गर्ने निर्णय गरिसकेको छ । महिना दिन बाँकी रहेको अवस्थामा सहभागि हुने क्लबले अहिलेसम्म दर्ता गराएका छैनन् ।

अघिल्लो संस्करणको वक्यौता रकम बाँकी रहेको अवस्थामा क्लबले सहभागिता जनाउन चाहिरहेका छैनन् । सहभागि हुने क्लबलाई एन्फाले पुस पहिलो साता भित्र क्लब दर्ता गराएर पहिलो किस्ताको तयारी खर्च लिन पत्राचार गरेपनि प्राविधिक हिसावमा भने क्लबहरु तयारी नपुगेको भन्दै चिन्तित छन् । यसले निर्धारित मितिमा नै लिग हुन्छ भन्नेमा अन्योलता भएको छ ।

शहीद स्मारक ए डिभिजन लिग घोषित मितिमा नै गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लबलाई पत्राचार गरिसकेको छ । पुस पहिलो साता भित्र दर्ता गराए लिग तयारी खर्च दिने भनिए पनि क्लबले अघिल्लो संस्करणको लिगको वक्यौता रकम दिन माग राख्दै दर्तालाई विलम्व गरिरहेका छन् । वक्यौता रकम नपाएको भन्दै केही साता अघि मात्र केही अधिकांश क्लबले एन्फामा रकम भुक्तानीको ज्ञापन पत्र बुझाएका थिए ।

तिनै मध्येको संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फाबाट पठाएको पत्र अनुसार तयारी खर्च उपलब्ध गराएको अवस्थामा क्लब दर्ता गर्न तयार भएको बताउनु भयो । सधैँ लिग आयोजना गर्दा ठूलो मात्रामा रकम खर्च हुने गरेको र छुट्टयाएको रकम समयमा पाउन नसक्दा क्लव सञ्चालनमा समस्या भएको बताउनु भयो । उहाँले एन्फा र क्लबबीच डबल लिग, काठमाडौं भन्दा बाहिर लिग आयोजना र कम्तीमा पनि ६ महिना लिग सञ्चालनको अवधि निश्चित भएको खण्डमा मात्रै आफूहरु लिग खेल्न तयार भएको बताउनु भयो ।

अध्यक्ष तुलधारले तोकिएको मितिमा लिग हुन प्राविधिक हिसावमा कठिन हुने भएकाले लिग नहुनेमा क्लब चिन्तित भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एन्फाको निर्देशन पालना गर्नु क्लवको दायित्व हो । एन्फाले दिएको निर्देशन हामीले पालना गर्छौं । लिगको स्टेकहोल्डर भएको नाताले हामीले सल्लाह सुझाव दिन्छौं । लिग हामी सबैको साझा विषय हो । सल्लाह र सुझाव लिन्छौं र दिन्छौं पनि । एन्फा र क्लवबीच ए डिभिजन लिगका विषयमा भएको सहमति भनेको डबल राउण्ड रोबिन लिग गर्ने, लिग घटीमा पनि ६ महिना चालउने, काठमाडौं उपत्यका भन्दा बाहिर पनि आयोजना गर्ने विषयमा भएको छ । यसमा हामी सम्झौता गर्दैनौं ।

यस बाहेक अन्य विषयमा सम्झौता गरेर पनि अगाडि बढ्नसक्छौं । तीन मुख्य विषयमा भएको सहमति बेगर हामी क्लव सहमत छैनौं । एन्फाबाट पाउने पर्ने वक्यौतामा समस्या भएको र नयाँ सिजनका लागि पेस्की दिने विषयमा एन्फा पछाडि हटेको छ । यसमा हाम्रो विमती छ । उहाँहरुले पठाएको पत्र अनुसार टिम इन्ट्री गर्न तयार छौं । तर प्राविधिक हिसावमा तयारीको विषय चुनौतिपूर्ण छ । उहाँहरुले अध्ययन गर्नुभएको होला । यस्तो अवस्थामा हामी सहयोग गर्न तयारी छौँ र उहाँहरु आफ्नो प्रतिबद्धताबाट पटकपटक भाग्न पाउनुहुन्न ।’

एन्फाले भने निर्धारित मितिमा नै लिग सञ्चालनका लागि क्लब दर्ता गर्दै प्रक्रिया पूरा गरेर तयारी खर्च लिनका लागि आह्वान गरेको छ । एन्फाका महासचिव किरण राईले पुरानो वक्यौता भुक्तानीका लागि प्रक्रिया अगाडि बढीसकेको बताउनु भयो । त्यसका लागि एन्फाले मंसिर २३ सहभागि हुने सबै क्लबलाई पत्राचार गरेको र पुस पहिलो साता भित्र प्रक्रिया पूरा गरे क्लब दर्ता गरेर पहिलो किस्ताको रकम लिन आग्रह गर्नुभयो । यससँगै लिगको विषयमा रहेको अन्योलता हटेको महासचिव राईले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्लबको माग भनेको पुरानो वक्यौता पाउनुप¥यो र नयाँ सिजनका लागि पेस्की उपलब्ध गराउनुप¥यो भन्नुभएको हो । नयाँको पहिलो किस्ता हामीले दिँदैछौं । पुरानोको सन्दर्भमा प्रक्रिया नपुगेर रोकिएको छ । प्रक्रिया पूरा गर्न हामीले भनिरहेका छौं । प्रक्रिया पूरा गरिसेका क्लबको सन्दर्भमा भुक्तानीका लागि अगाडि बढाईसकेका छौं । लिग सुचारु गरिहाल्नुपर्ने भएकाले हामीले क्लवहरुलाई पत्राचार गरिसकेका छौं । पुस पहिलो साताभित्र क्लव दर्ता गर्दै सम्झौता गरेर तयारी खर्च लिन आग्रह गरेका छौं ।’

पछिल्लो समय फुटबल गतिविधि नहुँदा खेलाडीहरु विकल्पका बाटो रोजिसकेका छन् । केही खेलाडी व्यवसायिक फुटबलका लागि विदेशीएका छन् भने केही खेलाडीले फरक विधामा भविष्य खोजिरहेका छन् । मोफसलमा आयोजना हुँदै आएका प्रतियोगिता पनि एन्फाको क्यालेण्डरमा आयोजना हुन मुस्किल भइरकेको छ । सोही अवस्थामा विश्वभर फैलिएको कोरोना महामारीले अन्य क्षेत्रमा जस्तै फुटबलमा पनि व्यापक असर गर्यो । एन्फामा पंकजविक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएपनि निर्वाचनका बेलामा बाँडिएका एजेण्डा अनुसार फुटबलमा कामले गति लिनसकेको छैन ।

आफ्नो जीवन नै खेलमा समर्पण गरेका खेलाडीलाई फुटबल गतिविधि नहुँदा कठिन हुँदै गएको छ । मुस्किलले केही महिना मात्र हुने फुटबलले खेलाडीलाई बाँच्न गाह्रो भएको र विकल्पको बाटो रोज्नुपर्ने बाध्यता भएको नेपाली टोलीका पूर्व सदस्य विक्रम लामा बताउनु हुन्छ । पूर्व राष्ट्रिय खेलाडी लामाले फुटबलमा जीवनयापन गरीरहेका खेलाडी र फुटबल विकासका लागि घरेलु लिग व्यवस्थित र परिमार्जित हुनुपर्ने माग राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘फुटबलको घरेलु संरचना बलियो नभएसम्म देशको फुटबलको विकास हुँदैन भन्ने मान्यता संसारभरको नै हो । त्यसका लागि लिग निकै आवश्यक पर्छ । एउटा खेलाडीले खेलमा लाग्छु, प्रगति गर्छु भनेर लागि सकेपछि सबै विषयलाई छोडेको हुन्छ । यस्तै अवस्थामा घरेलु लिग हुनुपर्छ । फुटबल गतिविधि नहुँदा कतिपय खेलाडील विकल्पको बाटो खोज्नुपर्ने बाध्यता छ । अर्ध व्यवसायिक भएपनि खेलाडीहरु फुटबलसँग जोडिएका छन् । खेलाडीले आर्थिकविषयमा जोडिएका पनि छन् । ती खेलाडीले परिपूर्ति गर्न नपाएको खण्डमा विकल्पको बाटो खोज्न बाध्य छन् । यो विषय हिजोदेखि भएको थियो र अहिले पनि छ । यसका लागि फुटबलमा जीवनयापन गरिहेका खेलाडी र फुटबल विकासका लागि घरेलु लिग व्यवस्थित र परिमार्जित तरिकाले हुनुपर्छ ।’

क्लव र फुटबल संघको विवादले फुटबलको मेरुदण्ड मानिने लिग अहिले दुविधामा छ । फुटबल संघले निर्धारित समयमा नै लिग सञ्चालनको वाचा राखेपनि क्लवको मागले यसलाई दुविधामा पुर्याएको हो । यस्तै अवस्थामा खेलाडी लामाले क्लव, खेलाडी र संघले आपसी समझदारीबाट फुटबल सञ्चालनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । फुटबल भित्रको समस्या समग्र नेपाली फुटबलको समस्या भएको भन्दै असमझदारीका विषयलाई टुङ्ग्याउँदै फुटबल सुचारु गर्न माग गर्नुभयो । खेलाडीको अधिकार भनेको फुटबल खेलेर देशको प्रनिधित्व गर्ने भएको भन्दै लामाले स्वच्छ वातावरणमा फुटबल उपलब्ध गराउन जिम्मेवारी निकाकयसमक्ष आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘फुटबल संघको एउटै परिवार भएपछि केही असमझदारी हुन्छ । यसले केलाई असर गर्छ भन्दा समग्र नेपाली फुटबललाई गर्छ । यस्तो अवस्थामा हामीले आफ्नो असझमदारी सबै पक्षसँग बसेर टुङ्ग्याउनु पर्छ । यसले फुटबललाई फाइदा गर्छ । फुटबल विकासको लक्ष्यतिर पुग्छ । अहिले नेपाली फुटबल जुन संरचनामा छ त्यो संरचनाबाट परिवर्तन हुन जरुरी छ । खेलसँग जोडिएका खेलकर्मीका सबै विषयलाई सम्बोधन गरिनुपर्छ । सेवा सुविधा मात्र विषय होइन यसबापत फुटबललाई फाइदा हुनुपर्छ । खेलाडीको अधिकार भनेको फुटबल खेलेर देशको प्रनिधित्व गर्ने हो । स्वच्छ वातावरणमा फुटबल गतिविधि निर्वाद रुपमा चल्नुपर्छ ।’

पछिल्लो संस्करणको शहीद स्मारक ए डिभिजन लिग सकिएको झन्डै वर्ष दिन भइसेको छ । यो बीचमा संघमा नयाँ कार्यसमितिको प्रवेश भयो । तरपनि फुटबलको समस्या समाधानमा नयाँ नेतृत्व उदासीन देखिन्छ । यस्तो अवस्थामा लिग आयोजना गर्न आवश्यक रकम जुटाउन एन्फाले राष्ट्रिय खेलकुद परिषद् र अन्य निकायसँग सहयोगको अपिल गरेको छ । मुख्य प्रायोजकको रुपमा रहेको कतार एयरवेजले हात निकाल्दा एन्फा आर्थिक रुपमा संकटमा छ । आपसी खिचातानीमा रुमलिएको एन्फा नेतृत्व र कठिन आर्थिक अवस्थाले लिग समयमा नै नहुने प्रश्न पनि उत्तिकै छ ।