५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाराही मन्दिर पुनःनिर्माण गरिँदै



फाईल फोटो
अ+ अ-

लेखनाथ । विश्वकै पर्यटकीय क्षेत्र पोखराको लेकासाइड । त्यसैमा थप सुन्दरता र धार्मिक आस्थाको केन्द्र फेवातालको बीचमा अवस्थित बाराही भगवतीको मन्दिर । स्वदेशी तथा विदेशी भक्तजनको मन्दिरमा दर्शन र पूजाआजा गर्न दैनिक रुपमा भीड लाग्ने गर्छ । पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ ।

फेवातालको बीचभाग अर्थात् पानीको बीचभागको ढिस्कोमा मन्दिर भएकै कारण मन्दिर ढल्किँदा झनै जोखिम देखिएको छ । जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुनःनिर्माणका लागि बाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले पुनःनिर्माणका लागि काम अगाडि बढाइसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो ।

भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा भत्काएर हटाइसकिएको छ । विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गर्नुभएको थियो ।

पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनःनिर्माण गर्न लागिएको हो । मन्दिर पुन ःनिर्माण सम्पन्न गर्न रु एक करोड ४० लाख लाग्ने अध्यक्ष कुँवरले जानकारी दिनुभयो । प्यागोडा शैलीमै कालीगढ मगाएर वर्तमानस्वरुपमै मन्दिर पुनःनिर्माण गरिने अध्यक्ष कुँवरले बताउनुभयो । मन्दिर पुनःनिर्माण गर्न पुरातत्व विभाग र मन्दिर व्यवस्थापन समितिबीच यसै हप्ताभित्र सम्झौता गरिने जानकारी अध्यक्ष कुँवरले दिनुभयो ।

मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले रु ६५ लाख रहेको र अपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने व्यवस्थापन समितिले जनाएको छ । मन्दिर पाँच महिनाभित्र नै पुनः निर्माण गरिसक्ने बताइएको छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाइ मन्दिर स्थापना गर्नुभएको बताइन्छ । यस मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको छ ।

कतैकतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटोको ढिस्कामा एउटा शिला थियो त्यहींँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजिन थालिएको मन्दिरका पुजारी परशुराम पहारीले सुनाउनुभयो । सबै धर्मका व्यक्तिले मन्दिरमा प्रवेश पाउँछन् । पर्यटकीय नगरी पोखरास्थित यो मन्दिर कास्कीका घुम्नै पर्ने ठाउँको सूचीमा अग्रपङ्क्तिमा आउँछ । त्यस कारण मन्दिरमा पर्यटकको घुइँचो लागिरहन्छ । माछापुच्छ्र«े हिमालको छायाँ फेवातालमा परेको मन्दिरबाट मनोरम दृश्य देखिन्छ । कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वमा यहाँ मेला लाग्दछ । पहिले पानीले नढाकिएको अवस्थामा यो मन्दिर रहेको थियो ।

तालबाराही मन्दिर व्यवस्थापन समिति सल्लाहकार तथा स्थानीय ७७ वर्षीय रमेशबहादुर भट्टराईले अग्रज पूर्खाको भनाइअनुसार परापूर्वकालमा फेवाताल भएको ठाउँमा बस्ती रहेको बताउनुभयो । एक दिन बेलका एक वृद्ध जोगी बास माग्दै आए त्यो बस्तीमा । कसैले बास नदिएपछि उनी एक वृद्धाकामा पुगे । बृद्धाले बास बस्न दिइन । तर, खान भने ढुटोको रोटी मात्रै भएको सुनाइन । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते ।

घरबाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भन्यो, “यो गाउँ चाँडै जलमग्न हुनेछ । तपाइँ भने अग्लो ठाउँमा चाँडै जानु ।” जोगी हिँडेको केही समयमा आवाज आयो । आवाज सँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाहअनुसार वृद्धा अग्लो ठाउँमा गएर बाचिन । फेरि एक दिन विशाल वर्षा आयो । वर्षा पछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ ।

कास्कीका राजा कुलमन्डन शाहलाई मूर्ति स्थापना गरी पुज्नु भन्ने सपना आयो । कुलमन्डनले सपनाअनुसार मूर्ति स्थापना गरेर पूजा गर्न राज्यकै तहबाट लाउनुभयो । क्रमशः विकास हुँदै मन्दिर अहिलेको अवस्थामा आएको हो । त्यहीँ ढिस्कोमा तालबाराही देवीको शिला राखि पूजिँदै आएको किंबदन्ती छ ।

फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको एक धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो ।

यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो भने विसं १८६८ बाट नृत्य पूजाआजा सुरु भएको हो । सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा सुरु गर्नुभएको थियो । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको बताइन्छ ।

मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो । हिक्मतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ ।

कूल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ । तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेको जानकारी पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताउनुभयो ।

तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको उहाँले सुनाउनुभयो । मन्दिर गुठीका नाउँमा खेत र केही रोपनी जङ्गलसमेत रहेको छ ।

डुङ्गा र तालबाराही मन्दिरका लागि प्रसिद्ध फेवाताल

पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय छ । ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको बताइन्छ । ‘वैदाम’ गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ । यसको बीचमा बाराही मन्दिरको अवस्थितिले यसलाई बराह मन्दिरबाट पनि चिनाउन सफल भएको छ ।

यो नेपालको दोस्रो सबैभन्दा ठूलो ताल हो । फेवाताल समुद्री सतहदेखि सात सय ४२ मिटर (दुई हजार चार सय ३४ फिट) को उचाइमा रहेको छ । यस तालले लगभग पाँच दशमलव २३ वर्ग किमी ९दुई वर्ग माइल० क्षेत्रफल ओगटेको छ । रासस